क्रिटिक्सको रोजाइमा कालोपोथी, पशुपतिप्रसाद र कबड्डी
screennepal
प्रकाशित: २०७४, ६ मंसिर बुधबार
no img

काठमाडौ, ६ मङ्सिर । फिल्म क्रिटिक्स अवार्डका विजेतालाई बुधबार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षको अवार्ड एकैचोटि दिएको हो ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा विसं २०७३ को उत्कृष्ट फिल्मको अवार्ड ‘कालोपोथी’ले पायो । यही फिल्मबाट मीनबहादुर भाम र अविनाश विक्रम शाहले उत्कृष्ट पटकथा र अजिज जम्भाकिभले छायाँकन विधामा मेडल जितेका छन् । तेस्तै, ‘सेतो सूर्य’ का लागि दीपक रौनियारले निर्देशक, ‘जात्रा’ का लागि विपिन कार्की र ‘पुरानो डुंगा’ का माओत्से गुरुङ उत्कृष्ट अभिनेता ठहरिए ।
केकी अधिकारीलाई ‘लभ सासा’ले उत्कृष्ट अभिनेत्री बनाइदियो । २०७२ मा ‘पुशपतिप्रसाद’ उत्कृष्ट फिल्म घोषित हुँदा निर्देशक दीपेन्द्र के खनालको निर्देशन र खगेन्द्र लामिछानेको पटकथा पनि बेस्ट मानियो । अभिनयतर्फ ‘फन्को’ का लागि सौगात मल्ल र ‘कबड्डी कबड्डी’का लागि रिस्मा गुरुङले मेडल पाए ।
सम्पादनमा ‘क्लासिक’ का सुरेन्द्र पौडेल पुरस्कारको हकदार बनिरहँदा ‘कबड्डी कबड्डी’ बाट शैलेन्द्र डी कार्की उत्कृष्ट छायाँकार बन्न सफल भए ।
२०७१ सालमा प्रर्दशन भएका फिल्ममध्ये ‘कबड्डी’ लाई समीक्षकले बेस्ट मानेको पाइयो । यही फिल्मबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पटकथा विधामा बाजी मारेका छन् भने निश्चल बस्नेतलाई ‘टलकजंग भर्सेज टुल्के’ ले उत्कृष्ट निर्देशकको मेडल दिलाएको छ । दयाहाङ राई र प्रियंका कार्कीले क्रमश: ‘कबड्डी’ र ‘सुन्तली’ मा गरेको काम उत्कृष्ट मानियो ।
‘तान्डव’ का लागि बनिस शाह र मिलन श्रेष्ठले सम्पादन तथा ‘सुन्तली’ बाट ओन्ड्रा बेलिकाले पुरस्कार पाए ।
२०७१ का विजेतालाई फिल्म निर्देशक यादव खरेल, २०७२ कालाई चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी र २०७३ का विजेतालाई वरिष्ठ अभिनेत्री भुवन चन्दले पुरस्कार हस्तान्तरण गरेका थिए । २०७१ का विजेतालाई फिल्म निर्देशक यादव खरेल, २०७२ कालाई चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी र २०७३ का विजेतालाई वरिष्ठ अभिनेत्री भुवन चन्दले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा निर्देशक खरेलले राष्ट्रिय चलचित्र नीति कार्यान्वयन हुन नसेको प्रति ध्यानाकर्षण गराएका थिए । उनले हामीकहाँ फिल्म समीक्षाभन्दा रिपोर्टिङ बढी भइरहेको बताए ।
अवार्ड आयोजक फिक्सनका अध्यक्ष यज्ञशले नेपाली फिल्मको आफ्नै भाषा हुनुपर्नेमा जोड दिए । ‘साहित्यमा हिन्दी भाषा प्रयोग हुँदा हामी विरोध गर्छौं’, उनले भने, ‘तर, नेपाली फिल्मको भाषा हिन्दी हुँदा त्यसलाई स्विकारी रहेका छौं ।’
यज्ञशले क्रिटिक्स अवार्डमार्फत् समीक्षकको मत जाहेर गर्न खोजेको बताए । अनुप सुवेदीको नेतृत्वमा फिक्सनका सबै सदस्य अवार्डका जुरी रहेको अवगत गराएका थिए ।

Comments