‘परिवर्तनका लागि पुस्तक अध्ययन’ नारासहित प्रदर्शनी
screennepal
प्रकाशित: २०७४, १ बैशाख शुक्रबार
no img

काठमाडौं, १ बैशाख । ‘परिवर्तनका लागि पुस्तक अध्ययन’ भन्ने सन्देशका साथ ३१ चैत्रबाट डिकुरा पब्लिकेसनको आयोजनामा बृहत् पुस्तक प्रदर्शनी शुरु भएको छ । भृकुटीमण्डपमा जारी पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शान्ति वाइबाको बाल उपन्यास ‘सोनामको ल्होछार’को एक च्याप्टर पढेर नयाँ किसिमले उद्घाटन गरे ।

कुलपति उपे्रतीले भने, पुस्तक प्रदर्शनी र साहित्यिक महोत्सवको आयोजना गरेर जुन बहस गर्ने प्रचलन नेपालमा आएको छ यसले हाम्रो समाजमा नयाँ साहित्यिक तरङ्ग जन्माएको छ । पढ्नका लागि सबैलाई अभिप्रेरित पनि गरेको छ ।’
वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेलले भने, ‘अहिले देशमा केही युवाहरु काठमाण्डौबाट बाहिर निस्केर पूर्वमा झापादेखि पश्चिममा नेपालगञ्जसम्म साहित्यिक महोत्सव र पुस्तक प्रदर्शनीको आयोजना गरिरहेका छन् यो एकदमै सकारात्मक कुरा हो । पठन संस्कृतिको विकासमा यसको ठूलो भूमिका हुनेछ ।’
वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले भने, ‘पुस्तक पढेर हामीले केही गुमाउनु पर्दैन बरु नयाँ अवसरका ढोकाहरु खुल्दै जान्छन् ।’
डिकुरा पब्लिकेसनका अध्यक्ष तथा स्रष्ठा पुण्यप्रसाद प्रसाईले प्रदर्शनी गरिरहनुको रहस्य खोल्दै भने, ‘आज हामी के पढिरहेका छौं त्यही अनुसारको हाम्रो सामाजिक सोच निर्माण हुँदै जाने र पुस्तक अध्ययनको बानीले व्यक्तिमा परिवर्तन आउने भएकाले पढ्नका लागि प्रेरणा मिलोस भनेर हामीहरु यस्ता प्रदर्शनीहरुको आयोजना गर्ने गर्छौं । पढ्नुको फाइदा सबैलाई थाहा छ बुझाइरहनु पर्दैन । यस्ता प्रदर्शनी चाहिं पढ्ने बानीको विकास गर्नका लागि पनि हो ।’
यस प्रदर्शनीमा दैनिक साहित्यिक कार्यक्रम, लेखकसँग साक्षात्कारका साथै विभिन्न पुस्तकको विमोचनसमेत हुने जानकारी संयोजक तथा स्रष्ठा पुण्यप्रसाद प्रसाईले दिए ।
उनका अनुसार नयाँ वर्ष पनि भएकाले एक लाख अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य रहेको छ भने एक सयभन्दा बढी प्रकाशकहरुका हजारौं शीर्षकका पुस्तकहरु प्रदर्शनीमा सामेल छन् । नेपाली भाषाका पुस्तक मात्र नभएर अंग्रेजी भाषामा पढ्न चाहने पाठकलाई समेत ध्यानमा राखेर अंग्रेजी पुस्तकका समेत विभिन्न स्टल प्रदर्शनीमा राखिएका छन् । साथै बालबालिकादेखि सबै किसिमका पाठकका लागि उपयोगी पुस्तक प्रदर्शनीमा राखिएका छन् । ‘प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरु उपलब्ध गराइने छन् भने अंग्रेजी भाषाका क्लासिकल पुस्तकहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए ।
मोफसलमा समेत तिन पटक पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव गरिसकेको डिकुराको यो ११ औं श्रृंखला हो । प्रदर्शनी वैशाख ९ गते शनिवारसम्म चल्नेछ ।

Comments