सिक्किमेली साहित्यकार भीम काठमाडौमा सम्मानीत
screennepal
प्रकाशित: २०७४, २८ कार्तिक मंगलवार
no img

काठमाडौं, २८ कात्तिक । भारतीय साहित्य अकादमी पुरस्कार विजेता सिक्किमेली साहित्यकार भीम दाहाल यतिबेला काठमाडौंमा छन् । भारतीय लोकसभामा तीनपटक सांसद भइसकेका यिनको परिचय उपन्यास, कविता, कथासँगै इतिहास विमर्शमा स्थापित छ । उपन्यास ‘द्रोह’का लागि सन् २००६ मा साहित्य अकादमी पाएका उनी साहित्यमा निरन्तर सक्रिय छन् । आँखाको उपचार गर्न नेपाल आएका उनी आइइतबार राजधानीमा सम्मानित भए भने दिउँसो उनले एकल कविता वाचन गरे ।


बानेश्वर सर्जक समाजले उनलाई सम्मान गरेको हो । बानेश्वर क्याम्पसमा आयोजित ‘अन्तर्किया तथा सम्मान कार्यक्रम’ मा उनीसहित सामाजिक अभियन्ता श्रीमती जुडी राई दाहाल सम्मानित भएका हुन् । वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. वासुदेव त्रिपाठीले दाहाललाई ‘बानेश्वर साहित्य सम्मान’ अर्पण गरे । दाहालले नेपालीहरू संसारभर फैलिएको भए पनि काठमाडौं आउँदा ‘किरात युवती माइती आएको जस्तै उच्चतम खुसी’ मिल्ने बताए । राजनीतिले विभाजन गरे पनि भाषासाहित्यले जोड्ने बताउँदै दाहालले ‘तारी नदेऊ ए माझी दाई’ गीतमा जस्तै माइती जाँदाको खुसी मिलेको सुनाए ।
वरिष्ठ साहित्यकार डा. त्रिपाठीले ‘सिक्किमले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान र्पुयाइरहेको’ बताउँदै सिक्किमबाट अन्यत्रका नेपालीले सिक्नुपर्ने औंल्याए । यसपछि साहित्यकार डा. तुलसी भट्टराई, समाजका अध्यक्ष महेश प्रसाई, लोकेश ढकाल, मातृका पोखरेल, डा. घमानसिहं खडका, केदार न्यौपाने, कृष्ण हमाल, कुलप्रसाद पराजुली र रमेश शुभेच्छुले ‘भारतीय नेपाली साहित्य र विश्व नेपाली साहित्य’बारे बोले । दिउँसो भने दाहाललाई त्रिपुरा साहित्य समाजले एकल कविता वाचनमा प्रस्तुत गरेका थिए ।
‘रगतको हस्ताक्षर’जस्ता कविता कृतिका स्रष्टा दाहालले ‘बबिनमा धागो छैन कति चलाउँ, म यो मेसिन’, ‘कागजको मन’, ‘मलाई नयाँ मुलुक देऊ’ लगायतका कविता सुनाए ।
समालोचक प्रा। राजेन्द्र सुवेदीले दाहालका कवितामा भारतीय नेपालीको स्वर रहेको टिप्पणी गरे । एकल वाचनमा सुजन घलेले मादल बजाएर र उन्नत सुनामले बाँसुरी बजाएर सांगीतिक माहोल दिए । दाहालका ‘कंकाल अभिव्यक्ति’, ‘समृद्ध व्यथा’, ‘अभीष्टको खोज’, ‘विद्रोह’, ‘मेरो मनको साइनो तिम्रो मनलाई’, ‘विचार, क्रान्ति र परिवर्तन’ कृतिसमेत प्रकाशित छन् ।

Comments