जब बालबालिकाहरु जोकर बने…
screennepal
प्रकाशित: २०७४, ८ बैशाख शुक्रबार
no img

काठमाडौं, ८ बैशाख। थिएटर मल नाटकघरको मञ्चमा बालबालिकाहरु मात्र थिए । दर्शक दिर्घामा भने बालबालिकासहित अभिभावक ध्यान मग्न थिए ।
मञ्चमा रहेका बालबालिकाहरु दर्शकले दिएका विषय र प्रसंगमा तत्कालै कथा बुन्न र अभिनयमार्फत सो कथा भन्न मस्त थिए । उनीहरुले पूर्ण नाटक नै मञ्चन पनि गरे ।

Children_Theatre_Nepal_Theatre_Mall_2
काठमाडौंमा बाल रंगमञ्चको गतिविधि बढाइरहेको बाल रंगमञ्चसम्बन्धी संस्था थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मल नाटकघरले बालबालिका र अभिभावकमाझ नाटक मञ्चन गरेको हो । बालबालिकाहरुले नाटक ‘म जोकर बन्छु’ नामक नाटक मञ्चन गरेका थिए ।
नेपाली बालसाहित्यका पिताका रुपमा चिनिने बालसाहित्यकार शान्तदास मानन्धरको नाटक ‘म जोकर बन्छु’लाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । टिसीसी नेपालको ‘बालबालिकाका लागि अभिनय कार्यशाला’को अन्तिम दिन बालबालिकाहरुले नाटक मञ्चन गरेका हुन् । नाटकमा सबै पात्रहरुमा बालबालिकाले अभिनय गरेका थिए ।
बाल मनोविज्ञानमा आधारित नाटक ‘म जोकर बन्छु’ मा अभिभावकले वेवास्ता गरेपछि बालबालिकामा पर्ने मनोवैज्ञानिक नाकारात्मक असरलाई विषय बनाइएको थियो । बालबालिकाका इच्छामाथि अभिभावकले दवाव दि“दा हुने परिणामा र बालबालिकाले गरेको कार्यमा अभिभावकले सकारात्मक नजरले नहेर्दा बाल मस्तिष्कमा पर्ने प्रभावलाई नाटककमा उतारिएको थियो ।
अभिनय कार्यशालामा भएका ५ देखि १४ वर्षका बालबालिकाहरु सहभागी थिए । अरविन खड्का, कृति भट्टराई, सुशान्त कार्की, अनुप पुरी, सुक्साना थापा, प्रत्युस्का खड्का, आलिया पाठक, विश्वम पाठक, आर्यन पौडेल, प्रिन्स सिलवालले नाटक ‘म जोकर बन्छु’मा अभिनय गरेका थिए ।
थिएटर मलले र टीसीसी नेपालले हरेक वर्ष बालबालिकाका लागि अभिनय कार्यशाला गर्दै आएको निर्देशक केदार श्रेष्ठले जानकारी दिए । आगामी वर्ष पनि चैतको १९ देखि कार्यशाला हुनेछ ।
बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय संगठन आसितेज इन्टरनेशनलेले ‘बालबालिकालाई पनि नाटकघर लैजाऔं’ भन्ने अभियान अन्तर्गत बाल नाटकको गतिविधि नेपालमा भइरहेको आसितेज नेपालका दिपर्शनजंग राणा ले जनाए ।

Comments