उतर कोरिया-अमेरिका तनाव बढ्दै | ‘विश्व खतरामा’
screennepal
प्रकाशित: २०७४, १३ मंसिर बुधबार
no img

काठमाडौ, १३ मङ्सिर (एजेन्सी) । उत्तर कोरियाले फेरि अर्को लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो ।
सो मिसाइल एक हजार किलोमिटरको दुरी पार गर्दै जापान सागरमा खसेको दावी गरिएको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिणी प्योंगान प्रान्तको प्योंगयाङ्गबाट मिसाइल हानिएको थियो ।
अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले उत्तर कोरियाको यस कदमले विश्व नै खतरामा परेको प्रतिक्रिया दिएका छन् ।
यस परीक्षणलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै स्थिति सम्हाल्ने बताए । ट्रम्पले भनेका छन्, ‘सायद तपाईंले सुन्नु भएको होला र केहीले रिपोर्ट पनि दिएका छन्, केही समय अघि उत्तर कोरियाबाट मिसाइल हानिएको छ । हामी केबल यत्तिमात्रै भन्न चाहान्छौं कि हामी यसको ध्यान राख्ने छौं । मेरो साथमा रक्षामन्त्री मेटिस पनि हुनुहुन्थ्यो । यसबारे हाम्रो लामो कुराकानी भयो । यो एक यस्तो स्थिति हो जसलाई हामी सम्हाल्न सक्छौं ।’
बीबीसीका अनुसार मिसाइल कति टाढासम्म पुग्यो र यो जापानको माथिबाट उडेर गयो कि गएन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । यसै वर्ष उत्तर कोरियाले जापानको माथिबाट मिसाइल प्रहार गरेको थियो ।
यसैबीच जापानले पनि उत्तर कोरियाको पछिल्लो मिसाइल परीक्षणप्रति तीखो प्रतिक्रिया दिएको छ । यस परीक्षणपछि प्रधानमन्त्री शिन्जो आबेले मन्त्रीमण्डलको आपतकालीन बैठक बोलाएका छन् ।
जापानी सरकारका प्रवक्ता योशीहिडे सुगाले भने, ‘उत्तर कोरियाको पश्चिम तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरिएको छ र यो हाम्रो विश्व आर्थिक क्षेत्रमा खसेको छ । यसको हामी जोडदार विरोध गर्दछौं ।’
हाल उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ । जसमा उसको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल पनि शामेल छ । यस परीक्षणसँगै उत्तर कोरियाले आफ्ना छिमेकी देश र अमेरिकासँग पनि तनाव बढाइरहेको छ ।

Comments