यस कारण ‘बुट्टे जामा’ उत्कृष्ट !
screennepal
प्रकाशित: २०७४, १९ कार्तिक आईतवार
no img

काठमाडौं, १९ कात्तिक । हाइलाइट्स नेपाल र अस्कर इन्टरनेसनल कलेजले संयुक्त रुपमा आयोजना गरेको पहिलो सर्ट फिल्म प्रतिस्पर्धामा कला संग्रौला निर्देशित ‘बुट्टे जामा’ पहिलो बन्न सफल भएको छ । शुक्रबार अस्कर इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रममा विजयी फिल्मको घोषणा गरिएको हो ।
नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले आयोजना गरिएको प्रतिस्पर्धामा अन्तिम प्रतिस्पर्धामा रहेका दस फिल्ममध्येबाट ‘बुट्टे जामा’ उत्कृष्ट बन्न सफल भएको हो । नविन सुब्बा, सुवर्ण थापा र मनोजबाबु पन्त सम्मिलित जुरीले उत्कृष्ट फिल्मको छनोट गरेको हो । पहिलो भएसँगै फिल्मले १ लाख नगद प्राप्त गरेको छ ।
दोस्रो हुने ‘कल्ली’ले ६० हजार नगद प्राप्त ग¥यो । नेवारी समुदायको पृष्ठभूमिमा आधारित फिल्मले बाँझोपनको आरोप खेप्दै आएकी महिलाले त्यसबाट मुक्त हुन लिएको क्रान्तिकारी कदमलाई विषय बनाएको छ । फिल्मको निर्देशन राकेश महर्जनले गरेका हुन् ।
सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ सर्ट लिस्टेड १० फिल्ममध्येबाट उत्कृष्ट तीन भित्र पर्न सफल रह्यो । फिल्मले ४० हजार नगद प्राप्त गर्यो । नारी मनोविज्ञानलाई सशक्त ढंगमा प्रस्तुत गरेको ‘काफल पाक्यो’ जुरीको नजरमा उत्कृष्ट ठहरियो । फिल्मले ‘स्पेशल मेन्सन अवार्ड’ प्राप्त गर्यो । निरञ्जनराज भेटवाल निर्देशित फिल्मले आफ्नो श्रीमान्को प्रतिक्षामा रहेकी महिलाको मनोदशालाई काफल पाक्यो चरामार्फत् अभिव्यक्त गरेको छ ।
विजेता सबैलाई अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेल र हाइलाइट्सकी कार्यकारी अधिकृत शिवानी गुरुङले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नयाँ पुस्ताका फिल्मकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले लघु फिल्म प्रतियोगिता गरेको हाइलाइट्सकी कार्यकारी निर्देशक शिवानी गुरुङले बताइन् ।
‘ फरक कथा र नयाँ प्रतिभालाई ठाउँ दिने हिसाबले प्रतियोगिताको आयोजना गरेका हौं । पहिलो प्रयासमै उत्साहजनक सहभागिता पायौं । आगामी दिनमा यसलाई थप बृहत बनाउँदै लैजान्छौं,’ गुरुङले भनिन् ।
जुरीको तर्फबाट बोल्दै मनोजबाबु पन्तले सहभागिताका लागि ३६ फिल्मबाट उत्कृष्ट दस र दसबाट तीन फिल्मको नाम निकालेको जानकारी गराए । उनले भने, ‘ इमान्दारिताका साथ बनाइएको सिनेमा साँच्चैमा मूल्यांकनभन्दा माथि हुन्छन् । हामीले दसवटा फिल्म छान्नु वा त्यसबाट तीनवटा उत्कृष्ट देख्नु फगत प्रक्रिया मात्रै हो । सबै फिल्म इमान्दारिताका साथ बनाइएका छन् त्यसैले सबै विजेता हुन् । तर, शिल्प र सौन्दर्यको हिसाबले हामीले चारवटा फिल्म छानेका हौं ।’
नाद, म भोलि जन्मनेछु, रुवा,फुक्पा, खाना खाम्न, र मेमे उत्कृष्ट दसभित्र अटाएका फिल्म थिए ।

 

 

Comments