सञ्चारकर्मी ढुंगानाले ल्याए ‘वैशाख १२’
screennepal
प्रकाशित: २०७२, १९ आश्विन मंगलवार
no img

काठमाडौं । बैशाख १२ भन्नेवित्तिकै धेरैको आङ नै सिरिंग हुन्छ । १२ बैशाखमा गएको विनाशकारी भूकम्पको त्रास अझै नेपालीको मनबाट हटेको छैन । यसैबेला संचारकर्मी तथा साहित्यकार गोपीकृष्ण ढुंगानाले ‘बैशाख १२’ ल्याएका छन् । ढुंगानाले बालकथा संग्रह ‘वैशाख १२’ ल्याउन लागेका हुन् । ढुंगानाले आफ्नो पाँचौं कृतिका रुपमा ‘वैशाख १२’ ल्याएका हुन् ।  उक्त बालकथा कृतिमा आयो…ऊ आयो, भाँचिएको मन, आधा खुट्टो, ज्यान जोगिएको जन्मदिन, भरोसा, अब के गर्ने र दोर्चे गरी सातवटा बालकथा समेटिएका छन् ।

baisha 12
कृतिमा भूकम्प आएपछि बालबालिकाहरु जे भए पनि भूकम्प आयो भनिरहने, काष्ठमण्डप र बसन्तपुर भत्किँदा मन भाँचिएको, भूकम्पले बस्ती नै भत्काएपछि अरुको भरपर्नु पर्ने अवस्था, घरबाट भाग्न खोज्दा बिमले किचेर खुट्टा भाँचिएको, जन्मदिनमा धरहरा हेर्न जाँदा धरहरा ढलेको, घरमा पूजाआजा हुँदा घरै ढलेर बुबाआमा र पाहुनाको निधन भए पनि बालिका बाँचेको र घर भत्किएपछि निधन भएका बुबाको काजक्रिया गर्दा लाग्ने खर्च तिर्न बालक गोठालो बसेको जस्ता विषयवस्तु समेटिएका छन् । बालकथाकार ढुंगानाले वैशाख १२ गतेको भूकम्पको परिवेश चित्रण गर्दै बालबालिकालाई भूकम्पमा कसरी बच्नेसम्मका सन्देश दिएका छन् ।
समग्रमा २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पमा भएका घटना एवं दुर्घटनालाई विषयवस्तु बनाएर तयार पारेको उक्त कृति स्वदेश प्रकाशनले बजारमा ल्याएको हो । भत्किएको धरहरा देखाइएको कृतिको आवरण प्रज्वल थापामगरले बनाएका हुन् भने कथाका भित्रि चित्र प्रिजङ गुरुङले बनाएका हुन् । अधिकांश कथाहरु सत्य घटनामा आधारित छन् भने समग्र कथाहरु बालमनोविज्ञानमा आधारित छन् ।

Comments