ग्यालरीमा रीताको ‘कल्चरल एक्सप्रेशन’
screennepal
प्रकाशित: २०७४, १० भाद्र शनिबार
no img

काठमाडौं, १० भदौं । ‘कल्चरल एक्सप्रेशन’ शीर्षकमा रीता मानन्धरको एकल कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा शुक्रबारबाट सुरु भएको छ । सो प्रदर्शनीको उद्घाटन गर्दै अग्नि ग्रुपका डाइरेक्टर सुशन श्रेष्ठले नेपाली कलामा मौलिक विषयको प्रधानता रहेको बताए । मानन्धरका कलाले नेवार संस्कृतिका विविध विषयलाई उठाएको अग्रज कलाकार किरण मानन्धरले बताए ।


रीताका कलाले समाजका विविध सांस्कृतिक विषयलाई समेटेको अग्रज कलाकार तथा कला लेखक मदन चित्रकारले बताए ।
५ दिनसम्म चल्ने सो प्रदर्शनीमा मानन्धरले करिब दुई दर्जन कलाकृति राखेको बताइन् । नेपालका सांस्कृतिक विविधता झल्कने कला प्रदर्शनीमा राखिएको बताउँदै भनिन्, ‘कलाले समाजको सम्बन्ध सेतु भएकाले रङलाई सांस्कृतिक विषयसँग जोडेर मैले कला रचना गरेको छु । यी कलाको मुख्य भाव भनेकै समसामयिक सन्दर्भमा हाम्रो सांस्कृतिक वैभवलाई चिनाउनु रहेको छ ।’ नेपालको सांस्कृतिक वैभव, इतिहास, चाडपर्व, जात्रा लगायतका विषयलाई कलामा उतारेको मानन्धरले जनाइन् ।


कला मानव जीवनको एक सशक्त पक्ष रहेको जनाउँदै उनले भनिन्, ‘यसले हामीलाई एक अर्कामा जोडिरहेको हुन्छ । कला क्यानभासमा मात्रै सीमित नभइ यसमा भावनाको सशक्त संबोधन हुन्छ । रङ र कुचीमार्फत भावनाको अभिव्यक्ति प्रस्तुत गर्न मैले सांस्कृतिक विषयलाई रोजेको छु ।’
काठमाडौं उपत्यकाका सांस्कृतिक वैभव तथा जात्रा पर्वहरुलाई उनले निकै कलात्मक रुपमा प्रस्तुत गरेकी छन् । ‘यहाँ मनाइने पर्व र जात्राले मेरो कला ह्दयमा सधै प्रभाव पारिरह्यो । संस्कृतिका विविध पक्ष र सम्पदाको प्रभावका कारण मैले चित्रमा तिनै पक्षलाई उतार्ने कोसिस गरेको छु । संस्कृतिको महत्व मानव जीवनमा कत्तिको रहन्छ भन्ने विषयसँग केन्द्रीत रहेर मैले कला रचना गरेको छु,’ उनले थपिन् ।

 

Comments