नेपाली चलचित्रमा ‘कथै कमजोर’
screennepal
प्रकाशित: २०७२, ७ श्रावण बिहीबार
no img

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ र  अन्तरर्राष्ट्रिय कलाकार मञ्च कतारको सहकार्यमा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का लागि फिल्म हेर्ने काम सकिएको छ । बिहिबार सुन्तली र वन वे हेर्दै जुरीहरुले फिल्म हेर्ने काम सकाएका हुन् ।

jurry
करिब ४७ वटा फिल्म हेरिएको जानकारी आयोजकले दिएको छ । साउन १५ गते नेफ्टाले उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ । वकर इदको दिनमा अवार्ड कतारमा आयोजना हुनेछ । अवार्डका लागि जुरीमा नारायण पुरी, भरत शाक्य, विशेष श्रेष्ठ, विरेन्द्र हमाल, रक्षा सिंह राणा र करुण थापा थिए । उनीहरुले नेपाली फिल्ममा कथावस्तु, संवादमा सवैभन्दा कमजोरी रहेको औल्याएका छन् ।
जुरीमध्येका एक भरत शाक्यका अनुसार अझै पनि लेखन, कथावस्तु, पटकथाकै अभाव नेपाली फिल्ममा देखिएको छ । उनले कतिपय फिल्ममा यो कथामा किन फिल्म बनाइएको भन्ने पनि देखिएको बताए । पुराना भन्दा नयाँ फिल्मीकर्मीको शैली राम्रो रहेको उनको भनाइ छ । रंगमञ्चमा काम गर्नेको एक्सप्रेसन राम्रो भएपनि मुभमेन्ट नभएको उनले बताए ।
जुरी संयोजक नारायण पुरीका अनुसार हरेक विधामा आ–आफ्नै मापदण्ड बनाएर मुल्यांकन गरिएको छ । निर्देशकलाई हेर्दा उसको कथा भन्ने तरिका, कलाकारको छनोट र अभिनय गराउने शैली, क्यामेरालाई पात्र र बिषयअनुसार प्रस्तुत गर्ने शैलीलाई हेरिएको छ । यस्तै, निर्देशक आफूले रोजेको बिषयमा कति स्पष्ट छ ? भन्ने कुरा पनि मापदण्डमा राखिएको उनले बताए । हरेक विधामा यसरी नै मापदण्ड बनाइएको र त्यसैअनुसार हरेक जुरीले अंक दिएको पुरीले बताए ।
जुरीमध्येका अर्का एक विरेन्द्र हमालले पनि नेपाली फिल्ममा सोच, प्रस्तुती, पटकथा लगायतका कुरामा सबैभन्दा कमजोरी रहेको औल्याए । उनले कलाकारको अभिनयमा वास्तविकता नभएको गुनासो गरे । फिल्ममा वास्तविकता र द्धन्द्धको मिश्रण हुनुपर्ने भएपनि नेपाली फिल्ममा त्यो नदेखिएको उनको भनाइ छ ।
नेपाली फिल्मको सबैभन्दा सवल पक्ष प्राविधिक भएको जुरी करण थापाको आँकलन छ । उनका अनुसार प्राविधिक पक्ष उत्कृष्ट भएकाले मुल्यांकन गर्न केही अप्ठ्यारो हुनेछ । नेपाली फिल्म आयतीत सोच र आयतीत बिषयवस्तुबाट अझै बाहिर नगएकाले कथाको उठानमा समस्या देखिएको अधिकांश जुरीको भनाइ छ । तर, पनि यसपटकको नेफ्टा अवार्डमा केही विधामा चर्को प्रतिस्पर्धा हुने उनीहरुले बताए ।
साउन १५ गते मनोनयन सार्वजनिक गरेपछि अवार्डको अन्य तयारी थालिने संयोजक शिव पुरीको भनाइ छ । चलचित्र प्राविधिक संघले यसअगाडि मलेसिया र हङकङमा अवार्ड आयोजना गरेको  थियो । ५ सिजनसम्म भने देशभित्रै अवार्ड गरिएको थियो ।

Comments