हङकङमा मेनुकाको भिडियो शुट (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १८ भाद्र शुक्रबार
no img

काठमाडौं । गायिका मेनुका राईका लागि हङकङको सांगीतिक भ्रमण ‘पशुपतिको दर्शन सिध्राको व्यापार’ भनेजस्तै भएको छ । पहिलोपटक सांगीतिक प्रस्तुती पस्कन हङकङ पुगेकी मेनुकाले त्यहाँ आफ्ना दुईवटा गीतको म्युजिक भिडियोसमेत निर्माण गर्न भ्याइन् । ‘खोटाङ हलेसी साँझ’ मा सहभागी हुन गएकी मेनुकाले हङकङमा ‘जुनी–जुनीसम्म हाम्रो माया’ र ‘नजाउन भनी सधैंभरी’ बोलको दुई गीतको म्युजिक भिडियो निर्माण गरेकी हुन् । मेनुकाले भनिन्, ‘हङकङ जाने कुरा चलेदेखि नै म्युजिक भिडियो पनि सुट गर्ने योजना बनाएकी हुँ ।’ उनले आफ्नो गीतको भिडियो हङकङको विभिन्न रमणीय स्थानमा छायांकन गरेको बताइन् । उनका अनुसार जोर्डन फेदीलगायत समुद्री तटमा ती गीत छायांकन गरिएको छ ।

menuka 1
हङकङमा छायांकन गरिएका दुईवटै गीत मेनुकाको आफ्नो एल्बमको होइन । कलेक्सन एल्बममा गाएका गीतलाई म्युजिक भिडियो बनाएको उनले बताइन् । दुवै म्युजिक भिडियोमो निर्देशन हङकङमै बस्दै आएका संजोग राईले गरेका छन् । म्युजिक भिडियोको सम्पादन भने नेपालमै गर्ने मेनुकाले बताइन् । म्युजिक भिडियोमा तारा राई र संजोगले मोडलिङ गरेका छन् ।

menuka
‘माया आरिसे’ गीति एल्बममार्फत औपचारिक रुपमा गायनमा प्रवेश गरेकी मेनुका पछिल्लो समय चलेकी गायिकामा गनिन्छिन् । आफ्नो पहिलो एल्बमको शीर्ष गीतबाटै गायनमा चर्चा बटुलेकी मेनुकाले पछिल्लो समय ‘१, २, ३’ नामक एल्बम ल्याएकी छन् । जुन एल्बमको केही गीतले राम्रै चर्चा पाइरहेको मेनुकाले बताइन् । स्टेज कार्यक्रम र कलेक्सन एल्बमहरुमा गाउन व्यस्त रहेकी मेनुकाले भनिन्, ‘यसपटक तीजको गीत पनि गाउँदैछु । तर, तीज गीत भने मेरो आफ्नो होइन । साथीहरुले प्रस्ताव गरेपछि गाउने भएकी हुँ ।’

menuka rai
खोटाङ समाज हङकङले आयोजना गरेको ‘खोटाङ हलेसी साँझ’ मा मेनुकालगायत आधा दर्जन कलाकार प्रस्तुति पस्कन अघिल्लो साता हङकङ पुगेका थिए । उक्त टोलीमा चर्चित गायक राजेशपायल राई पनि थिए, तर राजेशपायलले भने त्यहाँ प्रस्तुति दिन पाएनन् ।

Comments