‘ज्यानमात्रै अमेरिका ! मन–तन नेपाली माटो र संगीतमै’
screennepal
प्रकाशित: २०७३, १६ मंसिर बिहीबार
no img

-एमपी सुब्बा

काठमाडौं, १६ मंसिर ।  ईलामेली गायक दीपेन गुरुङले ‘प्रतिक’ नामक एल्बम ल्याएको खाशै धेरै भएको छैन । तर, उनी अहिलेबाटै अर्को एल्बमको तयारीमा जुटेका छन् । साता महिनाको अमेरिका बसाईपछि नेपाल फर्केका दीपेनले भने, ‘परिवारिक भेटघाट र तेस्रो एल्बमको तयारी गर्न नेपाल आएको हुँ ।’

dipen
‘कान्छी मट्याङट्याङ’ बोलको गीतलाई रिमेकमा गाएपछि चर्चामा आएका दीपेनले आफ्नो दोस्रो एल्बमका रुपमा ‘प्रतिक’ ल्याएका थिए । एल्बम सार्वजनिक गरेलगत्तै अमेरिका हानिएका उनी भन्छन्, ‘बाध्यताले एल्बम ल्याउँनेवित्तिकै अमेरिका लागेँ । त्यसैले सोचेजस्तो ‘प्रतिक’को प्रमोशन गर्न पाइनँ ।’ उनले प्रमोशन नगरेपनि एल्बमको ‘गरिबको मायाँ’ बोलको गीत भने चर्चित बन्यो अर्थात् उक्त गीत श्रोता तथा दर्शकले रुचाए । यस गीतबारे दीपेन भन्छन्, ‘जे होस् गरिबको मायाँ गीतले श्रोताको मन छोएको छ ।’
नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुलिरहेकै बेला अमेरिका लागेका दीपेन क्यालिफोर्नियामा बस्छन् । अमेरिका जानुलाई उनी आफ्नो बाध्यता ठान्छन् । परिस्थितिले उनलाई अमेरिका पु¥याएको हो । तर, जब अमेरिकी माटो टेके, तब नेपाली माटो र गीतसंगीतको यादले आफूलाई सताएको उनी बताउँछन् । ‘देशप्रतिको मायाँ बुझ्न विदेश जानु पर्दोरहेछ’ उनले भेटमा भने, ‘अमेरिका पुगेपछि त्यो मलाई महशुस भयो । अझ आफ्नो क्षेत्रको त याद नहुने कुरै भएन ।’

dddd
करिब एक दशकदेखि नेपाली गीतसंगीतमा आफूलाई समर्पित गर्दै आएका दीपेनले उता पनि गायनलाई निरन्तरता दिने बताए ।

‘म गीतसंगीतबाट अलग हुनै सक्दिनँ’ एक प्रशंगमा उनले भने, ‘म अमेरिकामा पनि नेपाली गीतसंगीतप्रति नजिक भएर बस्नेछु ।’ तर, भनेजस्तो सजिलो भने छैन अमेरिका किनकि, अमेरिका व्यस्तहरुको देश हो । त्यसमाथि क्यालिफोर्निया अमेरिकाको औधोगिक राज्य अर्थात् सहरमध्ये एक मानिन्छ । यस्तो व्यस्त सहरमा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिइरहने दीपेन बताउँछन् । उनी भन्छन्, ‘काम एकतिर छ, रहर र इच्छा एकातिर हुन्छ । काममा व्यस्त भएँ भन्दैमा मनको इच्छा मार्न सकिन्नँ ।’
हुन पनि हो । भनिन्छ, जहाँ इच्छा, त्यहाँ उपाय । अमेरिका प्रस्थानपछि दीपेनको सांगीतिक यात्रामा यही भनाई चरितार्थ भएको छ । संगीतप्रतिको इच्छा र चाहनाकै कारण उनी सात महिनमै नेपाल आए । र, तेस्रो एल्बमको तयारी गर्दैछन् । दीपेन भन्छन्, ‘यसपटक एल्बमका लागि तीन वटा गीत तयार बनाएर जान्छु । अर्कोपटक आएर एल्बम पूरा गर्छु ।’

यो वर्षभित्र आफ्नो तेस्रो एल्बम श्रोतालाई सुम्पिने उनको सोच छ । एल्बम तयार गर्न आएका दीपेन दुई महिनापछि अमेरिका नै फर्कँदैछन् । उता हँदा पनि स्टेज कार्यक्रमहरुमा सहभागी भएर गीतसंगीतमा उपस्थिति जनाइरहने उनले बताए ।

दीपेनले भने, ‘म गीतसंगीतबाट टाढा रहन सक्दिनँ । नेपालबाट टाढा भएपनि मेरो मन र तन नेपाली माटो र नेपाली गीतसंगीतमै अडिक छ ।’ कलाप्रति लगावकै कारण नेपाल आएको बेला राजधानीमा आफ्नो पहलमा ईलाम कलाकार मञ्चको गठन गरेको समेत बताए ।

Comments