भोजपुरका सुरेन पहिलो ‘वाट्सप नेपाली तारा’
screennepal
प्रकाशित: २०७४, ३ भाद्र शनिबार
no img

काठमाडौँ, ३ भदौ । अनलाइन गायन प्रतियोगिता ‘वाट्सप नेपाली तारा सिजन–१’ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा सहभागीमध्ये कोरियामा कार्यरत भोजपुरका सुरेन बान्तवा प्रथम, भोजपुरकै विनोद बान्तवा द्धितीय र सङ्खुवासभाका अमर राईले तृतीय स्थान हासिल गरेका थिए ।\


प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार नगद, प्रमाणपत्र र एउटा गीत रेकर्डिङको व्यवस्था रहेको भने द्धितीय र तृतीय हुनेलाई क्रमशः २०/२० हजार नगद र प्रमाणपत्र रहेको छ । पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवं वरिष्ठ गायक गणेश रसिकले प्रदान गरे । पुरस्कार प्रदानपश्चात बोल्दै प्रमुख अतिथि रसिकले भने, ‘नेपाली गीतसङ्गीतका क्षेत्रमा वाट्सप नेपाली ताराले एउटा इतिहास रचेको छ । विजेता गायक प्रतिभाहरूले भविष्यमा यो क्षेत्रमा प्रगति गर्ने छन् भन्ने मलाई लागेको छ ।’
कार्यक्रमका परिकल्पनाकार एवम् किराया मकाउका सचिव नीवन राईले अनलाइनमार्फत् गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले ‘वाट्सप नेपाली तारा’ कार्यक्रम सञ्चालन गरेको बताए । प्रतियोगिताका मुख्य निर्णायक गायक तथा सङ्गीतकार मनोज साङसोनले अनलाइनमार्फत विश्वभरि छरिएर रहेका सयौँ नेपाली प्रतिभाहरूले कार्यक्रममा भाग लिएको बताए ।

Comments