२७ वर्षपछि ‘रुप’ | एक पुस्तक, दुई उपन्यासको स्वाद !
screennepal
प्रकाशित: २०७४, २५ आश्विन बुधबार
no img

काठमाडौं, २५ असोज । प्रेममा उत्सर्ग, त्याग तथा समर्पण अनि बलिदानी सवै जायज हुन्छ । शायद यो नभएको भए प्रेमको खासै अर्थ हँुंदैन थियो । यही प्रेमको अर्थले नै प्रेमलाई महान बनाएको छ ।
यिनै प्रेम गर्ने र प्रेममा संसार विर्सने ति प्रेमीहरुको नाममा ‘रुप’ नामक उपन्यास लोकार्पण भएको छ । २७ बर्षअघि ललितपुर वडा नम्बर ७ पिन्छेँ टोल निवासी उपन्यासकार कृष्ण विहल महर्जनले लेखेको उपन्यास रुपको विमोचनपश्चात ‘रुप’ले रुप पाएको हो ।


काठमाडौमा आयोजित एक समारोहवीच उपन्यासकार कृष्ण विहल महर्जनको उपन्यास रुपको विमोचन भएपछि उपन्यासले आकार र जीवन्तता पाएको हो । नेपाली भाषाका प्रसिद्ध साहित्यकार तथा प्राध्यापक डा.अरुण गुप्तेव्दारा विमोचित उक्त रुप नामक उपन्यासमा अर्को उपन्यास मेरो भावना पनि बोनसमा पढ्न पाइन्छ। एउटै पुस्तकमा दुईटा उपन्यास प्रकाशित गर्ने नौलो आयाम थप्ने कार्य उपन्यासकार महर्जनवाट भएको छ ।
२७ बर्षअगाडि कलेज लाइफको त्यो रहरलाग्दो साहित्यिक जोशमा लेखेको उपन्यास यति धेरै समयको अन्तरालमा प्रकाशित हुँदापनि त्यतिकै बेलगाम जोश रहेको र साथमा पर्याप्त होश रहेको भनाई पनि उपन्यासकार महर्जनको रहेको छ।
उपन्यास ढिला प्रकाशित हुनुकोपछाडि विविध कारण रहेको बताउने उपन्यासकार महर्जनको उपन्यासमा प्रेम तथा अन्तरजातिय विवाह संवन्धको विहल तथा विद्रोहको आगो रहेको छ। जुन उपन्यासभित्र एकपछि अर्को गरेर घट्ने घटनाक्रमले कौतुहलता तथा थप रहस्यता थप्दै लाने गरेको पाइएको छ ।
रहस्य, रोमाञ्चता तथा कौतुहलताले भरिएको यो उपन्यास लेख्ने क्रममा कयन रात सपनामा उपन्यासकार महर्जनले अन्तरव्दन्द गरेका छन्। सपनामा भएको अनि गरिएको त्यो अन्तरव्दन्दतालाई विपनामा तुरुन्तै नोट गरेर लेखिहाल्ने बानीकै कारणवाट उपन्यास रुपले रुप पाएको उपन्यासकार महर्जनको दावी रहेको छ । अर्थात् महर्जनको लेखनलाई सपनाले निक्कै नै सहयोग गरेको छ । प्रेम कथामा आधारित उपन्यास रुपलाई कतिले महर्जनको आत्मकथा भन्ने गरेतापनि त्यो यथार्थ भने होइन। यस उपन्यासमा उपन्यासकार महर्जनको केवल भावना रहेको उनको यथार्थ प्रेमको कुनै मिश्रण नभएको उनी आफैले भनेका छन्।
सुकरात, शेक्सपियर तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहित्यिक कृति तथा जीवनीवाट प्रभावित बनेर कवि तथा गीतकार हुंदै उपन्यासकार बनेका महर्जनले कयन कविता तथा गीत लेखेका छन्।
ती कविता तथा गीतका थेली पनि प्रकाशित हुने क्रममा रहेका छन् । पाँच कृति प्रकाशनको प्रतिक्षामा छन् । ०४४ सालतिर आफैले लेखेको हाँस्य नाटकमा अभिनय समेत गरेका महर्जन साहित्यलाई मनको बह तथा भावना पोख्ने माध्यमका रुपमा अनेकन तरिकाले प्रयोग गर्नमा व्यस्त छन् । यसैमा महर्जन रमाइरहेका छन् । साथै विहल पनि ।

 

Comments