मिथिलामा दुई बंगलादेशी कलाकारको प्रदर्शनी
screennepal
प्रकाशित: २०७३, २१ फाल्गुन शनिबार
no img

काठमाडौं, २१ फागुन । भौगोलिक सीमाले मानिसलाई छुट्टाए पनि कला र संस्कृतिले यो सीमालाई नजिकबाट जोड्ने काम गर्छ । यही सम्बन्ध जोड्नका लागि अहिले दुई बंगलादेशी कलाकारका चित्र तथा मूर्ति प्रदर्शनी मिथिला येँ आर्ट ग्यालरीमा चलिरहेको छ । महम्मद सैफुल इस्लाम र जाहिदा अख्तर कलाकार जोडीको नेपालमा भने पहिलोपटक कला प्रदर्शनी भएको हो ।

Mithila art5
नेपाल र बंगलादेशबीचको सम्बन्धलाई प्रगाढ बनाउन ‘सम्बन्ध’ शीर्षकमा प्रदर्शनी गरिएको कलाकार जोडीले बताए । मिथिला येँ ग्यालरीको आयोजनामा गरिएको प्रदर्शनीमा १५ वटा चित्र र ५ वटा मूर्ति राखिएको क्यूरेटर श्यामसुन्दर यादवले बताए । नेपाल र बंगलादेशबीचको सम्बन्ध सेतुको रुपमा यो प्रदर्शनी गरिएको बताउँदै यादवले भने, ‘नेपालमा विदेशी कलाकारका कलाकृति प्रदर्शन गर्नु भनेको त्यहाँको कला शैलीलाई बुझ्न र एकअर्का प्रतिको सद्भाव बढाउनका लागि पनि यस्ता कार्यक्रमको महत्व रहने भएकाले हामीले प्रदर्शनीका आयोजना गरेका हौं ।’

Mithila art4
प्रकृति र संस्कृतिमा सम्पन्न नेपालमा कला प्रदर्शनी गर्नु आफ्ना लागि ठूलो अवसर भएको कलाकार सैफुलले बताउँदै भने, ‘नेपाली कला र संस्कृतिले हामीलाई निकै मोहित पारेको छ । यहाँको प्रकृति र संस्कृतिको अनुपम सौन्दर्य कला रचनाका लागि निकै उपयुक्त रहेको छ ।’
मानवीय सम्बन्ध र प्रकृतिबीचको कलात्मक संयोजन गरी कलाकारदयले कलाकृति बनाएका छन् । मानव जाति जहाँ पुगेपनि उसको जीवन निरन्तर संघर्षसँगै आशाको उज्यालो संभावना खोज्दै अविरल बगिरहन्छ । कलाकारदयले कलाका माध्यमबाट समाजमा सद्भाव खोज्दै शान्ति र कल्याणका अग्रसर हुन मानव जातिलाई उत्प्रेरणा भर्ने काम गरेका छन् ।
नेपाली र बंगलादेशका कलाका विद्यार्थीलाई संस्कृति आदानप्रदान गर्दै कलाका विविध आयाम र परिवेश बुझाउनका लागि दुवै देशमा शैक्षिक भ्रमण गराउनुपर्ने बताउँदै जाहिदाले भनिन्, ‘हामीले यसमा सक्दो सहयोग गर्नेछौं ।’ बुधबारदेखि सुरु भएको प्रदर्शनी शनिबारसम्म रहने आयोजकले जानकारी दिए ।

Comments