‘मिस लिम्बू–२०१७’का प्रतियोगीका अनेक कला
screennepal
प्रकाशित: २०७४, २४ कार्तिक शुक्रबार
no img

काठमाडौं, २४ कात्तिक । ‘मिस लिम्बू–२०१७’का प्रतियोगीले शुक्रबार आ–आफ्नो कला प्रस्तुत गरे । ‘ट्यालेन्ट राउण्ड’अन्तर्गत प्रतियोगीले कला प्रस्तुत गरेका हुन् ।
याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’को यस पाँचौ संस्करणमा पूर्वका विभिन्न जिल्ला तथा उपत्यका गरी १४ जना लिम्बू समुदायका युवतीले प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरुले नृत्य, गायन, अभिनय, चित्रकलालगायतका कला देखाए । प्रतियोगीहरु लिम्बू भेषभूषा र गरगहनामा सजिएर आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
राजधानीको हात्तिसारस्थित नर्भिक विजनेश कलेजको सभाकक्षमा आयोजित ‘ट्यालेन्ट राउण्ड’का लागि लिम्बू भाषाविद् तथा कलाकार यासेली योङहाङ, अभिनेत्री तथा मोडल विपना थापा, पत्रकार गोपाल दाहाल, गायक रुकमान लिम्बू, तारामान रावल र ब्युटिसियन ज्योती थोप्रा निर्णायक थिए ।
यस पाँचौ संस्करणका लागि सिंगापुर इन्टरप्राइजेज्ले टाइटल स्पोन्सर गरेको ‘मिस लिम्बू’को यस संस्करणको संयोजक संचारकर्मी तथा समाजसेवी याङजोम शेर्पा रहेकी छन् ।
‘मिस लिम्बू’को यस संस्करणमा ललितपुरको मिलनचोकस्थित तेह्रथुमे ढाका बुटिकले अफिसियल ड्रेसको स्पोन्सर गरेको छ । त्यसैले फाइनलमा प्रतियोगिहरु तेह्रथुमे ढाका तथा ढाका कन्ट्रास्टबाट तयार गरिएको पहिरनमा प्रस्तुत हुने बुटिककी निरु आङबुङले बताइन् ।
कार्यक्रम संयोजक योङजोमका अनुसार प्रतियोगिताको अन्तिम स्पर्धा आउँदो ४ मंसिरमा राजधानीमा हुनेछ । हाल प्रतियोगिहरुलाई मोडल तथा सञ्चारकर्मी कला सुब्बाले कोरियोग्राफी तथा विभिन्न ग्रुमिङ कक्षा दिँदै आएकी छन् ।

Comments