काउन्सिलमा ८२ कलाकारको परम्परागत मूर्ति
screennepal
प्रकाशित: २०७२, १७ असार बिहीबार
no img

देवेन्द्र थुम्केली

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभाग र सुमेरु कलाग्रामको संयुक्त आयोजनामा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा परम्परागत मूर्ति प्रदर्शनीको प्रदर्शनी गरिएको छ । ‘हाम्रो सम्पदाः हाम्रो परमपरागत मूर्तिकला प्रदर्शनी–२०७२’ नाम दिइएको सो प्रदर्शनीमा ८२ जना मूर्तिकारका मूर्ति प्रदर्शनीमा राखिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागीय प्रमुख धनबहादुर पाख्खाले बताए ।

sculpture123
‘पुनर्निर्माणका लागि ललितकला’ अभियानअन्तर्गत भूकम्पपीडित कलाकारको सहयोर्गाथ गरिएको सो प्रदर्शनीको उद्घाटन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले एक समारोहका बीच गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मन्त्री रिजालले भने, ‘भूकम्पबाट पीडित कलाकारको सहयोगार्थ गरिएको यो प्रदर्शनीले पक्कै पनि समाजमा नयाँ उर्जा प्रवाह गर्न भूमिका खेल्नेछ ।’ उनले थपे, ‘भूकम्पका कारण नेपालका नासिएका सम्पदाको पुनर्निर्माण नेपाली कलाकारले काम गर्न सक्ने सरकारको विश्वास रहेको छ ।’

sculpture 12
नेपाली परम्परागत कलाको इतिहास दुईहजार वर्ष पुरानो रहेको छ । यिनै कलाको ऐतिहासिक विरासतलाई धान्दै आएका कलाकारहरुको बृहद् मूर्तिकला प्रदर्शनीको आयोजना गरिएको हो । प्रस्तर, धातु, काठ तथा फिल्गिरी माध्यम प्रयोग गरी बनाइएका मूर्ति मौलिक नेपाली शैलीमा बनेका छन् । सम्पदाको पुनर्निर्माणमा कलाकारको भूमिका अहम् रहने भएकाले भत्किएका सम्पदालाई पुरानै अवस्थामा ल्याउन नेपाली कलाकार सक्षम रहेको सो प्रदर्शनीका संयोजक प्रदीप शाक्यले बताए । उनले भने, ‘नेपालमै अहिलेसम्मकै ठूलो पराम्परागत मूर्तिकला प्रदर्शनी गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।’ त्यस्तै सुमेरु कलाग्रामका अध्यक्ष राजकुमार शाक्यले भने, ‘अहिले भत्किएका र नासिएका सम्पदालाई जस्ताको तस्तै बनाउन हामी सक्छौं । तर सरकारले नेपाली कलाकारलाई प्राथमिकता दिनुपर्दछ । सम्पदा पनुर्निर्माणका लागि नेपालमै दक्ष कालिगढ छन् । नेपाली सिप र क्षमतालाई राज्यले पहिचान गरी पुनर्निर्माणमा कलाकारलाई राज्यले सहभागी गराउने आशा राखेका छौं ।’ उद्घाटन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय प्रदर्शनीमा राखिएका मूर्ति बिक्रीबाट उठेको रकममध्ये आधा भूकम्पपीडित कलाकारलाई प्रदान गरिने बताइन् । प्रतिष्ठानका मूर्ति कला विभाग प्रमुख धनबहादुर याखाले नेपालमा परम्परागत मूर्तिकलाको लामो इतिहासलाई प्रदर्शनी जोडेको बताउँदै भने, ‘प्रतिष्ठानबाट गरिएको अहिलेसम्मकै ठूलो पराम्परागत मूर्ति प्रदर्शनी हो र यसको उद्देश्य भूकम्प पीडित कलाकारको सहयोगार्थ रहेको छ ।’ प्रदर्शनी आगामी आइतबारसम्म रहने आयोजकले बताए ।

Comments