२४ मंसिरमा आउँदैछ लाहुरेको ‘जिद्धि छोरी’को ‘पार्सल’
screennepal
प्रकाशित: २०७३, १७ मंसिर शुक्रबार
no img

चलचित्रमा सिर्जना लाहुरेको एक्लो जिद्धि छोरीको भूमिकामा देखिँदैछिन् । तर, रियल लाईफचाहिँ उनी लाहुरेकी छोरी परिनन् । वास्तविकता भन्दा पर गएर अभिनय गर्दा कस्तो अनुभव भयो होला त उनलाई ? सिर्जना भन्छिन्, ‘साधारण, खाशै फरक केही पाइनँ ।’ सिर्जनाको बयानअनुसार ‘पार्सल’ सबैको घर–घरमा पुग्नेछ ।

-एमपी सुब्बा

काठमाडौं, १७ मंसिर । आफ्नो सन्तान सबैलाई प्यारो लाग्छ । कलाकारका लागि सिर्जना पनि आफ्नो ‘सन्तान’ बराबरै हो । हो, नवनायिका सिर्जना वनेम फागोका लागि चलचित्र ‘पार्सल’ नयाँ सन्तान हो, जसप्रति उनलाई माया र आशा हुन्छ । ‘पार्सल’मार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेकी सिर्जना भन्छिन्, ‘यो मेरो पहिलो चलचित्र हो । मिहिनेत पनि गरेकी छु । मिहिनेतअनुसार फल पाउँछु भन्नेमा विस्वस्त छु ।’

srizana-wanem
किशोर सम्बाहाम्फे सुब्बाद्वारा निर्मित ‘पार्सल’ यही २४ मंसिरबाट एकसाथ देशभरका सिनेमा घरमा लाग्दैछ । सिर्जना ‘पार्सल’कै प्रमोशनका लागि यतिखेर राजधानीमा छिन् । खुदुनाबारी झापाकी सिर्जनाले आफ्नो पहिलो अभिनीत चलचित्र ‘पार्सल’बारे स्क्रीन नेपालसँग भनिन्, ‘च्यारिटी शोहरुबाट रामै्र प्रतिक्रिया पाएँ, त्यसैले सिनेमा हलमा आएपछि दर्शकले ‘पार्सल’ रुचाउँछन् भन्ने मलाई लागेको छ ।’
सिर्जनाले कुराकानीकै क्रममा चलचित्र ‘पार्सल’को भित्रि कुराबारे पनि केही सुनाइन् । उनका अनुसार ‘पार्सल’ एक प्रेमात्मक तथा एक्शन चलचित्र हो । रविन श्रेष्ठ निर्देशित ‘पार्सल’ मा चेलीबेटी बचेबिखनबारेसमेत आवाज उठाइएको छ । तर, यहाँ पार्सल भन्नाले देश–विदेशबाट पठाएको कोशेली वा पठाउँनी भन्ने बुझिन्छ । यसबारे सिर्जनाले भनिन्, ‘चलचित्र शीर्ष कथा त्यही हो, तर पार्सल त्यतिमा मात्रै सिमित छैन ।’ सिर्जनाको भनाइअनुसार ‘पार्सल’ एक शुद्ध नेपाली चलचित्र हो, जसमा कुनै, कसैको कथा चोरिएको छैन, कपि भएको छ्रैन ।’

srijana
यी नवोदित नायिकाले आफू अभिनीत चलचित्रबारे त खुलेरै भन्ने भइन् किनकि माथि नै भनिएको छ कि यो उनको पहिलो सन्तान हो । तर, चलचित्र क्षेत्रमा उनको प्रवेश कसरी भयो त ? यसमा सिर्जनाले कुटनीतिक जवाफ दिइन् । ‘चलचित्र क्षेत्रमा आउँछु भन्ने सोचै थिएन’ उनले भनिन्, ‘आज नसोचेको क्षेत्रमा पाइला राखेकी छु ।’
उनका अनुसार कलाकारसमेत रहेका निर्माता किशोर सम्बाहाम्फेलगायत चलचित्र ‘पार्सल’ युनिट हिरोइनको खोजीमा थिए र, उनले अडिसन दिइन् । त्यो अडिसनबाट अग्लो ज्यान र सुन्दर रुपकी सिर्जना हिरोइनमा छनोट भइन् । सायद ‘पार्सल’ युनिटले सिर्जना जस्तै युवती खोजिरहेका थिए वा सिर्जना नै भाग्यमानी । स्क्रीन नेपालको प्रश्न, अग्ली र सुन्दर भएकै कारण ‘पार्सल’मा हिरोइन बन्ने अवसर मिलेको हो ? जवाफमा सिर्जनाले मुस्कुराउँदै भनिन्, ‘त्यसै भन्नुपर्ला ।’
‘पार्सल’मा अभिनय गर्नुअघि केही ¥याम्प शोहरुबाहेक उनलाई कला क्षेत्रको खाशै जानकारी थिएन । ‘मिस झापा–२०१४’ मा सहभागी बनेपछि -याम्प शोमा आएको बताउँदै सिर्जनाले भनिन्, ‘तर, मलाई अभिनय गर्न पनि गाह्रो भएन ।’ चलचित्र छायांकन अघि ‘वर्कशप’ गराएकाले पनि आफूलाई अभिनय गर्न गाह्रो नभएको सिर्जनाले सुनाइन् ।

आफ्नो ज्यान र रुपले समेत सिर्जनालाई कलाकारितामा साथ दिएको छ । तर, उनी ‘पार्सल’ को रेश्पोन्सको पर्खाइमा छिन् । उनले भनिन्, ‘हेरौं, पार्सलबाट कस्तो प्रतिक्रिया आउँछु । त्यसैअनुसार मेरो कलाकारिताको यात्रा अगाडि बढ्छ ।’ तर, उनको अपेक्षा छ, ‘पार्सल सबै वर्गका दर्शकले रुचाउँनेछन् ।’ उनका अनुसार कलाकारिताप्रतिको भविष्यको निर्धारण ‘पार्सल’ले नै गर्नेछ ।

चलचित्रमा सिर्जना लाहुरेको एक्लो जिद्धि छोरीको भूमिकामा देखिँदैछिन् । तर, रियल लाईफचाहिँ उनी लाहुरेकी छोरी परिनन् । वास्तविकता भन्दा पर गएर अभिनय गर्दा कस्तो अनुभव भयो होला त उनलाई ? सिर्जना भन्छिन्, ‘साधारण, खाशै फरक केही पाइनँ ।’
सिर्जनाको बयानअनुसार ‘पार्सल’ सबैको घर–घरमा पुग्नेछ । र, लाहुरेकी जिद्धि छोरीको तारिम हुनेछ, वाह, ‘पार्सल’ । हेरौं, दर्शकले यसो भन्छन् वा भन्दैनन्, त्यो समय आउनलाई ठ्याक्कै साता दिनमात्र छ ।

Comments