आफ्नै परिवेशमा इक्साहाङको ‘कालो आकाश’
screennepal
प्रकाशित: २०७४, १५ मंसिर शुक्रबार
no img

– तस्बिर : सुक तुम्रोक

काठमाडौं, १५ मंसिर । उपन्यासकार इक्साहाङ चेम्जोङले उपन्यास ‘कालो आकाश’ पाठकमाझ ल्याएका छन् । सो उपन्यासको बिहीबार राजधानीमा साहित्यकार युग पाठकले सार्वजनिक गरे ।
भीमसेनगोलास्थित हटलिप्स रेष्टुरेन्टमा आयोजित विमोचनमा गर्दै पाठकले प्रवासमा उपन्यासले के दिँदैछ भन्ने भन्दा पनि कर्तव्यपालन गरिरहेको एउटा सर्जकले कसरी लेख्यो होला भन्नेतर्फ केन्द्रीत भएको बताएका थिए ।


पुस्तकको समिक्षा गर्दै अर्का चर्चित साहित्यकार विमला तुम्खेवाले साहित्य क्षेत्रमा लाग्नेलाई बिग्रिएको संज्ञा दिइएको तर साहित्यले समाजको चित्र दुरुस्त खिचेको चाही नहेरेको बताएकी थिइन् । आफ्नै संघर्षलाई उजागर गर्दै तुम्खेवाले एउटा ठूलो पुरुषको हुलभित्र एउटी महिलाले हिम्मतिलो कुरा राख्न त सक्छे तर त्यहाँबाट सुरक्ष्ति फर्केर आउन सक्छिन् कि सक्दिनन् भनेर शंका उत्पन्न भइरहने स्थिति व्यक्त गरिन् । तथापी एउटा लिम्बूनीले कहिलै नचिनेको केटालाई आउनुस् धान नाचौ भनेर भन्न सक्ने कुरालाई आधार मान्दै फाक्तेपको लिम्बू गाउँको परिवेश लिम्बूलिम्बुनीको संघर्षको पाटो यस उपन्यासमा रहेको प्रष्ट्याइन् ।


तुम्खेवा आफैले पनि प्रकाश कोविदको उपन्यास पढेर साहित्ययात्रामा लागेको सन्दर्भलाई कोट्याउँदै कालो आकाशामा उपन्यास पनि कोविदकै प्रभाव रहन खोजेको बताएकी थिइन् । कोविदको उपन्यासहरु उच्चकोटीको रहेपनि चर्चामा नल्याइएको कुरालाई जोड दिइन् ।
नेपाल प्रेस काउन्सिलका सदस्य तथा साहित्यकार चेतनाथ धमलाले प्रवासबाट नेपाली साहित्यमा राम्रा राम्रा कृति आइरहेको कुरालाई अत्यन्तै राम्रो काम भनी प्रंशसा गरेका थिए ।
चेम्जोङसँगै कुनैबेला मलेसियामा साहित्य सारथी बनेका सञ्जय राई छुच्चाले स्वागत मन्तव्यमार्फत आफ्ना दौतरीहरु धमाधम कृति निकाल्दै जाँदा ज्यादै खुशी भएको कुरा बताएका थिए । हामीले नेपालमा हुनेजति राम्रो लेख्न सक्दैनौ होला, तर प्रवासमा कर्तव्यपालन गर्दै लेख्नुमा गर्वको कुरा हो भनी भनेर प्रवासबाट आउने कृतिको गम्भिर्यता औल्याएका थिए ।
प्रकाशनको चाँजोपाँजो मिलाउनेदेखि विमोचनसम्मको सन्दर्भ जोड्दै साहित्यकार तथा पत्रकार देवेन्द्र सुर्केलीले माओवादी द्वन्द्वले एउटा शान्त गाउँमा कसरी अशान्त तुल्यायो भन्ने कुरालाई सान्दर्भिक ढङ्गले लेखेको बताएका थिए । भने कार्यक्रमका सभापतित्व गरेका काङ्सोरे मिडिया प्रा.लि.का अध्यक्ष तथा एनआरएन मलेसिया महासचिव सुन्दर आलेले प्रवासबाट आर्थिक विकासमा टेवामात्र होइन, सृजनशीलताको विकास भएको चर्चा गरेका थिए ।
पत्रकार मिलन लिम्बूको सारगर्भित सञ्चालन रहेको पुस्तक विमोचन कार्यक्रममा पुस्तकको विक्रीबाट आम्दानी भएको सम्पूर्ण रकम सद्भाव नेपालले सञ्चालनमा ल्याउन लागेको बृद्धाआश्रय घरलाई दिइने घोषणा पनि भएको थियो ।

Comments