प्रदर्शनीमा समुन्द्रमानका ७१ चित्रहरु
screennepal
प्रकाशित: २०७३, १७ जेष्ठ सोमबार
no img

काठमाडौं । चर्चित युवा कलाकार समुन्द्रमान सिंह श्रेष्ठको ऐतिहासिक परम्परागत पौभा कलाको एकल प्रदर्शनीको आइतबारबाट नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको छ । बोधिसत्व ग्यालरीको आयोजनामा सुरु भएको प्रदर्शनीको उद्घाटन नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले गर्दै नेपाल कला र संस्कृतिमा सम्पन्न मुलुक भएकाले यो देश विश्वका मानिसका लागि आकर्षकणको केन्द्र रहेको राजदूत कार्मोनाले बताए ।
नेपाली परम्परागत कला क्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील रूपमा लाग्दै आएका समुन्द्रमानको यो पहिलो एकल कला प्रदर्शनी हो । राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय रुपमा भएका दजनौं सामूहिक कला प्रदर्शनीमा सहभागी उनले विभिन्न संघसंस्थाबाट दर्जनौ पुरस्कार तथा सम्मान समेत पाइसकेका छन् ।

samundra exhibition07
उनले दुई दशक अघिदेखि बनाएका ७१ कलाकृति प्रदर्शनाीमा राखिएका छन् । परम्परागत कलाको एकल कला प्रदर्शनी नेपालमा विरलै भएको पाइन्छ । एउटै चित्र बनाउन बर्षौ लाग्ने र धेरै चित्र बनाई एकल प्रदर्शनी गर्नु निकै कठिन काम हो । यस्तो परिवेशमा कलाकार श्रेष्ठका छ दर्जनजति कलाको एकैचोटि प्रदर्शनी गर्नु पनि निकै कठिन कार्य हो । जुन कार्य बोधिसत्व ग्यालरीले सँभव तुल्याएको छ । ग्यालरी सञ्चालक पूर्णमान शाक्य र अञ्जना शाक्यको संकलनमा रहेका ४४ वटा चित्र र बाँकी चित्र अन्य सातजना कला संकलकबाट कलाकृतिल्याई प्रदर्शनीमा राखिएको छ ।

samundra exhibition17
७१ कलाकृतिमध्ये ९ वटा चित्र नेपालबाट बेलायत, जर्मनी, अमेरिकाका कला संकलकसँग रहेका श्रेष्ठका चित्र पनि ग्यालरी सञ्चालकले खरीद गरी नेपाल ल्याइएको छ । नेपालका चर्चित युवा श्रेष्ठका चित्र नेपाल ल्याई नेपाली कला पारखीका लागि प्रदर्शनीमा राख्नु नेपालकै लागि महत्वको विषय हो । यस प्रदर्शनीका क्यूरेटर तथा कलाविद् डा. डीना बाङ्देलले कलाकार श्रेष्ठका कलाबारे भने, ‘नेपाली परम्परागत पौभा चित्रकलालाई समसामयिक दृष्टिकोणमा एकैस्थानमा श्रेष्ठका मौलिक चित्रहरु प्रदर्शन गरेको हेर्न पाउनु सुवर्ण अवसरको रुपमा हामीले लिनुपर्दछ ।’

samundra exhibition04
त्यस्तै धार्मिक यथार्थवादी शैलीमा समसामयिक सन्दर्भ समेत जोडेर पौभामा नयाँ आयाम दिने प्रयास उनले गरेका छन् । डा. बाङ्देल भन्छन्, ‘कलाकार श्रेष्ठका कलाकृतिहरुमा मग्न भएर सबै सम्भव भएजति कलाकृतिहरुको संकलन गर्नु आफैमा निकै सराहनीय काम हो । जसका कारण नेवार सम्पदा र संस्कृतिको उत्थानका लागि कला संकलक पूर्ण शाक्यको यो कार्य नेपाली समाजमा उदाहरणीय रहनेछ ।’ यसै सन्दर्भमा नेपाली कलामा सशक्त रुपमा आफूलाई उभ्याउन सफल कलाकार समुन्द्रमान सिंह श्रेष्ठको प्रदर्शनीको आयोजना गरेका हौं,’ ग्यालरी सञ्चालक तथा कला संकलक पूर्णमान शाक्यले बताए ।
‘यो प्रदर्शनीमा मेरा विगत दुईदशक अघिदेखिका कलाकृति राखिएको छ । परम्परागत क्षेत्रका कलाकारलाई सुरुदेखिका कलाकृति संकलन गरेर प्रदर्शनी गर्नु गाह्रो विषय हो किनभने धेरैजसो चित्र बिक्री हुने कारणले यसरी एकचोटि संकलन गरी प्रदर्शन गर्नु कठिन काम हो । तर बोधिसत्व ग्यालरीले सम्भव भएजति कलाकृति विभिन्न देशबाट संकलन गरेर यो प्रदर्शनी सम्भव तुल्याएको छ ।’
कार्यक्रममा ग्यालरी सञ्चालक अन्जना शाक्य, कला लेखक रोर्वट वियर तथा प्रज्वल शाक्यले कलाकार श्रेष्ठका कला र कला यात्राका बारेमा बोलेका थिए । प्रदर्शनीमा ‘बज्रपाणी भैरव’, ‘नृत्य मुद्राको शिवशक्ति’, ‘निराकार’, ‘महाँकाल भैरव’, ‘नृत्यमुद्राको गणेश’ लगायतका ७१ थान चित्र राखिएको छ । प्रदर्शनी जेठ २७ सम्म रहनेछ ।

Comments