संखुवासभाकी भूमिरा गुरुङ सगरमाथा चढ्दै
screennepal
प्रकाशित: २०७३, १५ चैत्र मंगलवार
no img

जलबायु परिवर्तनको नकारात्मक असरले आक्रान्त विश्वमा नयाँ सन्देशसहित कीर्तिमान कायम गर्ने अभिलाशाका साथ संखुवासभाकी भूमिरा गुरुङ सगरमाथा चढ्दैछिन् । उनी गुरुङ समुदायको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्ने दोस्रो महिला आरोही हुन् ।

आरोहण तयारीलाई तीब्र पारिएको बुधबार गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटिन)ले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । उहाँको आरोहणलाई ‘जलवायु परिवर्तन न्यूनिकरण सगरमाथा अभियान २०१७’ नाम दिइएको छ ।
Bhumira gurung (3)
पत्रकार सम्मेलनमा बोल्दै भूमिराले हिमाल जलवायु परिवर्तनको असरबारे विश्वजगतलाई ध्यानाकर्षण गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने सोच बनाएको सुनाउनुभयो । ‘यो आरोहण सन्देशमूलक र जनचेतनामूलक होस् भन्ने मेरो चाहाना हो’ उहाँले भन्नुभयो ‘हिमाल आरोहण गर्न र गराउन मात्र ठूलो कुरा होइन अब हामी आरोहीहरुले पनि केही न केही सामाजिक भावका साथ राष्ट्रको विकासमा योगदान पुग्नेखालका सन्देश प्रवाह गर्न जरुरी छ भन्ने अभिप्रायले विविध चुनौतिहरुका बीचपनि यो अभियानमा जुटेकी हुँ । यसलाई अवसरको रुपमा लिएकी छु ।’ यो अभियान जलवायु परिवर्तनसम्बन्धि सन्देश प्रवाह गर्ने पहिलो खुट्किला भएको तर जीवनभर यसै क्षेत्रमा काम गर्न चाहेको इच्छासमेत उहाँले व्यक्त गर्नुभयो ।
Bhumira gurung (1)
कार्यक्रममा नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष टिकाराम गुरुङले भूमिरा केवल सगरमाथा चढेर खुशी बाँड्नेमात्रै नभएर नयाँ लक्ष्य र उद्देश्यका साथ अघि बढेकोले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । विश्वजगतमा जलवायु परिवर्तनको असरसम्बन्धि नयाँ सन्देशसहित आम जनमानसलाई सूसुचित गर्ने भएकोले यसलाई महत्वका साथ लिइनुपर्ने उल्लेख गर्दै उहाँले यस अभियानबाट जलवायु परिवर्तनको असरबारे एक प्रकारको जागरण सिर्जना हुने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले यस अभियानलाई सफल पार्नको लागि सबै व्यक्ति, संघसंस्था तथा राज्यको तर्फबाट सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

जीटिनका अध्यक्ष कमला गुरुङले एक जना गुरुङ महिला आरोही भएको र सिंगो मुलुककै प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्ने लक्ष्यका साथ अघि बढेकी भूमिराको लागि संस्थागत र समुदायगत रुपमा आफुहरुले सहयोग र सहकार्य गरिरहेको बताउँदै र सबैलाई यसमा सरिक हुनको लागि अनुरोधसमेत गर्नुभयो ।
Bhumira gurung (4)
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटा, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल, आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलगायतले आर्थिक तथा अन्य हिसाबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना दिनुभयो ।
Bhumira gurung (2)

Comments