निर्देशनमा व्यस्त हुँदै संगीतकार ओमप्रकाश (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ११ माघ सोमबार
no img

काठमाडौं । संगीतकार तथा गायक ओमप्रकाश राई पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा जम्न थालेका छन् । संगीतकर्ममा साढे दुई दशक बिताइसकेका ओमप्रकाशले एक महिनाकै अवधिमा एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । सयौं गीतमा संगीत गरिसकेका ओमप्रकाश भन्छन्, ‘म्युजिक भिडियो निर्देशन गर्नु मेरो रहर होइन, साथीभाईले कर गरेपछि गरेको हुँ ।’ तर करैकरमा भए पनि उनले दर्जन म्युजिक भिडियो निर्देशन गर्न भ्याइसकेका छन् ।

om
ओमप्रकाशले हालसम्ममा एक दर्जनभन्दा बढी सोलो एल्बममा संगीत दिएका छन् । तिनै संगीतकार ओमप्रकाश हिजोआज म्युजिक भिडियो निर्देशकका रुपमा छाएका छन् । हालै मात्र ओमप्रकाशले गायक तथा गीतकार मदनकुमार राईको ‘तिर्खा’ एल्बमको चार गीतको भिडियो निर्देशन गरेका छन् । ‘तिर्खा’ को संगीतकार पनि ओमप्रकाश नै हुन् । ‘तिर्खा’ मा सेर्बा राईको एकल शब्दरचनामा गाउँकी गोरीले, त्यो कान्छीको मुहारै राम्रो, तिम्रो जस्तो दुईटा मुटु र कर्कलाको पानी हो जीवन बोलका गीत रहेका छन् ।

ओसिन म्युजिक नामक म्युजिक कम्पनी समेत सञ्चालन गर्दै आएका ओमप्रकाशले आगामी दिनमा म्युजिक भिडियो निर्देशनलाई पनि निरन्तरता दिने बताए । ‘संगीतकर्ममा झण्डै दुई दशक विताइसकेँ’ उनले भने, ‘अब म्युजिक भिडियो निर्देशनलाई पनि अगाडि बढाउने छु ।’ म्युजिक भिडियो निर्देशनसँगै ओमप्रकाश हिजोआज संगीत सिर्जनामा पनि व्यस्त छन् । ओमप्रकाश यति व्यस्त संगीतकार हुन् कि उनले साता दिनमा सात एल्बम समेत तयार गरेका छन् । दैनिक एउटा गीत कम्पोज गर्दै आएका ओमप्रकाशले भने, ‘म संगीत गुरु पनि हुँ, त्यसैले मेरा चेलाहरुले गर्दा पनि संगीत सिर्जनामा व्यस्त भएको हुँ ।’ अहिले पनि केही संगीतका विद्यार्थीलाई प्रशिक्षण दिँदै आएको उनले बताए । धरानबाट सांगीतिक करिअर प्रारम्भ गरेका ओमप्रकाशले निकट भविष्यमै चलचित्र निर्देशन गर्ने समेत योजना बनाएका छन् ।

Comments