जब ओलम्पियामा अभया गुञ्जिइन्…! (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, २६ कार्तिक आईतवार
no img

काठमाडौं, २६ कात्तिक । नेपालको चर्चित रकपप व्याण्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’ले राजधानीको बबरमहलस्थित ओलम्पिया वल्र्ड स्कुलमा शनिवार भएको ‘ओलम्पिया फेट(मेला)’मा आफ्नो सांगीतिक प्रस्तुति दिएको छ ।
अमेरिकाको सात शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिएर केही समय अघि नेपाल फर्किएको व्याण्डले विद्यालयका बालबालिकामाझ आफ्ना गीत सुनाएको हो ।


अभयाका अनुसार व्याण्डले अमेरिकाका सिनसिनती, सेन्ट लोस, एटलान्टा, बोस्टन, न्यूर्योक, वासिङ्टन डिसी र बाल्टिमोरमा आफ्नो कन्सर्ट गरेको थियो । स्कुलको सातौं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा व्याण्डले आफ्नो गीतमार्फत बालबालिका, शिक्षकशिक्षिका तथा अभिभावकलाई सांगीतिक माहौलमा झुमायो ।
‘नारीको सम्मान’ नारा दिइएर गरिएको कार्यक्रममा अभयाले ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘लुकिङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रो लागि’, यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरेकी थिइन् ।


अभयाले नारीप्रति समर्पण गर्दै मेला आयोजना गरेकोमा खुशी व्यक्त गरिन् । ‘अहिलेको प्रविधिको युगमा पनि महिलाहरु प्रति हेर्ने दृष्टिकोण पुरानै छ । यस्तो बेलामा एउटा विद्यालयले नारीको सम्मानका लागि कार्यक्रम गर्नु आफैमा सकारात्मक र सराहनीय काम हो,’अभयाले भनिन्,‘आजको कार्यक्रम मेरा लागि पनि एउटा सुखद अवसर बन्यो ।’


मेलाको उद्घाटन महिला जुडो खेलाडी तथा ओलम्पियन फुपु ल्हामु खत्रीले गरेकी थिइन् । मेलामा हर्स राइडिङ, फेस पेन्टिङ, खेलकुद लगायत मनोरञ्जनका विभिन्न गतिविधि रहेको मेलामा विशेष बालबालिकाहरु निकै रमाएका थिए । मेलामा राखिएका विभिन्न स्वादका परिकारमा रमाएका दर्शकहरु सांगीतिक माहौलमा झनै खुशी देखिएका थिए । कार्यक्रमको व्यवस्थापन पोजिटिभ भाइब्सले गरेको थियो ।

 

Comments