मानवीय संवेदनासँग जोडिएका रविन्द्रका चित्रहरु
screennepal
प्रकाशित: २०७३, २८ फाल्गुन शनिबार
no img

काठमाडौं, २८ फागुन । हार्भड विश्वविद्यालयको छनौटमा परी यसैसाता अमेरिका जान लागेका कलाकार रविन्द्र श्रेष्ठको दोस्रो एकल कला प्रदर्शनी बौद्धस्थित तारागाउँ म्यूजियममा शुक्रबारदेखि सुरु भएको छ ।

IMG_0040
चार दिनसम्म चल्ने सो प्रदर्शनीमा श्रेष्ठले भूकम्प पछिको नेपालको अवस्था र मानवीय संवेदनामा आधारित कलाकृति राखेका छन् ।
२०७२ बैशाखको भूकम्प लगत्तै उनले सम्पदा स्थलमा पुगेर त्यसको भावमा केन्द्रीत रही चित्र बनाए । मठ–मन्दिर, पुरातात्विक सम्पदालाई कलात्मक रुपमा चित्रमा उतारेर श्रेष्ठले त्यत्तिबेलाको सामाजिक अवस्थालाई उतारे । भूकम्पपछिको सम्पदाको अवस्थालाई कलात्मक रुपमा चित्रण गरेका रेखाचित्रले प्रदर्शनीको रौनकता बढाएको छ ।
त्यस्तै अर्कातिर विश्वमा आक्रान्त बन्दै गइरहेको युद्ध र त्यसले समाजमा पारेको मनोदशालाई ‘फिंगरप्रिन्ट’ मार्फत उनले कलात्मक रुपमा चित्रण गरेका छन् ।

Rabindrafoto2
‘प्रदर्शनीमा मानवीय संवेदनासँग जोडिएका विषयलाई उतारेको छु । विश्वमा युद्ध र अशान्तिले समाज आक्रान्त बनेको छ । त्यसले मानव जातिमा देखापरेको दुखान्त मनोदशालाई सिर्जनात्मक रुपमा ढाल्ने कोसिस मैले गरेको छु,’ श्रेष्ठले आफ्ना कलाकृतिका बारेमा बताए ।
सम्पदा र मानवीय दुखान्तका क्षणलाई रविन्द्रले कलात्मक रुपमा चित्रमा व्यक्त गरेको तारागाउँ म्यूजियमका निर्देशक रोशन मिश्रले बताए । मिश्रले भने, ‘नेपाली कलामा थिमेटिक रुपमा काम गर्न रुचाउने श्रेष्ठका कलामा समसामयिक विश्वको सन्दर्भलाई कलात्मक सौन्दर्यमा ढालेको पाइन्छ ।’
त्यस्तै हार्भड विश्वविद्यालयको छनौटमा परी अमेरिका जान लागेका श्रेष्ठले त्यसको पूर्व सन्ध्यामा काठमाडौंमा एकल प्रदर्शनी गरेका हुन् । अमेरिकाको वोस्टन सिटीमा रहेको हार्भड विश्वविद्यालयको आयोजनामा हुन लागेको ‘हार्भड साउथ एसिया इन्स्च्यिूट भिजिटिङ आर्टिस्ट प्रोग्राम’ मा दक्षिण एसियाबाट छनौटमा परी सहभागी हुन् लागेका छन् । दक्षिण एसियाली मुलुकबाट सो कार्यक्रममा श्रेष्ठसहित ४ जना कलाकार छनौटमा परेका छन् ।

मार्च १८ देखि मे १ सम्म हुने सो कार्यक्रममा नेपाली कलाकारको छनौट पहिलोपटक भएको हो । सो कार्यक्रममा सहभागी हुने बारे जानकारी गराउँदै श्रेष्ठले भने, ‘विश्वको प्रसिद्ध विश्वविद्यालयले मेरो कलाकृति छानेर सहभागिताका लागि त्यहाँ जान पाउनु देशकै लागि गौरवको कुरा हो । विश्वको कलाको केन्द्रमा नेपाली समसामयिक कलाको उपस्थिति गराउन पाउनु हाम्रा लागि अर्थपूर्ण छ । यस्तो मौका कमै राष्ट्रका कलाकारले पाएका छन् । यो मौका दिएकोमा हार्भडप्रति कृतज्ञता दिँदै आफुमा निकै ठूलो जिम्मेदारी आएको महशुश गरेको छु ।’
सो कार्यक्रममा अन्तरक्र्रिया, कलासम्बन्धी क्लास, संग्रहालय तथा पुस्तकालय भ्रमण आदि राखिएको कलाकार श्रेष्ठले बताए । सो कार्यक्रममा श्रेष्ठले मानवीय संवेदनाका विषयमा तयार पारिएका कलाकृति राख्ने जनाएका छन् । उनले ‘वी आर अल कनेक्टेड’ शीर्षकमा फिंगरप्रिन्ट राख्न लागेको बताए ।
तस्वीर सौजन्यः गोरख रेग्मी

Comments