सिलगुढीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी । ५ नेपाली कलाकार सहभागी
screennepal
प्रकाशित: २०७३, ९ जेष्ठ आईतवार
no img

– देवेन्द्र थुम्केली

भारत (सिलीगुढी) । सिलीगुढीस्थित कसमसस्थित आर्टमार्ट ग्यालरीमा अन्तर्राष्टिय कला प्रदर्शनी शनिबारदेखि सुरु भएको छ । नेपाल, बंगलादेश, भारत र भुटानका १६ जना कलाकार सहभागी प्रदर्शनीको डा. पीडी. भुटियाले उद्घाटन गर्दै कलाले मानव जातिलाई संमृद्ध पार्न कलाकै महत्वपूर्ण भूमिका रहेको बताए । नेपालबाट सो अन्तराष्टिय कला प्रदर्शनीमा पाँचजना कलाकारले सहभागिता जनाएका छन् । जरा फाउण्डेशन नेपाल, आर्टमार्ट ग्यालरी भारत र रुट फाउण्डेशन बंगलादेशको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी तीन दिनसम्म रहनेछ ।

silgidi, art (2)
अन्तर्राष्टिय रुपमा संस्कृतिमार्फत भाइचारा सम्बन्ध बढाउने उद्देश्यसहित यो कार्यक्रम गरिएको हो । कला, साहित्य, संगीत तथा संस्कृतिका क्षेत्रमा काम गर्ने उद्देश्यसहित नेपालमा स्थापित जरा फाउण्डेशनका तथा साहित्यकार अध्यक्ष कृष्ण प्रसार्इँले बताए । उनले भने, कला, साहित्य र संस्कृतिका माध्यमबाट सम्बन्ध बढाउन र सिर्जनामार्फत समाज, देश विश्वमा मानव जातिको हितमा लाग्न यस्ता कार्यक्रमले निकै सघाउ पुग्ने विश्वास गरिएको छ । समाजमा कलाको प्रभाव शक्तिशाली हुने भएकाले कला र कलाकारको महत्व बढ्दै गएको मिलन रुचालले बताए ।
ग्यालरीका संचालक शक्ति शर्माले कलाले मानव र समाजलाई जोड्ने गतिशिल माध्यम रहेको बताए । ‘कलाप्रति सबै मानिसलाई सचेत गराउने लक्ष्य लिएर सिलिगुढीमै पहिलोपटक अन्तर्राष्टियस्तरको प्रदर्शनी आयोजना गरिएको हो’, उनले भने ।
रुट फाउण्डेशन बंगलादेशका अध्यक्ष शेली सेन गुप्ताले मानिस मानिस बीच भाइचारा सम्बन्धलाई जोड्ने सशक्त माध्यम भनेकै कला र साहित्य रहेको बताउँदै उनले थपिन्, बंगलादेशमा पनि हामीले चारैदेशका कलाकार र साहित्यकारलाई बोलाएर कला र साहित्यको कार्यक्रम गर्ने प्रतिबद्दता जनाउँदछु ।

silgidi, art (1)
नेपालबाट सहभागी कलाकार नरेन्द्रबहादुर श्रेष्ठले अन्तर्राष्टियस्तरमा आपसी सम्बन्धलाई बिस्तार गर्न कलाले महत्वपूर्ण भूमिका हुने बताए । सो प्रदर्शनीमा नेपालबाट श्रेष्ठ, देवेन्द्र थुम्केली, केशव राज खनाल, अनिता खनाल भटट्राई र छितेन शेर्पा, बंगलादेशबाट मोहम्मद कौसर हुसैन, मोहम्मद रशेद अलाम, भुटानबाट पेमा ग्याल्छेन र दोर्जी ग्याल्छेन र भारतबाट कौसिक घोष, राजिव बाग, धिरज प्रधान, दीपा राई, रतन भट्टराई, टीका प्रधान र रमेश शाह रहेका छन् ।
त्यस्तै यही सन्दर्भमा चारदेशका साहित्यकारहरुले कविता वाचन गरेका थिए । अन्तर्राष्टिय साहित्यकारको जमघट भएको सो कवि गोष्ठीमा नेपालबाट कृष्ण प्रसाई, नरेन्द्रबहादुर श्रेष्ठ, बंगलादेशबाट शेली सेन गुप्ता, भुटानबाट दोर्जी ग्याछेन र भारतबाट डा. राजेन्द्र प्रसाद सिंह, उषा नन्दी, कालिका प्र. सिंह, देवेन्द्र नाथ शुक्ललगायत १२ जना कविले कविता वाचन गरेका थिए । त्यस्तै, नेपाली भाषी भारतीय मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, दीपा राई, भविलाल लामिछाने र लतिका जोशीले नेपालीमा कविता सुनाए ।

Comments