रुबी भ्यालीमा किन सातादिन बढी बसे ‘नीरफूल’ युनिट ?!
screennepal
प्रकाशित: २०७४, ३१ आश्विन मंगलवार
no img

काठमाडौं, ३१ असोज । करिक दुई सातापछि धादिङको रुबी भ्यालीबाट फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ । खराब मौसमका कारण निर्धारित सात दिनको सेडुल नाघेर दुई सातामा फर्केको फिल्म युनिटले जनाएको छ ।


भुकम्पका कारण विछोड खेप्नु परेको एक परिवारका सदस्यहरुले पुर्नमिलनका लागि गरेको संघर्षमा आधारित फिल्म खिच्न टोली गत साउनमा पनि रुबी भ्याली पुगेको थियो । निरन्तर बर्षा र हुस्सुका कारण सात दिन छायांकनपछि फर्केको सुटिङ टोली दसैं टिकाको भोलिपल्ट दोस्रोपटक रुबी भ्याली प्रस्थान गरेको थियो । यसपटक पनि मौसमले खासै साथ नदिएपनि सम्पुर्ण कार्य सकाएर फर्केको निर्देशक फूलमान वलले जनाए ।


‘रुबी भ्यालीको पाङसाङ पासमा हामीले भुकम्प जानुअघि र पछिको सेट नै निर्माण गरेका थियौं’ निर्देशक वलले भने, ‘यो काम अघिल्लो पटक संभव भएको थिएन ।’ समुद्री सतहबाट ३८ सय मिटरको उचाईमा रहेको यही पाङसाङ पासमुनिको हिउ“मा ६ महिना अघि एक ताइवानी जोडी फसेको थियो र ४७ दिनपछि प्रेमिका मरेको अवस्थामा उद्धार भएको थियो ।
‘हामीले पनि निकै दुःख पायौं’ निर्देशक वलले भने, ‘विहान एघार बजेसम्म मात्रै हिमाल र आकाश खुल्थ्यो, त्यही भएर चार बजे नै उठेर सेटमा पुग्थ्यौं । एघार बजेपछिको फुर्सदमा चाहि“ धेरैजसो साथीहरु रुबी र क्रिस्टल खोज्न डा“डाका“डा चढ्थे ।’
फिल्ममा नायक दयाहाङ राई भेंडा गोठालोको भुमिकामा छन् । यसको सुटिङका लागि पनि निकै दुःख खेप्नु परेको निर्देशक वलले सुनाए । ‘भदौ अन्तिमपछि भेंडाहरुको उध्ँौली शुरु हुनेरहेछ, हामी सुटिङको लागि रुबी भ्याली पुग्दा भेंडाहरु तल गाउ“तिर झरिसकेका थिए, तल झरेपछि भेंडाहरुलाई माथि ल्याउन निकै मुश्किल पर्यो’, उनले भने, ‘७ जना मान्छेहरु लाएर तिप्लिङ गाउ“बाट भेंडा त ल्यायौं, तर एकदिनको बाटोमा भेंडाले तीनदिन लगाइदियो ।’
बाटोको असुविधाले अर्को दुःख खेप्नुपरेको उनले सुनाए । भरिया र खच्चडमा भरपर्नु पर्ने भएकोले सबै उपभोग्य सामाग्री तीन सय प्रतिशतले महंगो परेको उनले दावी गरे । ‘काठमाडौंबाट १६ सय रुपैंयामा लगेको चामल रुबी भ्याली पुग्दा ५६ सय रुपैंया पर्यो’ उनले भने, ‘दुई ठाउ“मा भरिया लाउ“दा एक बोरा चामलमै चार हजार रुपैंया जाने रहेछ ।’ एउटा कुखुराको पेरुङगो बोक्न घोडाका लागि पा“च मिनेटको दुरीमा पनि दुई हजार रुपैंया भाडा लिएको उनले सुनाए ।
‘सरकारले पर्यटन क्षेत्र घोषणा गरेको भएपनि प्रबद्र्धनका लागि रुबी भ्यालीमा खासै पहलकदमी भएको रहेनछ’ उनले भने, ‘स्थानियस्तरमा पनि खासै योजना सहित काम भइरहेको पाइन“ । पाङसाङ पासमा हाम्रो किचेन टिमले एक घण्टाको दुरीबाट पानी ओसारेर खुवाउनु पर्यो । स्थानियस“ग केही वाल्टी आकाशे पानी किन्न पनि तीन हजार तिर्यौं ।’ रुबी भ्यालीको पर्यटन प्रर्बद्धनमा स्थानिय पनि उदासिन रहेको उनले गुनासो गरे ।
वलका अनुसार फिल्मले रुबी भ्यालीकै एक परिवारको कथा समातेको छ । रुबी भ्यालीकै जीवनशैली, संस्कृति र विषयबस्तु पहिलोपटक फिल्ममा आउन लागेको पनि उनले दावी गरे । नेपाल–म्यानमार फ्रेण्डसीप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको ‘नीरफूल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, बुद्धि तामाङ, राजन खतिवडा, मानस राज, सुरेश चन्द, रोशन फ्युबा लगायतको अभिनय रहेको छ ।
फिल्मको कार्यकारी निर्माता डोमा सोनाम रहेकी छन् भने कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, जापानबाट उदय लामा, इजरायलबाट चन्द्रमाया तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर, नेपालबाट अशोक थापा निर्माता रहेका छन् । सचिन घिमिरे र निर्देशक वलकै पटकथा रहेको फिल्मको छायांकन प्रमोद कार्कीले गरिरहेका छन् भने संगीत अर्जुन पोखरेलको रहने छ ।
निर्देशक वलले यसअघि छोटो फिल्म ‘सेलफोन’ निर्देशन गरेका थिए । यो छोटो फिल्मले नेपाल, चीन, अमेरिका, भारत, बंगलादेश, क्यानडा लगायत विभिन्न मुलुकका अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा छनौट र प्रदर्शन हुनुका साथै अवार्ड समेत पाएको थियो ।

 

Comments