परी सिने संगीतले ल्यायो सन्देशको ‘समर्पित’
screennepal
प्रकाशित: २०७४, २ मंसिर शनिबार
no img

काठमाडौ, २ मङ्सिर । गीतकार सन्देश सोङमेन राईको गीति एल्बम ‘समर्पित’ शनिबार राजाधानीमा एक समारोहबिच सार्वजनिक भएको छ । एल्बमको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक गणेश रसिक, मोडल दिक्पाल कार्की, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईलगायतले सार्वजनिक गरे ।


कार्यक्रममा सदस्य सचिव रसिकले पछिल्लो समयमा संगीत क्षेत्रमा युवापुस्ताको आगमन सुखद रहेको बताए । उनले भने, ‘संगीत क्षेत्रमा युवापुस्ता आउनु हाम्रा लागि खुशीको कुरा हो । हाम्रो समयमा गीत गाउनु नै ठूलो कुरा हुन्थ्यो । एल्बम निकाल्नु गौण थियो ।’ साथै उनले गीत गाउनु र संगीत भर्नु भन्दा त्यो गीतका लागि शब्द कोर्नु झन महत्वपूर्ण रहेको बताए ।
एल्बमका संगीतकार तथा एल्बम उत्पादक परी सिने संगीतका भुवन सुप्तिहाङ राईले निकै लामो मेहनतपछि सन्देशले एल्बम ल्याएको जानकारी दिए । ‘एल्बममा नाम चलेका गायक/गायिकाको स्वर छ । त्यसकारण पनि एल्बम निकाल्न मेहनत गर्नु परेको भुवनले बताए ।
गीतकार सन्देशले झापाको बिर्तामोडमा सडक दुर्घटनामा ज्यान गुमाएका आफ्ना दाजुप्रति एल्बम समर्पित गरेको खुलाए । ‘मैले १२ वर्षको उमेरदेखि नै गीत लेख्न थालेको हुँ । माया र प्रेमका गीत बढी लेख्थें । तर दाजुको दुर्घटनामा निधन भएपछि गम्भीर खालका गीत लेख्न थालें’ सन्देशले भने ।
एल्बममा ‘छाडीगएँ आमा तिमीलाई’, ‘आफ्नो ठानेर’, ‘अरु खै के मागुँ’, ‘कस्तो माया लाएनी’, ‘सकेछु भने जिन्दगी’, ‘जुनतारा साक्षी राखी’, ‘हिँडेकै छु भाग्य खोज्दै’, ‘कन्याम राम्रो’, ‘लजालु लजालु’ र ‘मरिसके सबै रहर’ बोलका गीत छन् ।
गीतमा भुवन सुप्तिहाङ राई, आलोकश्री, चित्रलाल शर्मा र किरण माइकलको संगीत छ भने कुमार कान्छा, राजेशपायल राई, रामकृष्ण ढकाल, सत्यकला राई, नरेन्द्र प्यासी, मल्लिका कार्की, जगदीश समाल, भुवन सुप्तिहाङ राई र मिङ्मा शेर्पाको स्वर छ ।

Comments