‘मिस नेपाल युएस–२०१५’ को खोजी सुरु
screennepal
प्रकाशित: २०७२, २८ असार सोमबार
no img

काठमाडौं । ‘मिस नेपाल युएसए–२०१५’ का लागि सुन्दरी खोजी सुरु भएको छ । अमेरिकामा बसोबास गर्दै आएका र हाल अमेरिकामा रहेका नेपाली युवतीहरुमा लक्षित यस सौन्दर्य प्रतियोगिताका लागि १९ देखि २९ वर्ष उमेर समूहका इच्छुक युवतीले सहभागिताको लागि आवेदन फाराम आव्हान गरिएको छ । नेपालस्थित ई प्लानेटको सहकार्यमा अमेरिकाको इभेन्ट प्लानेट इन्कको आयोजनामा गएको चार वर्षदेखि ‘मिस नेपाल युएस’ हुँदै आएको हो । यसपटक नेपालमा हालै आएको महाभुकम्प पछिको असहज परिस्थितिलाई मनन गर्दै ‘मिस नेपाल युएस–२०१५’ ले ‘रिबिल्डिङ नेपाल’ को अवधारणा अँगालेको आयोजकले जनाएको छ ।

Miss Nepal US

‘मिस नेपाल युएसए–२०१४’ (फाइल तस्बिर)

यो कार्यक्रमलाई भूकम्पपीडित नेपालीहरुलाई राहत र पूनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यलाई प्राथमिकता दिइएको आयोजक पक्षले उल्लेख गरेको छ । साथै, अमेरिकास्थित नेपाली तथा अमेरिकी युवाबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने सेतुका रुपमा प्रतियोगितालाई अगाडि बढाउने उद्देश्य अनुरुप यसपटक १९ देखि २९ वर्ष उमेर समूहका अमेरिकी युवतीका लागि प्रतियोगिता अन्तर्गत ‘मिस नेपाल युएस एम्बेसडर’ शीर्षकअन्तर्गत प्रतिस्पर्धाका लागि सहभागिताको बाटो खुलाएको छ ।
आगामी अगस्ट २० देखि २२ सम्म अमेरिकाको न्युयोर्कमा हुने ‘मिस नेपाल युएस’ को पाँचौं संस्करणमा सहभागिताका लागि भने यही जुलाई २६ तारिखसम्ममा आवेदन फाराम भरिसक्नुपर्ने प्रावधान राखिएको छ । प्रतियोगिताका हरेक सहभागीले आफ्नो व्यक्तिगत पहलमा राहत संकलन गर्नुपर्ने प्रावधानलाई प्राथमिकता दिइएको यसपटकको प्रतिस्पर्धामा ‘मिस नेपाल युएस’ एवं ‘मिस नेपाल युएस एम्बेसडर’ उपाधि विजेताले १० हजार अमेरिकी डलरसम्मको पुरस्कार राशी हात पार्ने बताइएको छ । यसपटकको प्रतियोगिता मूलतः च्यारिटी, राहत संकलन, त्यसको पारदर्शिता र विश्वसनीयतामा प्रधानता रहने भएकाले प्रतियोगिताले युनिसेफ अमेरिकी फन्ड तथा नेपाल सरकारको प्रधानमन्त्री राहत कोषसित सहकार्य गर्ने पनि आयोजकले जनाएको छ  ।
‘मिस नेपाल युएस–२०१५’ को फाइनल प्रतियोगिताको संचालन चर्चित अमेरिकी संचार व्यक्तित्व किरण क्षेत्रीले गर्नेछन् भने प्रतियोगिताको ग्राण्ड फिनालेमा नेपाल सरकारको प्रधानमन्त्री राहत कोषका सद्भावना दूतसमेत रहेकी नेपाली बलिउड अभिनेत्री मनिषा कोइरालाको उपस्थिति रहने जनाइएको छ । प्रतियोगिताको कोरियोग्राफीको जिम्मेवारी नेपाली मुलकी बलिउड कोरियोग्राफर मोना हजारिकालाई दिइएको छ । मोनाले १९९८ मा भारतको ग्वालिएरमा सम्पन्न मिस युनिभर्सिटिको उपाधि जितेकी थिइन् भने त्यसताका थुप्रै मोडलिङ प्रोजेक्ट गरेको उनको अनुभव गरेको छ ।

Comments