कलाको नाममा हुने छाडापन रोक्न गृहमन्त्रीसँग आग्रह
screennepal
प्रकाशित: २०७४, २५ आश्विन बुधबार
no img

काठमाडौं, २५ असोज । पछिल्लो समय केही कलाकारले स्टेज कार्यक्रमका नाममा विभिन्न क्रियाकलापसहित भद्दा पहिरन र छाडा गीत गाउन थालेका छन् । जसले आमनेपाली कलाकारको प्रतिष्ठामाथि नै प्रश्न उठ्न थालेको छ ।
यसैबेला यस्ता कलाको नाममा हुने छाडापन रोकिदिन केही कलाकारले गृहमन्त्रीसँग आग्रह गरेका छन् । देशका विभिन्न भागमा आयोजना हुने विभिन्न मेला र महोत्सवमा कलाकारका नाममा हुने भद्दा पहिरनमा नृत्य र गीतसंगीतको प्रस्तुती जस्ता विकृतिलाई रोकिदिन लोक कलाकारको छाता संगठन नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनीको नेतृत्वमा गएको टोलीले गृहमन्त्री जनार्दन शर्मालाई भेटेर आग्रह गरेको हो ।
हुन पनि यहाँ केही यस्ता कलाकार छन्, जो प्रहसनमा अश्लील शब्द प्रयोग गरिरहेका छन् । उनीहरुको छाडापनका कारण दर्शकलाई असहज हुनुका साथै आम कलाकार बदनाम हुन थालेको भन्दै यस्तो कदम चालिएको प्रतिष्ठानले जनाएको छ ।
गृहमन्त्री शर्माले सो विषयमा आफू गम्भीर रहेको बताउँदै तत्काल सम्बन्धित अधिकारीलाई काम अघि बढाउन निर्देशन दिएको बताएका छन् । जिल्लाका विभिन्न ठाउँमा महोत्सव आयोजना गर्ने आयोजकले सम्बन्धित प्रशासन कार्यालयमा अनुमति लिँदा त्यस्ता क्रियाकलाप नगर्ने सहमति गर्नेछन् । प्रशासनले शान्ति सुरक्षाका लागि खटाइएका प्रहरीलाई समाजमा अपाच्य हुने खालका प्रस्तुति रोक्न निर्देशन दिने जनाइएको छ ।

Comments