कन्हैयाले ल्याए आलाप-३
screennepal
प्रकाशित: २०७४, २३ कार्तिक बिहीबार
no img

काठमाडौ, २३ कार्तिक । गायक कन्हैया सिंहको आधुनिक गीतिसंग्रह आलाप–३ (वारे वा) सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटाको प्रमुख आतिथ्यतामा आलाप–३ को सार्वजनिक भएको हो । ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश वि.क., चलचित्र पत्रकार एवं साहित्यकार शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठ, गीतकार डीआर, गायक कन्हैया सिंह एवं टीकागोपाल डिजिटल एम क्रियशनकी व्यवस्थापक गीता सिंहले प्रमुख अतिथि बास्कोटासँगै सार्वजनिक गरेका थिए ।
म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रमलाई स्वागत गर्दै गायक कन्हैया सिंहले अरुले घरको तला थपे होलान् तर मैले संगीतको तला थपिरहेको छु भन्दै आगामी दिन पनि नेपाली गीतसंगीतभन्दा पर नरहने बताए । अमेरिकाबाट छोटो समयमा नेपाल आउँदा प्राय गरेर आफूले गीतसंगीतको एल्बम बजारमा ल्याउने गरेको बताउँदै गायक सिंहले आलाप–३ सातौं कृतिका रुपमा बजारमा ल्याएको बताए ।
त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले गायक कन्हैया सिंह अमेरिका रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर लगानी गर्ने गायकमा पर्ने बताए । विदेशमा पलायन हुनेहरु धेरै छन् तर संगीतमा पलायन हुनेहरु नेपालमा धेरै भएको बताउँदै गायक सिंह भने नेपाली संगीतलाई अमेरिकाको बजारमा विस्तार गरिरहेको गायक भएको बताए ।
गीतकार एवं चलचित्र पत्रकार शान्तिप्रियले गायक सिंहको प्रशंसा गर्दै एल्बम आलाप–३ भित्रका गीतहरुको समीक्षा गरे । गायक सिंहको गीतसंगीतको निरन्तरताले पलायन भएको भन्नेहरुका लागि झापड मिलेको बताउँदै जुन बेला नेपाल आउँदा पनि नयाँ एल्बम विमोचन गर्ने उनको सोचले गीतसंगीत प्रति आगाध माया भएको भन्ने प्रष्ट पारेको बताए । एल्बमका गीतहरुको समीक्षा गर्दै शान्तिप्रियले गीतकार सुमन बैरागीको शब्दलाई आफूलाई लोभ्याएको बताए ।
प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बास्कोटाले गायक सिंहले घरको तला नथपे पनि संगीतको तला थपिरहेको देख्दा निकै खुशी लागेको बताए । विदेशमा बसेर पनि नेपाली गीतसंगीतकै लागि लगानी गरिरहनु, कलाकारकै हकहितका लागि कन्हैया सिंह लागिरहेको देख्दा विदेशमा गीतसंगीतको दूत बन्नुभएको हो भन्ने लाग्छ, उपकुलपति बास्कोटाले भने । संगीत क्षेत्रमा लगानी गर्नु जोखिम मोल्नु जस्तो भइरहँदा पनि उहाँको सक्रियता पक्कै संगीत उद्योगले सम्झनलायक भएको उनले बताए । कार्यक्रम गीतकार एवं पत्रकार सुमन बैरागीले संचालन गरेका थिए ।
एल्बमभित्र ५ वटा गीत समावेश गरिएको छ । वारे वा, मरि लानू, धेरै माया, भन्दै होलान् र मुटुमा पीडा जस्ता गीतहरु रहेका छन् । जसमा डीआर, सुमन बैरागी र विनोद रोकाको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ । मरि लानू बोलको गीतमा भने गायक कन्हैया सिंहको शब्द र संगीत रहेको छ । कार्यक्रममा वारे वा र मरि लानू बोलको गीतको म्यूजिक भिडियोसमेत देखाइएको थियो । भिडियोलाई विकास घले गुरुङले निर्देशन गरेका छन् ।

Comments