सिद्धार्थ आर्ट र स्माक बेल्जियमको संयुक्तमा ‘द सिटी’
screennepal
प्रकाशित: २०७३, १२ चैत्र शनिबार
no img

2

काठमाडौं, १२ चैत । शुक्रबारदेखि काठमाडौं ट्रिएनाले सुरु भएको छ । सिद्धार्थ आर्ट फाउण्डेशन नेपाल र स्माक (समकालीन कला संग्रहालय गेन्ट) बेल्जियमको संयुक्त आयोजनामा यो कार्यक्रम भएको हो ।
‘द सिटी’ नाम दिइएको ट्रिएनालेको वरिष्ठ कलाकार उत्तम नेपाली र नेपालका लागि युरोपियन युनियनका राजदूत रिन्जे टेन्निकले संयुक्त रुपमा एक् समारोहका बीच उद्घाटन गरे । काठमाडौं उपत्यका कला र संस्कृतिमा निकै धनी रहेको बताउँदै ईयुका राजदूत टेन्निकले भनिन्, ‘नेपालमा भएको यो ट्रिएनालेले विश्वका कलाकारलाई एकै ठाउँमा ल्याउन सकेको छ ।’

1
ट्रिएनालेका संयोजक तथा सिद्धार्थ आर्ट फाउण्डेशनका संस्थापक संगीता थापाले नेपालमा बृहद् स्तरमा कला प्रदर्शनी गर्नु चुनौतीपूर्ण रहेको बताइन् । यो प्रदर्शनीले नेपालमा विश्वका प्रसिद्ध कलाकारलाई जमघट गराएको र नेपाली कलाकारलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको बताइन । उनले भनिन्, ‘कला र संस्कृति मानवता जोड्ने सशक्त माध्यम हो ।’
डेढ वर्षदेखिको तयारीबाट काठमाडौं ट्रिएनाले सुरु भएको ट्रिएनालेका सेन्टर क्यूरेटर फिलिप भ्यान काउटरेनले बताए । फिलिप स्माक बेल्जियमका कला निर्देशक हुन् ।
ट्रिएनालेमा २६ मुलुकका ७० कलाकारको उपस्थित रहेको र तिनले कलामार्फत सबैलाई नजिक ल्याउन भूमिका खेलेको कार्यक्रमका निर्देशक निश्चल ओलीले बताए । ट्रिएनालेको अवसर पारेर नेपालका प्रसिद्ध तथा अग्रज कलाकार वीरेन्द्रप्रताप सिंह र बेल्जियमका मेक्सिकोमा बस्ने विश्व प्रसिद्ध कलाकार फ्रान्सिस आलिसलाई सम्मान गरिएको थियो ।
नेपालमा पहिलोपटक ट्रिएनाले इभेन्ट भएको हो । हरेक तीन वर्षको अन्तरालमा गरिने यस्तो कार्यक्रमले अन्तर्राष्ट्रिय रुपमा कलाकारलाई परिचित गराउन र संस्कृति आदान प्रदानमा सहयोग पुग्छ ।
२६ देशका ७० कलाकार सहभागी रहेको ‘काठमाडौं ट्रिएनाले’ पहिलो दिन तारागाउँ म्यूजियममाको अस्मिना रञ्जितको पर्फर्मेन्स आर्टबाट कला प्रदर्शनी सुरु गरियो । ‘पवित्र स्थान’ विषयमा उनले पर्फर्मेन्स आर्ट प्रस्तुत गरेकी थिइन् । त्यस्तै पृथ्वी श्रेष्ठले ‘इनसाइट’ थिममा मानवीय संवेगलाई सांस्कृतिक तथा सामाजिक विषयसँग तुलना गरी कला प्रस्तुत गरेका थिए । ट्रिएनालेका सेन्टर क्यूरेटर फिलिपले कार्यक्रमका बारेमा तारागाउँ म्यूजियम तथा नेपाल आर्ट काउन्सिलमा जानकारी गराएका थिए ।
सो ट्रिएनाले नेपाल आर्ट काउन्सिल बबरमहल, तारागाउँ म्यूजियम बौद्ध, सिद्धार्थ आर्ट ग्यालरी, पार्क ग्यालरी, पाटन संग्रहालय, टंगाल उड, नेपाल पर्यटन बोर्डलगायत राजधानीका विभिन्न आठ स्थानमा हुनेछ । कार्यक्रम १७ दिनसम्म चल्ने छ ।

Comments