‘पढ्नलाई प्रेरणा’ नारासहित पुस्तक प्रदर्शनी सुरु
screennepal
प्रकाशित: २०७३, १५ जेष्ठ शनिबार
no img

काठमाडौं । राजधानीको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा शुक्रबारबाट ‘२०औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०७३’ सुरु भएको छ ।

_MG_0142
प्रदर्शनीको सभामुख ओन्सरी घर्तीले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा पाँच दशकदेखि निरन्तर योगदान दिएकै भन्दै आयोजक संस्थाले अग्रज तीन जना नारी श्रष्टालाई सम्मान गरेको छ । साहित्यकार गीता केसरी, मायाँ ठकुरी र पद्मावती सिंहलाई ‘राष्ट्रिय स्रष्टा सम्मान–२०७३’बाट सम्मान गरिएको हो । उनीहरुलाई सभामुख ओन्सरीले सम्मान गरेकी थिइन् ।
आफु महिला भएको र अग्रज महिलालाई सम्मानित गर्न पाउँदा सभामुख घर्तीले खुसी व्यक्त गरिन् । पुस्तकले समाजलाई सही दिशा देखाउँदै उज्यालोतर्फ लैजाने धारणा सभामुख घर्तीले  बताइन् । २२ जेठसम्म चल्ने सो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको सफलताको कामनासहित उनले सो कार्यको प्रशंसासमेत गरिन् ।

_MG_0150
यस्तै, सम्मानित स्रष्टाका तर्फबाट मायाँ ठकुरीले आफुहरु गृहिणी, पत्नी र आमा भएर पनि सहित्य सृजनामा लागि रहेको र यस्ता सम्मानले थप प्रेरणा मिल्ने गरेको बताइन् ।
ग्लोबल एक्सपोजिशनले नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको सहकार्यमा प्रदर्शनीको आयोजना गरेको हो । महासंघका अध्यक्ष हरिप्रसाद अर्यालले लेखक, पाठक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका पुस्तक प्रकाशक र बितरकलाई एउटै थलोमा ल्याउन प्रदर्शनीको आयोजना गरिएको बताए ।
‘पढ्नलाई प्रेरणा’ नारासहित सुरु भएको प्रदर्शनी हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ः३० सम्म सञ्चाल हुने ग्लोबल एक्स्पोजिशनका कार्यकारी निर्देशक सन्तोष क्षत्रीले बताए । उनका अनुसार स्वदेशी र बिदेशी गरेर ६० भन्दा बढी चलेका प्रकाशक तथा वितरकले यो प्रदर्शनीमा सहभागी जनाएका छन् ।
प्रदर्शनी स्थलमा एक सयभन्दा बढी स्टलहरु रहेका छन् । बिदेशी प्रकाशकअन्तर्गत अक्फोर्ड, क्याम्ब्रिज, पेन्गुइन, रेन्डम बुक हाउस, टेलर एन्ड फ्रान्सेस्, न्यु एज इन्टरनेशनल, एक्ज्याक्ट, हार्पर कलिङस्लगायत विभिन्न प्रकाशकका स्टलहरू प्रदर्शनीमा छन् । नेपालका नाम चलेका सबै प्रकाशन गृहका प्रदर्शनीमा सहभागी छन् ।
प्रदर्शनीमा दैनिक आठदेखि १० हजार र बिदाको दिन तथा शनिबार १५ हजारसम्म पुस्तक प्रेमीको आगमन हुने आयोजकको अनुमान छ ।

Comments