…जो अहिले चर्चामा छन्
screennepal
प्रकाशित: २०७२, ४ आश्विन सोमबार
no img

एमपी सुब्बा

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा यतिखेर गायक युवराज चौलागाईंको चर्चा छ । आफ्नो चर्चाले युवराज दंग छन् । उनी आफ्नो चर्चा बढेकोमा मात्र दंग भएका होइनन्, साता दिनमै अवार्डमा ‘ह्याट्रिक’ गरेपछि उनी फुरुंग भएका हुन् । चर्चासँगै उनको डिमाण्ड पनि बढ्न थालेको छ । कुनै समय संघर्षको दौरानमा संगीतकारको दैलो चाहार्दै हिँड्थे उनी, तर अहिले उल्टै संगीतकारहरूले उनको ढोका ढकढक्याउन थालेका छन् । दिन दिनैजस्तो आयोजना हुने सांगीतिक बजारमा दुई साताकै अवधिमा एउटै गीतबाट युवराजले तीन अवार्ड पाएका छन् । चलचित्र ‘नोभेम्बर रेन’ को शीर्ष गीत ‘तिमीलाई के भनुँ’ मार्फत ‘उत्कृष्ट पाश्र्वगायन’ मा ‘ह्याट्रिक’ गरेका युवराज भन्छन्, ‘यसपाली त मेरो अवार्डमा ह्याट्रिक नै भयो नि ।’ उनले कालिका एफएम अवार्ड, एनएफडिसी राष्ट्रिय अवार्ड र म्युजिक खबर म्युजिक अवार्डमा ‘उत्कृष्ट पाश्र्वगायन’ मा बाजी मारेका हुन् ।

yubraj
एउटै गीतले विभिन्न अवार्ड पाउन थालेपछि युवराज भन्छन्, ‘अवार्ड पाउनका लागि धेरै गीत गाउन नपर्नेरहेछ ।’ उनी यसै गीतबाट कतारमा हुन लागेको ‘नेफ्टा अवार्ड’ मा पनि ‘उत्कृष्ट पाश्र्वगायन’ मा उत्कृष्ट पाँचमा मनोनयनमा परेका छन् । उनी यस अवार्ड पनि आफ्नो पोल्टामा पर्नेमा ढुक्क छन् । ‘यही गीतले तीनवटा अवार्ड पाइसकेँ,’ युवराज भन्छन्, ‘अब नेफ्टामा कसरी नपाइएला त ?’
उनले ‘तिमीलाई के भनुँ’ गीतबाट फटाफट अवार्ड आफ्नो पोल्टामा पर्न थालेपछि उक्त गीतमा संगीतकार र ‘नोभेम्बर रेन’ का निर्माणपक्षलाई समेत सम्झिन थालेका छन् । यो अवार्ड पाउन भाग्यशाली गीतको संगीत ताराप्रकाश लिम्बूले गरेका हुन् । उनी सबैभन्दा धेरै ताराप्रकाशलाई धन्यवाद दिन चाहन्छन् । ‘युवराज भन्छन्, ‘संगीतकार ताराप्रकाश र चलचित्र निर्माणपक्षलाई यो मौकामा सम्झिन चाहन्छु । उहाँहरूले गाउने मौका दिएर यो स्थानमा ल्याउनुभयो ।’ उक्त गीत युवराजले गाउनुभन्दा पहिले अर्कै एक गायकले गाउने प्रयास गरेका थिए । तर, गीत हाइस्केलको भएकाले युवराजले मौका पाएका हुन् । सुरुमा गीत यस्तो धेरै हिट होला भनेर कल्पना नै नगरेको उनले बताए । ‘रेकर्डिङका क्रममा गीत ठीकै लागेको थियो,’ उनले भने, ‘तर यसरी एकछत्र रूपमा अवार्डको दाबेदार होला भन्ने कल्पना गरेको थिइनँ ।’

_MG_0814
हुन त गायक युवराजको उक्त गीतमात्र हिट भएको होइन, चलचित्र ‘हवल्दार सुन्तली’ को ‘तिम्रो डोला डोला हातमा’ बोलको गीत पनि दर्शक÷श्रोताले औधि रुचाएका छन् । यससँगै चलचित्र ‘छ एकान छ’ को गीत पनि निकै हिट छ । तर, यी गीत श्रोताले रुचाए पनि अवार्डको दाबेदार भने हुन सकेको छैन । त्यसैले कस्तो गीत अवार्डको दाबेदार बन्छ भन्ने पनि युवराजलाई कौतुहलता जाग्न थालेको छ । ‘अवार्ड हिट गीतले पाउँछ भन्ने थाहा छ,’ उनी भन्छन्, ‘तर, केही हिट गीतले पनि अवार्ड नपाएको अवस्था छ । त्यसैले कस्तो हिट गीतले अवार्ड पाउने होला भन्ने मलाई लाग्न थालेको छ ।’
यहाँसम्म आइपुग्दा युवराजले नेपाली सांगीतिक क्षेत्रमै एक दशक बढी बिताइसकेका छन् । यस अन्तरालमा उनले आफ्नै तीन एल्बम पनि ल्याइसकेका छन् । ०६३ सालमा ‘यु फिल’ नामक एल्बम ल्याएर गायनलाई औपचारिक रूपमा अँगालेका युवराजले पछिल्लो समय ‘शब्द’ ल्याएका छन् । त्यस बीचमा भने उनले ‘साँझपख’ नामक एल्बम श्रोतालाई पस्केका थिए । युवराजका हरेक एल्बमको शीर्ष गीत हिट हुँदै आएको छ अर्थात् श्रोताले रुचाउँदै आएका छन् । तैपनि पछिल्लो समय युवराज पाश्र्व गायकका रूपमा बढी चिनिन्छन् । युवराजका ‘लैजा चरी’, ‘हरेक शब्दको अर्थ हुन्छ’ जस्ता गीत चर्चित छन् ।

 नेपाली सांगीतिक क्षेत्रमा यतिखेर गायक युवराज चौलागाईंको चर्चा छ । आफ्नो चर्चाले युवराज दंग छन् । उनी आफ्नो चर्चा बढेकोमा मात्र दंग भएका होइनन्, साता दिनमै अवार्डमा ‘ह्याट्रिक’ गरेपछि उनी फुरुंग भएका हुन् । चर्चासँगै उनको डिमाण्ड पनि बढ्न थालेको छ । कुनै समय संघर्षको दौरानमा संगीतकारको दैलो चाहार्दै हिँड्थे उनी, तर अहिले उल्टै संगीतकारहरूले उनको ढोका ढकढक्याउन थालेका छन् ।

आफ्नो एल्बमका गीत हिट भए पनि चलचित्रका गीतबाट बढी चिनिँदै आएका युवराज भन्छन्, ‘चलचित्रको गीतलाई बढी प्रमोसन गरिएकाले पनि होला । चलचित्र र आधुनिक गीत दुवै मैले गाएका चर्चित छन् । तर, चलचित्रकै बढी यहाँ चर्चा भइरहेको पाउँछु ।’  त्यसो त युवराजले चलचित्र र आधुनिक गीत गाउन थालेको सँगै हो । उनी चलचित्र गीत पनि ०६३÷६४ बाटै गाउन सुरु गरेको बताउँछन् । अहिलेसम्ममा दुई दर्जनभन्दा बढी चलचित्रका गीतमा स्वर दिइसकेका युवराज भन्छन्, ‘अहिले पनि चलचित्रका गीतमै व्यस्त छु ।’ उनले गाएका चलचित्रमध्ये ‘नोभेम्बर रेन’, ‘थ्री लभर्स’, दिलमाया’, ‘हवल्दार सुन्तली’, ‘सम्झिराख है’, ‘छ एकान छ’, ‘किस्मत–२’, ‘अधकट्टी’ लगायतका गीत हिट भएका छन् । हालैमात्र उनले चलचित्र ‘ब्रास्लेट’ को शीर्ष गीत पनि गाएका छन् । उक्त गीत अर्को वर्ष हरेक अवार्डको दाबेदार हुने उनले अपेक्षा राखेका छन् ।’ गीत निकै राम्रो छ,’ युवराज भन्छन्, ‘यतिको गीत एक वर्षमा कमै बन्न सक्छ होला ।’ पाश्र्वगायनमै जम्न थालेपछि उनको प्राथमिकता पनि यसैमा हुन थालेको छ । उनी भन्छन्, ‘एल्बम निकाल्दा पैसामात्र खर्च हुन्छ, आम्दानी हुँदैन । चलचित्र गीत गाउँदा त पैसा र नाम दुवै कमाइन्छ ।’

Comments