सिद्धार्थ ग्यालरीमा छापाचित्रण प्रदर्शनी
screennepal
प्रकाशित: २०७४, ३ श्रावण मंगलवार
no img

काठमाडौं, ३ साउन । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा १३ जना कलाकारका प्रिन्टमेकिङ (छापाचित्रण) कलाको प्रदर्शनी आइतबारबाट सुरु भएको छ । अग्रज कलाकार वीरेन्द्रप्रताप सिंहले एक समारोहका बीच उद्घाटन गर्दै नेपाली कलामा प्रिन्टमेकिङ विधाले पछिल्लो समय प्रगति गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदर्शनीमा राखिएका प्रिन्ट निकै राम्रा र आकर्षक रहेका छन् ।’


ग्यालरीका सञ्चालिका संगीता थापाले नेपालमा प्रिन्टमेकिङमा कलाकार जम्दै जान थालेको बताउनुभयो । कलाका विविध आयाममध्ये प्रिन्टमेकिङप्रति मानिसको चासो र जिज्ञासा बढ्दै जान थालेको थापाले जनाउनुभयो । कार्यक्रममा विन्दु स्पेस फर आर्टिस्टका सौरगंगा दर्शनधारीले नेपालमा प्रिन्टमेकर आर्टिस्टको संख्या बढ्दै गइरहेको र नयाँ पुस्ताका कलाकार यसप्रति चासो दिन थालेको बताउनुभयो । ‘मनसुन शीर्षकमा गरिएको सो प्रदर्शनीमा कोरियन प्रिन्टमेकर ह्युन जु किमका प्रिन्टकला पनि राखिएको छ ।
प्रदर्शनीमा सौरगंगा दर्शनधारी, पृथ्वी श्रेष्ठ, सुवास तामाङ, रितु थापा, अमन महर्जन, अनिल प्रजापति, विजेन्द्र श्रेष्ठ, विद्यमान तामाङ, जेन्नी घले, पवन सुनुवार, प्रमिला लामा र शरद दर्शनधारी सहभागी रहनुभएको छ । छ दिनसम्म चलेको ‘मनसुन प्रिन्टमेकिङ वर्कसप २०१७’ मा १२ नेपाली कलाकार सहभागी रहनुभएको थियो । सोही कार्यशालामा तयार पारिएका करिब तीन दर्जन कलाकृति प्रदर्शनीमा राखिएको सहभागी कलाकार तथा विन्दुका संस्थापक पृथ्वी श्रेष्ठले बताउनुभयो ।
नेपाली संस्कृति, प्रकृति, सामाजिक तथा मानवीय विषयमा कलाकारले कलाकृति बनाउनुभएको छ । प्रदर्शनी एक हप्तासम्म रहने आयोजकले जनाए ।

Comments