नमोबुद्धमा राष्ट्रियता खोज्न पुगेपछि…
screennepal
प्रकाशित: २०७३, २७ फाल्गुन शुक्रबार
no img

काठमाडौं, २७ फागुन । पछिल्लो समय मुलुकमा राष्ट्रियता गुज्रँदै गएको छ । यसैबेला केही कलाकार राष्ट्रियता खोज्दै नमोबुद्धतिर लागे । उनीहरुले आफ्नो मुलुकको राष्ट्रियता संकटमा परेको महसुस गर्दै राष्ट्रियता बचाउनुपर्छ, हिमाल पहाड र तराईको कुरा गर्नुहुन्न सबै नेपाली एक हुनुपर्छ भन्ने सन्देश लिएर नमोबुद्धतिर शान्ति खोज्न पुगेका हुन् ।

nava
विशाल नेपालभित्र शान्तिको दूत गौतम बुद्ध, उच्च शिर सगरमाथा, गोर्खाली वीरको पहिचान हुँदै अन्तर्राष्ट्रियस्तरमा युनिक रहेको चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डासमेत पाएको मुलुकले अस्तित्वको संकटमा बाँच्नुहुन्न भन्ने सन्देशसहित शान्तिको खोजीमा नमोबुद्ध पुगेको निर्देशक सवनम मुखियाले बताइन् ।
केही समय पहिला भएको नाकाबन्दीले गीतकार सुमन पण्डितका लागि केही लेख्न बाध्य बनायो । पहिला नेपाल नै नभए नेपाली भइँदैन भन्ने मूल मर्मको साथ उनले गीत लेखे ‘नेपाल भएर नै म नेपाली बन्न पाछु, सगरमाथा बुद्धको देश शान्तिभूमि भन्न पाछु’ । मधेशमा भएको नाकाबन्दीले पहाडी र हिमाली भन्दै गरिएको भेदभावभित्र गीतकार पण्डितले पहिला नेपाली त्यसपछि मात्रै अन्य जात जाति र भाषाभाषी हो भन्ने सन्देशसहित गीत लेखेका छन् ।

सीमामा बैरी आए सबै मिलेर लड्नुपर्छ, स्वाभिमान बचाउनुपर्छ भन्दै तराईको अन्नभण्डार, पहाडको जडिबुटीले नै हामीलाई धनी बनाउन सकिने ठाउँ भएको उनले बताए । विश्वमै स्वाभिमानी नेपालीले आफू आफूमा द्वन्द्व गर्नुहुन्न भन्ने गीतले सन्देश बोकेको छ । यस गीतलाई सन्तोष श्रेष्ठले संगीतबद्ध गरेका छन् भने युवराज चौलागाईंले स्वर दिएका छन् । विपिन आचार्यको संगीत संयोजन रहेको यस गीतलाई गोल्डेन क्रियशनले बजारमा ल्याउन लागेको हो ।
नेपालको पहिलो महिला छायाँकार सवनम मुखियाको निर्देशनमा तयार भएको यस म्यूजिक भिडियोलाई वीरेन्द्र भट्टले छायाँकन गरेका हुन् । राजीव श्रेष्ठ, सुमन खतिवडा, कृष्ण श्रेष्ठ, शुभ पण्डित, कामना पण्डित र जस्मिना थपलियाको अभिनय रहेको यस म्यूजिक भिडियोको सम्पूर्ण छायाँकन भने नमोबुद्ध मन्दिरको वरिपरिका रमणीय दृश्यभित्र कैद भएको छ ।

Comments