तिज गीतमा विकृति । गीतसंगीतमा पनि सेन्सरशीप आवश्यक छ : गायत्री
screennepal
प्रकाशित: २०७२, १० भाद्र बिहीबार
no img

gaytri

गीतकार तथा गायिका गायत्री थापा पछिल्लो समय यस्तो लोकप्रियताका कारण तिज गीतमा विकृति आएको बताउँछिन् । यसपालिको तिजका लागि ”माइतीको झल्को“ बोलको गीत ल्याएकी गायत्रीले चार वर्षयता निरन्तर उनका तिजका चार एल्बम आइसकेका छन् । विशेषगरी आधुनिक गीति लेखनमा जमेकी गायत्री आफै पनि गाउँछिन् । तर, उनी आफूलाई गीतकारकै रुपमा चिनाउन चाहन्छिन् । डेढ सयभन्दा बढी गीत रर्कड गराएर नेपाली सांगीतिक क्षेत्रमा एक कुसल गीतकारको परिचय बनाएकी गायत्रीसँग एमपी सुब्बाले गरेको कुराकानी ।

gaytri tapa

गीत लेख्न कहिलेदेखि सुरु गर्नुभयो ?
गीत त सानैदेखि लेख्थेँ । तर, रेकर्ड गर्न थालेको चाहिँ २०६७ बाट हो । डायरीमा थप्रै गीत थियो । त्यसबाट छनोट गरेर ‘सम्बन्ध नै टुटेपछि भेट्नुको के अर्थ’ बोलको गीत गायिका अञ्जु पन्तको स्वरमा रेकर्ड गराएँ । गीतले राम्रो चर्चा पनि पाएको थियो ।
तपाईलाई गीतकारको रुपमा चिनाउने गीत यही हो ?
मलाई गीतकारको रुपमा चिनाउने गीतचाहिँ ‘कस्तो हुन्छ मायाको डोरी’ हो । यो आधुनिक लोकगीत हो । देवी घर्ती र रामजी खाँडले गाएको यस गीतले गीतकारको परिचय मात्र दिएन, यसबाट पैसा पनि कमाएँ ।
लोक र आधुनिकमध्ये कुन गीत बढी लेख्नुहुन्छ ?
म आधुनिक नै बढी लेख्छु । अहिलेसम्म मेरो आधुनिक गीत ढेड सयभन्दा बढी रेकर्ड भइसकेका छन् । मलाई चिनाउने पनि आधुनिक गीत नै हो ।
तपाईंलाई पैसाले गीतकार भएको भन्ने पनि सुनिन्छ नि ?
पैसाले मान्छे कहिल्यै गीतकार बन्न सक्दैन । गीतकार हुन प्रतिभा र कला हुनुपर्छ । यदि पैसाले नै भएको भए यति लामो समयसम्म टिक्ने कुरै हुँदैन । आरोप लगाउन त जसले पनि पाइहाल्छ नि ।
तपाईका एकल एल्बमहरु पनि आएका छन् नि होइन ?
‘सपना’ र ‘माया प्राप्ती होइन’ नामका दुई एकल एल्बम ल्याइसकेकी छु । अहिले तेस्रो एल्बम ल्याउने तयारीमा छु । एल्बमको सबै गीत तयारी भइसकेको छ । अब नाम मात्रै जुराउन बाँकी छ । यसबाहेक तिज र भजन एल्बम पनि ल्याएकी छु ।
अहिलेसम्म तिजका कति वटा एल्बम ल्याउनुभयो ?
यसअघि ‘सुनको चुरा’, ‘रातो सारी’, ‘उठेर बसेर’ र ‘वर माग्छु शिवजीलाई’ जस्ता चार एल्बम ल्याएकी छु । यसपालिको तिजका लागि मैले ‘माइतीको झल्को’ ल्याएकी छु । तिजको मेरो पहिलो एल्बम ‘सुनको चुरा’ नै हिट भएको थियो । त्यसपछि मैले ल्याएका सबै तिज गीत श्रोताले रुचाए । मेरो तिज गीत सबै डान्सिङ बीटका हुन्छन् । त्यसैले पनि श्रोता रुचाउँछन् । तर, यसपटक भने मैले सेन्टिमेन्टल गीत ल्याएकी छु ।
डान्सिङ बीट छाडेर यसपटक किन सेन्टिमेन्टल नि ?
यसपटक १२ बैशाखमा गएको विनाशकारी भूकम्पले सबै नेपाली दिदीबहिनी नाच्ने मुडमा छैनन् । उनीहरुको मन रुएको छ । मेरो पनि मन रुएको छ । यस्तो अवस्थामा डान्सिङ बीटको गीत ल्याउन उचित ठानिनँ । मेरो बुबा पनि यस वर्ष वित्नुभएको छ । त्यसैले रोमान्टिक गीत ल्याउन मेरो मनै मानेन ।
यसपालीको तिजका लागि के योजना बनाउनुभएको छ ?
केही योजना बनाएको छैन । मेरो मनै खुसी छ्रन । भूकम्पले नेपाली दिदीबहिनीको मन रुवाएको छ । मेरो बुबा पनि यसै वर्ष वित्नुभएको हो । त्यसैले म यसपालिको तिजका खुसी छैन ।
तिजमा व्रत त बस्नुहुन्छ होला नि ?
व्रत त निरन्तर १७ वर्षदेखि बस्दै आएकी छु । म भगवान शिवजीको भक्त हुँ । हरेक सोमबार शिवजीको व्रत बस्दै आएकी छु ।
१७ वर्षसम्म व्रत बसेर तपाईंलाई भगवान शिवजीले के दिए ?
मलाईं सबैथोक दिएको छ । म यहाँसम्म आइुपुग्नु नै भगवान शिवजीको कृपाले हो । म भगवानप्रति आस्था र विश्वास राख्छु ।
तपाईं गाउनु पनि हुन्छ नि ?
हो, गाउँछु । गीत लेखन पर्दा पछाडिको कुरा हो । पर्दा पछाडिको मान्छे सधैं ओझेलमा परिँदोरहेछ । साथीहरुले पनि नामका लागि तिमीले गाउनुपर्छ भन्ने सल्लाह दिएकाले गाउन थालेकी हुँ ।
अहिलेसम्म आफ्नो स्वरमा कति गीत रेर्कडिङ गर्नुभयो ?
एक दर्जनभन्दा बढी गाइसकेकी छु । त्यसमा केही गीत चर्चामा पनि आएका छन् । फोन गर मायालु मिस कल नगर, देख्दै मन जलाउँने, के छ लोभ्याउने जाउँ मायाको, मायाले साह्रै घाइते पा-यो जस्ता गीत मैले गाएको चिर्चित छन् । तिज गीतहरु पनि गाउँदै आएकी छु ।
गाउने र लेख्ने दुवै गर्नुहुन्छ । तपाईको परिचय के हो ?
गीतकार हुँ म । गीति लेखनबाटै सांगीतिक क्षेत्रमा लागेकी हुँ । रहर र करले मात्र गाएकी हुँ । गाउन छाडे पनि लेख्न छाड्न सक्दिनँ ।
हिजोआजका तिज गीत कस्तो लाग्छ ?
मैले दोष लगाउन त मिल्दैन । तर, कता कता नेपालीपन हराएजस्तो लागिरहेको छ । पछिल्लो समय तिजका गीत टिभीमा हेर्दा बैराग लाग्छ ।
पहिले र अहिलेको तिजमा के फरक पाउनुहुन्छ ?
मैले जान्दादेखि यता नै आकाश–पाताल फरक छ । तिज नेपाली नारीहरुको धार्मिक तथा सांस्कृतिक पर्व हो । तर, हिजोआज त विकृति नै विकृति मात्र देखिन्छ । म आफै पनि तिज गीत लेख्छु । तर, तिजको गीत भन्दा लाज लागेर आउँछ ।
किन यस्तो भएको होला ?
यहाँ सस्तो लोकप्रियता चाहनेहरुको हावी भयो । अर्को कुरा अहिले कोठे गीत बन्न थाल्यो र गीतसंगीतमा मिहिनेत समेत हराउन थालेको छ, जसले सबैभन्दा बढी तिज गीतलाई बिगारेको छ ।
यस्तो विकृति नियन्त्रण गर्न के गर्नुपर्छजस्तो लाग्छ ?
विकृति नियन्त्रणका लागि सबैभन्दा पहिले कलाकार एक हुनुपर्छ । लोकसंगीत प्रतिष्ठानले सेन्सरशीप ल्याउनुपर्छ, जसमा सरकारको सहयोग गर्न आवश्यक छ ।
मार्गदर्शन दैनिकबाट

ga

Comments