‘भावभंगीमा कला’बारे कार्यशाला
screennepal
प्रकाशित: २०७२, १४ चैत्र आईतवार
no img

काठमाडौं । कलामा नयाँ–नयाँ आयाम र विधा थपिदै गएको पाइन्छ । प्रविधि र सञ्चारको चरम विकासले कलाका विधा र शैलीमा फरकपन ल्याइरहेको छ । जटिलताबाट सरलतातिर लैजान कलाकारले कलालाई पनि सरलीकरण गर्दै लगेका हुन् । यसै सन्र्दभमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले प्रतिस्थापन तथा भावभंगीमा कलाबारे गैडाकोट नवलपरासीमा दुईदिने कार्यशाला तथा गोष्ठी सम्पन्न गरेको छ । नेपालमा कलाका यी नयाँ आयामले निकै गति सलएको पाइन्छ ।

DSC_0831
दुईदिने सो कार्यक्रमको उद्घाटन कलाकार साहित्यकार गोविन्दराज विनोदीले एक समारोहका बीच गर्दै राष्ट्रलाई पहिचान दिने काम कला, साहित्य र संंगीतले गरेको बताए । उनले भने, ‘यी विधाको विकासमा राज्यले विशेष ध्यान दिनुपर्छ । यी क्षेत्रमा अत्यन्त कम बजेट छुट्टाएको छ भने कम प्राथमिकतामा यी क्षेत्रलाई राखेको छ ।’ चितवनमा बसेर कलाकर्म गर्दै आएका कलाकार प्रकाश थापाले कलाका नयाँ विधा र आयामको बहसले विश्वमा चलेका बहस स्थानीय स्तरमै थाहा पाउने अवसर पाएको बताए ।
प्रतिष्ठानका विभागीय प्रमुख नारदमणि हार्तम्छालीले प्रतिस्थापन कला तथा पफर्मेन्स आर्टसम्बन्धी छलफलले यो कलाको विषयलाई फराकिलो बनाउन र विश्व परिवेशलाई आफ्नो अनुकूलमा ल्याई यसको आयामलाई फराकिलो बनाउन सहयोगी हुने बताए ।

DSC_0863
देवेन्द्र थुम्केलीले कला रचनामा माध्यमको सीमाबाट बाहिर निस्केर कलाकारले आफूलाई अभिव्यक्त गरिरहेको बताए । उनले थपे, ‘कला बनाउने प्रक्रिया सरल र सबैको पहुँचसम्म पुग्ने वातावरण बनिरहेको छ । कलामा देखापरेका नयाँ आयामले कलालाई बिकेन्द्रीत गर्न सघाउँ पु¥याएको ।’ सहजकर्ता प्राज्ञ नगेन सिंहले प्रतिस्थापन र भावभंगीमा कला बारे चर्चा गरेका थिए । त्यस्तै अर्का सहजकर्ता सौरगंगा दर्शनधारीले प्रतिस्थापन र भावभंगीमा कलाको ऐतिहासिक तथा विश्वमा चलेको आन्दोलन र नेपालमा यसको अवस्थाका बारेमा चर्चा गरेकी थिइन् । कार्यक्रमका संयोजक प्राज्ञ सभापति लालकाजी लामाले राज्यबाट चितवन नवलपरासी लगायतका क्षेत्रमा ध्यान दिन नसकेको बताए । उनले थपे, ‘यहाँ कलाका गतिविधि कमै मात्रैमा भएका छन् । यस्तो परिवेशमा पनि हामीले प्रयत्न गरेर देशका विभिन्न स्थानका कलाकारलाई सहभागी गराई कार्यक्रम गर्ने प्रयत्न गरिरहेका छौं ।’
दुईदिने कार्यक्रममा एकदिन प्रशिक्षण र अर्को पदन सहभागीले कला रचना गरेका थिए । २५ जना सहभागी रहेको सो कार्यशालामा सबै सहभागीले प्रतिस्थापन तथा भावभंगीमा कला बनाएका थिए । तीमध्येबाट ६ जनालाई पुरस्कृत गरिएको विभागीय प्रमुख हार्तम्छालीले बताए । पुरस्कृत हुनेमा सुरक्षा वाग्ले, राजु श्रेष्ठ, शैलेश गुरुङ र दामोदर बराल(संयुक्त), प्रमिला तामाङ र खुशीराम बिके रहेका छन् । चैत ११ र १२ दुईदिनसम्म रहेको सो कार्यशाला तथा गोष्ठीलाई कलावती आर्ट गार्डेन र एसपिएम कलेजले व्यवस्थापन गरेको थियो ।

Comments