‘तारेभीर’बाट खुल्यो रेखाको ढोका, ७ फिल्ममा आइसक्यो प्रस्ताव !
screennepal
प्रकाशित: २०७४, २८ श्रावण शनिबार
no img

काठमाडौं, २८ साउन । कलाकार हिट हुन फिल्म चल्नैपर्छ भन्ने छैन । यहाँ फिल्म नचलेपनि त्यसका कलाकार रातारात चम्किएको उदाहरण थुप्रै छ । पछिल्लो उदाहरण हुन् अभिनेत्री रेखा फागो ।
मोडलिङ हुँदै फिल्म ‘तारेभीर’मार्फत अभिनेत्रीमा डेब्यु गरेकी रेखालाई हिजोआज हिरोइनका लागि प्रस्तावको ओइरो लागेको छ जबकि, उनी अभिनीत ‘तारेभीर’ले आंशिक मात्र व्यापार गरेको थियो । जसलाई ‘सफल फिल्म’ भन्न सकिँदैन । तर, सोही फिल्मकी अभिनेत्री रेखालाई भने ‘तारेभीर’ले भाग्य खोलिदिएको छ ।


केही सातायता राजधानीमै रहेकी रेखाले भनिन्, ‘तारेभीर रिलिजपछि मलाई सातवटा फिल्मको अफर आइसकेको छ ।’ तर उनले अफर आएका कुनैपनि फिल्ममा अहिलेसम्म साइन भने गरेकी छ्रैनन् । किन त ? रेखा भन्छिन्, ‘म जस्तोसुकै फिल्ममा अभिनय गर्दिनँ । मलाई प्रस्ताव आएका फिल्मबारे बुझ्दैछु । चित्त बुझे काम गर्छु ।’
देउकृष्ण देवान निर्मित तथा कलाकार प्रेम सुब्बा निर्देशित ‘तारेभीर’मा रेखा एक चञ्चल तथा एक्शन युवतीको भूमिकामा देखिएकी थिइन् । उक्त फिल्ममा उनीसँगै गायिका विष्णु चेम्जोङको मुख्य अभिनय रहेको थियो ।
अबका दिनमा रेखा लिड रोड गर्ने सोचमा छिन् । त्यसैले आफूलाई कलाकारितामा अझ निर्खान नृत्य प्रशिक्षणसमेत सुरु गरेकी रेखाले स्क्रीन नेपालसँग अनौपचारिक कुराकानीमा भनिन्, ‘जमाना अनुसार चल्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ यसको अर्थ उनी युवापुस्ता लक्षित फिल्ममा अभिनय गर्न रुचाउँछिन् । उनले भनिन्, ‘बरु थोरै फिल्म गर्ने तर ती स्तरिय होस् भन्ने मेरो चाहना हो ।’ उनले चाँडै एक फिल्ममा काम गर्ने सुनाइन् ।
एक्शन तथा लभस्टोरी जस्तोसुकै भूमिका पनि निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास रेखासँग छ । त्यसैले पनि उनी ढुक्क छिन् । बिग बजेटको फिल्मबाट डेब्यु गरेकी रेखालाई अहिले आफ्नो फिल्ममा हिरोइन प्रस्ताव गर्नेहरु पछिल्लो धारकै छन् । जो युवापुस्ता लक्षित फिल्म बनाउन चाहन्छन् र बनाउँदै आएका छन् । सुनसरीको धरानबाट कलाकारिता प्रारम्भ गरेकी रेखाले थुप्रै म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेकी छन् । आगामी दिनमा पनि म्युजिक भिडियो र फिल्मी अभिनयलाई सँगसँगै अगाडि बढाउने उनको उद्देश्य रहेको छ । केही समय राजधानीमै बसेर आफूलाई कलाकारितामा परिपक्व बनाउने सोच बनाएकी रेखाले भनिन्, ‘यहाँ बसेर अभिनयको पनि प्रशिक्षण लिँदैछु ।’

Comments