आफ्नो मात्रै होइन, समाजका लागि मिडिया
screennepal
प्रकाशित: २०७२, २२ असार मंगलवार
no img

media 2

भक्तपुर । नेपाल परिवार दलका अध्यक्ष एवं सभासद एकनाथ ढकालले मिसन र नेतृत्व राज्य वा नेतालाई मात्र लागू नभई राज्यका सबै अंगमा हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार मञ्च र युनिभर्सल पीस फेडेरेसन नेपालको संयुक्त आयोजनामा ‘विश्वव्यापी रुपान्तरणको युगमा दृष्टिकोण र नेतृत्व उपलब्ध गराउँदै’ भन्ने शीर्षकमा नेतृत्व पंक्तिमा रहेका पत्रकारका लागि नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त विचार व्यक्त गरेका हुन् । उनले भने, मिसन र नेतृत्व भनेको राजनीतिकर्मी र सरकारलाई मात्र चाहिने कुरा होइन, बरु यो त राज्यका सबै अंगका लागि आवश्यक पर्दछ ।’ साथै, उनले मिडिया कर्मी र मिडिया हाउस पनि आफ्नै लागि मात्र नभई समाज र राज्यका लागि भएको बताए ।

media 1
संविधानसभामा प्रस्तुत संविधानको मस्यौदाका सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘विगत ७ बर्षको उपलब्धी भनेकै मस्यौदा हो । कुनैपनि डकुमेण्ट आफैंमा पूर्ण दस्तावेज होइन । मस्यौदामा वैचारिक, दार्शनिक एवं व्याकरणात्मक अशुद्धिहरु छन् । तर पनि अब संविधान जारी हुने कुरालाई कसैले रोक्न सक्तैन ।’ कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार एवं शिक्षाविद डा. रोबर्ट एस. किट्टेलले कार्यपत्र प्रस्तुत गर्दै मिडियाले समाजको अन्तश्चेतनाको काम गर्नु पर्ने जिम्मेवारी भएकोमा जोड दिए । उनले भने, ‘यहाँहरुले सकारात्मक र सृजनात्मक विकास र सम्पूर्ण जनतालाई शिक्षित बनाइरहेको छु भन्ने भावना बोकेर जिम्मेवारपूर्ण तरिकाले समाचार र विचार प्रवाह गर्नुपर्छ ।’

media
कार्यक्रममा विश्व शान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष सन्तोषकुमार पौडेलले अहिले संसारमा कृत्तिम विवेक प्रयोग भइरहेकोमा प्रत्रकारलाई सजग बनाउँदै मिडिया त्यो रुपमा प्रयोग नहोस् बरु मानवीय सुख, शान्ति र समृद्धि हासिल गर्नका लागि प्रयोग होस् भन्ने धारणा राखेका थिए । उनले विश्व प्रसिद्ध शान्तिवादी आध्यात्मिक नेता डा. सन म्योङ्ग मुनले वल्र्ड मिडिया एशोसियसनको उद्घाटनका क्रममा दिएको मन्तव्यमा मिडियाको उत्तरदायित्वको रुपमा सही मार्ग, सत्यवादिता र एकतालाई औंल्याएको प्रशंग चर्चा गर्दै मिडियाले व्यक्तिगत कुराहरु कट्याउनु भन्दा समाज उत्थान र प्रगतिलाई जोड दिएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । नेपाल पत्रकार संघका पूर्वकोषाध्यक्ष रमेश विष्टले नेपालमा आमसंचारको विकासको चर्चा संचार पत्रकारको कर्म भएको बताए । उनले भने, ‘हाम्रो कर्मलाई सकारात्मक र नकारात्मक प्रस्तुति भन्ने कुरा सरकारले बनाउने वातावरणमा भरपर्छ ।’
युनिभर्सल पीस फेडेरेसन नेपालका महासचिव विनोद डाँगीले पत्रकारिता समाजको आँखा हो भन्ने कुरामा जोड दिँदै ज्यान जोखिममा राखेर काम गर्ने सबै पत्रकारलाई धन्यवाद दिए । कार्यपत्र प्रस्तुत गर्दै विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका अन्तर्राष्ट्रिय प्रशिक्षक रिचेल हालिपाले एकअर्कासँग मिलेर बस्न र स्थिर सम्बन्धका लागि त्याग आवश्यक पर्ने बताए ।  कार्यक्रममा विश्व शान्ति युवा संघका अध्यक्ष तथा गीतकार प्रकाशबाबु थापा, विश्व शान्ति तथा एकीकृत परिवार संघका राष्ट्रिय प्रशिक्षक काशीनाथ खनाललगायत विभिन्न मिडिया हाउससँग सम्बन्धित ४० भन्दा बढी मिडियाकर्मीको सहभागता थियो ।

Comments