वरिष्ठ मूर्तिकार भीम शाक्यकोे निधन
screennepal
प्रकाशित: २०७३, २७ चैत्र आईतवार
no img

ललितपुर, २७ चैत । वरिष्ठ परम्परागत मूर्तिकार भीम शाक्यको ८६ वर्षको उमेरमा आफ्नै निवास पाटनमा शनिबार बिहान ७ बजे निधन भएको छ । वि. सं. १९९० सालमा (बुबा देवराज शाक्य र माता कृष्णकुमारी शाक्य) पाटनको ओकुबहालमा जन्मिएका शाक्य ६ दशकभन्दा लामो समय निरन्तर मूर्तिकलामा काम गरेका थिए ।
१५ वर्षको उमेरमा तिब्बत गएका शाक्यले त्यहाँ आठ वर्ष बिताएका थिए । कलाकर्मका साथै उनी तिब्बतमा भिक्षु समेत भए । शनिबार दिउँसो शाक्यको बालकुमारीस्थित घाटमा अन्तेष्टि गरिएको छ ।

image-0-02-06-03bf202b993e7aa99275166a22a2894d20b91673e16357f9add52e5e40014ca4-V_resized_2
लामो समय नेपाली परम्परागत मूर्तिकलामा लागेर शाक्यले नेपाली मौलिक कलाको इतिहासलाई जर्गेना गर्ने काम गरे ।धातु मूर्तिकलामा बुट्टा भर्न विशेष दखल राख्ने शाक्यले सयौं मूर्तिकला बनाएका छन् । मूर्तिमा बुट्टा तथा रङ भर्ने कार्यमा सक्रिय शाक्यले हिजो (शुक्रबार) बेलुकासम्म काम गरेको र बिहान अकस्मात् निधन भएको खबर सुन्दा अविश्वास लागेको युवा मूर्तिकार राजन शाक्यले बताए ।
गएको बुधबारसम्म १५–२० जना व्यक्तिलाई मूर्तिकलाका बारेमा आफ्नै निवासमा भीम शाक्यले प्रशिक्षण दिएको बताउँदै अर्का कलाकार प्रदीप शाक्य भन्छन्, ‘एकदम सक्रिय रुपमा प्रशिक्षार्थीलाई आफ्नो ज्ञान दिनुभएको थियो । एक्कासी यस्तो सक्रिय मान्छेको निधन होला भन्ने परिकल्पना पनि गरेको थिइन् ।’
नेपाली कला क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउँदै वरिष्ठ पौभा कलाकार लोक चित्रकार भन्छन्, ‘नेपाली कलामा लामो समयदेखि सक्रिय कलाकारको निधन हुनु राष्ट्रकै लागि क्षति पुगेको छ ।’
भीम शाक्यलाई राज्यले उचित सम्मान दिन नसकेको बताउँदै राकेश अवालेले भने, ‘राष्ट्रका लागि वहाँको योगदान अतुलनीय रहेको छ । वहाँ जस्ता मूर्धन्य व्यक्तित्वको अभाव नेपाली कला क्षेत्रमा लामो समयसम्म रहिरहने छ ।’
शाक्यलाई नेपाल हस्तकला महासंघले दुईपटक सम्मान गरेको छ । नेपाल ललितकला संस्था (नाफा), पाटन संग्रहालय, ललितपुर उद्योग संघ लगायतका एक दर्जन बढी संघसंस्थाले शाक्यलाई सम्मान गरेको उनका भान्जा फल्समान शाक्यले बताए । शाक्यका श्रीमति छन् भने भान्जा फल्समान शाक्यले उनको ज्ञान र सीप विगत २० वर्षदेखि निरन्तर सहयोग गर्दै आएका छन् ।

Comments