आर्ट काउन्सिलमा कृष्ण र कृष्णमायाका चित्रहरु
screennepal
प्रकाशित: २०७३, १४ जेष्ठ शुक्रबार
no img

काठमाडौं/ नेपाली कलाका क्षेत्रमा पछिल्लो समय निकै कलात्मक गतिविधि भइरहेका छन् । प्रायः हरेक दिन कला प्रदर्शनी तथा अन्य गतिविधिका कारण चलायमान कला क्षेत्र अहिले निकै तातेको छ । यसै सन्दर्भमा दुईजना युवा कलाकार कृष्ण लामा र कृष्णमाया सुवालका नेपाल आर्ट काउन्सिलमा छुट्टाछुट्टै कलादीर्घामा एकल कला प्रदर्शनी चलिरहेको छ । सोमबारबाट सुरु भएको सो प्रदर्शनी पाँचदिनसम्म रहनेछ ।

kk2
समाज र मानवीय प्रवृत्तिका विषयमा केन्द्रीत रही कलाकार लामाले बनाएका चित्रमा स्वप्निल विषयको प्रधानता रहेको पाइन्छ । उनका चित्रमा प्रकृति, पर्यावरण, राजनीति, समाज र मानव बीचको अन्तरसम्बन्ध र तिनका बीचको द्धन्द्धात्मक परिवेशलाई कलात्मक रुपमा चित्रण गरेको पाइन्छ ।

kk1
‘लाइट द्याट होल्डस् अ ड्रिम’ शीर्षकमा उनले सामाजिक तथा सांस्कृतिक विषय र मानवीय परिस्थितिका विषयलाई स्वरैकाल्पनिक रुपमा प्रस्तुत गरेका छन् । विश्वमा बद्लिँदो प्रविधिको प्रभाव र त्यसले मानवीय जीवनमा पारेको प्रभावलाई उतार्ने काम गरेको लामाले बताए । एक्रेलिक माध्यममा बनाइएका चित्रमा उनको सीपगत क्षमता र कलात्मक प्रस्तुति निकै आकर्षक रहेको छ । चित्रकलामा स्नातकोत्तर लामाले यसभन्दा अघि एकल कला प्रदर्शनी गरिसकेका छन् ।
त्यस्तै छापाचित्रणमार्फत प्रदर्शनीमा उनले समाजका यथार्थ र पारिवेशिक विषयलाई उठाएकी छन् । धर्म, संस्कृति, मानवीय मूल्य र मान्यतालाई चित्रका विषयमार्फत प्रस्तुत गर्दै उनले नारी संवेदनाका विषयलाई उठाउने कोसिस गरेकी छन् । चित्रकलामा स्नातकोत्तर सुवालले यस प्रदर्शनीमा आफुलाई सबल रुपमा प्रस्तुत गरेकी छन् । उनका उडकट प्रिन्ट निकै कलात्मक, आकर्षक तथा प्रस्तुतिका दृष्टिले निकै राम्रा छन् ।
‘कन्डिसनल काउन्टर फ्याकचुअलस्’ शीर्षकमा उनले नेपाली समाज, संस्कृति र धर्मका विषयलाई बिम्बका रुपमा लिई चित्र रचना गरेकी छन् । मानिसका व्यक्तिगत इच्छा र त्यसको सामाजिक सम्बन्धलाई उनले चित्रमा जोडने कोसिस गरेको बताइन् ।

Comments