काव्य–मेलामा दुई पुस्ता
screennepal
प्रकाशित: २०७३, २० मंसिर सोमबार
no img

भरतपुर, २० मंसिर । अराजक अक्षर समूह, भरतपुरले नियमितरुपमा आयोजना गर्दै आएको ‘काव्य–मेला’को तेस्रो संस्करणमा कवि शशी लुमुम्बू र नवोदित कवियत्री शीलत लामा प्रस्तुत भए । कर्मी नाट्य समूह र होमिज युथ क्लबको सहकार्यमा शनिबार भरतपुर उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा शशीले आफ्ना नयाँ–पुराना गरी एक दर्जन कविता पस्किए ।

kavya-3

‘साथी’ शीर्षक कविताबाट वाचन आरम्भ गरेका उनले दश वर्षे सशस्त्र द्वन्द्व, अत्यासलाग्दो सङ्कटकाल, समसामयिक राजनीति, समाज, संस्कृति र प्रेमसम्बन्धी कविताहरू सुनाए । उनले ‘सन्त्रासहरू’, ‘दिलसराको चिहान’, ‘ठिहीमा’, ‘धुमिल गोरेटो’, ‘अर्गानिक मान्छे’, ‘राजमार्गछेउ’, ‘तिमीमात्रै सत्य होइनौ’, ‘आदिवासी राजकुमारी’, ‘म आगो हुँ’ ‘पहाडबूढो’ र ‘राजधानी प्रवेश’ सुनाएका थिए ।
आफैँलाई पात्र बनाएर रचिएको ग्रामीण युवाहरूको जीवनसङ्घर्ष, समाज र राजनीतिक परिवर्तनको विषयवस्तुमा आधारित कविता ‘राजधानी प्रवेश’मा उनले यसरी काव्यिक गर्जन गरे—

ए…..नागार्जुन !
सुनाइदेऊ खबर सिंहदरबारहरूलाई
कि, दुर्गम गाउँबाट एकजना स्वप्नजीवी
जिन्दगीजस्तो जिन्दगी खोज्दै
भर्खरै राजधानी आइपुगेको छ…..!

‘काव्य–मेला’को पहिलो चरणमा प्रस्ुतत भएकी शीतल लामाले ‘जाल’ शीर्षकको कविताबाट वाचन शुरु गरिन्—
ए दाइ !
सहर हिँड्नु भा’ हो ?
सुन्नुस् न !
गुराँसको हाँसो बोकेर
पहाडबाट शहर झर्दै गरेकी
कुनै एक परी
बाटोमा भेट्नु भो भने,
सम्झाइ दिनुस् ल उसलाई !

उनले ‘अन्तिम पटक’, ‘समर्पण’, ‘बसाँइसराई’, ‘भोक’, ‘सम्बन्ध’, ‘एक रात’, ‘संस्कार’, ‘सपना’, ‘सजाय’, र ‘पुस्ताको कहानी’ समेत ११ वटा कविता सुनाइन् । शीतलका कवितामा टिनएजरका भावना, स्वप्न र सोचाइका साथै सामाजिक परिवेश झल्किएका थिए ।
करिब एक घन्टासम्म चलेको कार्यक्रममा कविद्वयका कविता श्रवण गर्न पाका कवि तथा गीतकार प्रेमविनोद नन्दन पनि उपस्थित थिए । कविता सुनिसकेपछि नन्दनले भने, ‘आज बाउ पुस्ता र छोरी पुस्ता गरी दुई पुस्ताको कविता सुन्न पाइयो । साहै्र आनन्द आयो ।’ उनले चितवनमा यसप्रकारको कार्यक्रम आयोजना गर्न थालेकामा आयोजकप्रति आभारसमेत प्रकट गरे ।
कार्यक्रम व्यवस्थापन संयोजक असीम हमालका अनुसार भरतपुरमा थिएटर निर्माण सहयोगार्थ ‘काव्य–मेला’ कार्यक्रमको सञ्चालन गरिएको हो ।’ कार्यक्रम संयोजक मुकुन्द खलपात्र, उत्तम गुरुङ, भीम राई र अञ्जन ढुङ्गानाले संस्थाका गतिविधि, कार्यक्रमको उद्देश्यका साथै कविद्वयका बारेमा प्रकाश पारेका थिए ।

Comments