सानैमा कोरियोग्राफी, लक्ष्य नृत्यांगना बन्ने ! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १८ बैशाख शनिबार
no img

काठमाडौं । नृत्य नरुचाउँने यहाँ सायदै होलान् । सोनिया लिम्बू त नृत्यकै कारण आज सेलिब्रेटी बनेकी छन् । नृत्यमा पारंगत भएकै कारण सोनियाले ‘स्कुल प्रिन्सेस नेपाल–२०१५’ को ताज जित्न सफल भएकी थिइन् । यिनै १४ वर्षीया ‘स्कुल प्रिन्सेस नेपाल’ विजेता सोनियाले भविष्यमा कुसल नृत्यांगना बन्ने लक्ष्य रहेको सुनाइन् । ‘नृत्य र मोडलिङ मेरो रुचिको विषय हो’ उनले थपिइन्, ‘मोडलिङलाई रुचिकै रुपमा मात्र लिएपनि नृत्य मेरो लक्ष्य हो ।’

Soniya Limbu, screennepal (5)
आर.के इन्टरटेनमेन्टद्वारा आयोजित ‘स्कुल प्रिन्सेस नेपाल–२०१५’ मा शीर्ष उपाधि जितेपछि पाँच वर्षका लागि पूर्ण छात्राबृत्ति पाएकी सोनिया हाल क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन् । तर, उनी आफ्नो अध्ययनमा मात्र सिमित छैनन् । ग्ल्यामरस क्षेत्रमा पनि आफ्नो रुचि भएकाले उनी यसबारे विभिन्न गतिविधिमा संलग्न हुँदै आएकी छन् ।

Soniya Limbu, screennepal (6)
यतिखेर ‘स्कुल प्रिन्सेस नेपाल–२०१६’ को अन्तिम तयारी भइरहेको छ । अघिल्लो सिजनको विजेता भएका नाताले सोनिया यस प्रतियोगितासँग पनि नजिक भएर काम गर्दै आएकी छन् । २१ बैशाखमा ‘स्कुल प्रिन्सेस नेपाल–२०१६’ को अन्तिम फाइनल हुँदैछ, जुन प्रतियोगिताको उनले कोरियाग्राफीसमेत गर्दै आएकी छन् । सोनियाको कोरियाग्राफी खुबी देखर प्रतियोगितामा भाग लिइरहेका उनीजस्ता प्रतियोगीसमेत जिल्ल खाएका छन् । जिल्ल पर्नु स्वभाविकै पनि हो किनकि, कुनै पनि प्रतियोगिताको कोरियोग्राफी गर्नु आफैमा चानचुने कुरा होइन । त्यसमाथि पनि यति सानै उमेरमा १९ जना प्रतियोगीलाई ह्यान्डिलिङ गर्नु सोनियाको अजिब प्रतिभा मान्नुपर्छ ।

Soniya Limbu, screennepal (4)
स्टेज कार्यक्रम प्रस्तोताका रुपमा समेत पारंगत सोनिया भन्छिन्, ‘यो सिजनको प्रतियोगीहरुलाई समेत कोरियोग्राफी गर्दै आएकी छु ।’ हुन त प्रतियोगिताका लागि कोरियोग्राफी अर्कै छन् । तैपनि आफूले प्रतियोगिताबाट सिकेको ज्ञान र शिपलाई सदुपयोग गर्न गरेकी सोनिया बताउँछिन् ।

Soniya Limbu, screennepal (2)
त्यसो त सोनियाको रुचि कोरियाग्राफीमा पनि उत्तिकै छ । उनी भन्छिन्, ‘कोरियोग्राफी गर्न सक्छु भन्ने यसै प्रतियोगिताबाट थाहा भयो । तर, अहिले नै यसै क्षेत्रलाई पूर्ण समय दिन सक्दिनँ किनकि मेरो पढाई पनि छ ।’ एसएलसी उतिर्णपछि ग्ल्यामरस क्षेत्रमा आफ्नो सक्रियता बढाउने उनी सुनाउँछिन् ।

Soniya Limbu, screennepal (3)
प्लस–२ सम्म फूल स्कलरशीप पाएकी सोनियाले भनिन्, ‘म अहिले जुन स्थानमा छु, त्यसमा मेरो स्कुल र अविभावकको ठूलो देन छ । म उहाँहरुप्रति आभारी छु ।’ सोनियाले फिल्मी अभिनयमा समेत आफ्नो इच्छा भएको सुनाउँदै भनिन्, ‘नृत्य, मोडलिङ र अभिनय मेरो रुचिका विषय हुन् । त्यसबाहेक मलाई घुम्न पनि साह्रै मनपर्छ ।’ ‘स्कुल प्रिन्सेस नेपाल’ को उपाधि जितेपछि नाम र इज्ज्वत कमाएको भन्दै उनले भनिन्, ‘यो प्रतियोगितामा भाग लिएपछि धेरै कुरा सिक्न पाएँ ।’ सोनियाले अहिलेसम्म औपचारिक रुपमा नृत्यको प्रशिक्षण लिएकी छैनन् । प्रतियोगिताको समयमा गरेको नृत्य प्रशिक्षणबाटै धेरै सिक्न भ्याएको बताउँदै उनले भनिन्, ‘त्यसैले भविष्यमा पनि नृत्यबाट नाम कमाउँने मेरो सोच छ । भविष्यको कुरा हो, समयले साथ दिएमा फिल्ममा पनि अभिनय गर्न सक्छु ।’  तस्बिर : शिवलाल श्रेष्ठ, तस्बिर स्टुडियो, बागबजार प्लाजा

Soniya Limbu, screennepal (1)

Comments