मतदान गर्न सिकाउन गाउँगाउँमा नाटक
screennepal
प्रकाशित: २०७४, ३ मंसिर आईतवार
no img

काठमाडौं, ३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तिथि नजिसकेकोे छ । यसै क्रममा निर्वाचन शिक्षाको लागि देशव्यापी सडक नाटक समेत सुरु भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक सुरु गरिएको हो । नाटकका लागि ३८ टोलीले तीन दिनको कार्यशाला सम्पन्न गरे ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्वमा ३८ नाटक टोलीमध्ये पहिलो चरणका लागि २० टोली शुक्रबारसम्ममा सम्बिन्धित स्थानमा पुगिसकेका छन् । जसमध्ये केहीले नाटक मञ्चन सुरु गरिसकेका छन् भने केही मञ्चनको प्रक्रियामा छन् । बाँकी टोलीले पनि आईतबारसम्म नाटक मञ्चन सुरु गरिसक्ने छन् ।


यसै क्रममा धौलागिरी नाट्य समुह म्याग्दीले म्याग्दी जिल्लाका विभिन्न स्थानमा नाटक मञ्चन सम्पन्न गरेको छ । बुधबारबाटै यो समुह निर्वाचन सम्बन्धि शिक्षामुलक सडक नाटक ‘महादान’ लिएर उत्रिएको थियो । समुहले सडक नाटक ‘महादान’ धवलागिरी गाउँपालिकाको ताकम, मालिका गाउँपालिकाको दरबाङ, मंगला गाउँपालिकाको बाबियाचौरमा प्रदर्शन गरिसकेका छ । यो समुहका निर्देशक रबी कार्कीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्थित पोखरेबगर, रघुगंगा गाउँपालिकाको राखु र बेनी नगरपालिका बेनीबजारमा पनि नाटक प्रदर्शन गरिएको छ ।
‘हरेक ठाउँमा नाटक हेर्न स्थानीयहरुको प्रसस्त उपस्थिति रह्यो । ठाउँ अनुसार करिब दुई सय देखि ५ सयसम्म दर्शकको उपस्थिति भयो ।’ निर्देशक कार्कीले भने,‘महादान नाटक मञ्चनका क्रममा त्यहाँ आगामी १० मँसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको मतदान कसरी गर्ने भन्ने बारे दर्शकले चासो राखे ।’
यस्तै बुधबारबाट सडक नाटक महादान लिएर सडकमा उत्रिएको सप्तक कला प्रतिष्ठानले शुक्रबारसम्म धादिङ र नुवाकोटका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिसकेको छ । सो समुहका नाटक निर्देशक दामोदर खतिवडाका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित मलेखु बजार, निलकण्ठ नगरपालिका स्थित बीचबजार, सिद्धलेख गाउँपालिका स्थित बुङचुङ बजार, थाक्रे गाउँपालिकाको महादेब बेसी, दल्छी गाउँपालिकाको बैरेनी बजार र गजुरी गाउँपालिकाको गजुरी बजारमा महादान प्रदर्शन गरेर उनीहरुले मतदान गर्ने बारे स्थानीयलाई सिकाए । यही समुहले नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुकाघाट र बेलकोटगढी नगरपालिकाको महादेबटारमा पनि नाटक महादान मञ्चन ग¥यो । मतदान सम्बन्धि नाटक हेर्न स्थान अनुसार दुई सय देखि एक हजारसम्म दर्शक जम्मा भएको निर्देशक दामोदरले जानकारी गराए ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को टोलीले शुक्रबार रामेछाप स्थित मन्थली नगरपालिकाको मन्थली बजार र रामेछाप नगरपालिकाको रामेछाप बजारमा नाटक महादान मञ्चन गरे । यो समुहका टोली प्रमुख रमेश केसी मट्टारेका अनुसार नाटक हेर्ने क्रममा दर्शकले मनोरञ्जन लिँदै आगामी प्रतिनिधि र प्रदेश सभामा कसरी मतदान गर्ने भन्ने जानकारी लिए ।
सांस्कृतिक संस्थान नाचघरका महाप्रबन्धक राजेश थापाले शुक्रबार बिहान दोलखा र रामेछापमा नाटक मञ्चन गर्न दुई टोलीलाई बिदाई गरेका थिए । जस मध्य रमेश केसी मट्टारेको टोलीले शुक्रबारबाटै मञ्चन सुरु ग¥यो ।
यस पटक निर्वाचन आयोगले ७७ जिल्ला मै निर्वाचन शिक्षाको लागि सडक नाटक गराउँदै छ । सो नाटकका लागि सांस्कृतिक संस्थानको सँयोजन र आरोहण गुरुकुलको सहकार्यमा नाट्यकर्मीहरु पहिलो चरणको निर्वाचन क्षेत्रमा पुगिसकेको छन् ।

Comments