संविधानसभालाई कुनै पनि आदेश र फैसलाले छेक्दैन : ओली
screennepal
प्रकाशित: २०७२, ८ असार मंगलवार
no img

 काठमाडौं । राजनीतिकबृत्तमा एउटा भनाइ, ‘केपी ओलीले बोल्यो कि पोल्यो ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भाषणमा प्राय: उखानका टुक्काहरु मिसाउने गर्छन् । त्यस्ता टुक्का कम्ता गतलाग्दा हुँदैनन् । कतै न कतै तीर हानेकै हुन्छ टेक्काहरुले । तर, जेसुकै भनिए पनि अध्यक्ष ओली स्पष्ट धारणाका छन् भन्नेहरु पनि छन् । यस्तै, मंगलबार ओलीले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल काठमाडौमा ओर्लनवित्तिकै आफ्नो स्पष्ट धारणा राख्दै भने, ‘राष्ट्रपति पद सेरेमोनियल भएकाले कुनै पनि प्रकारको राजनीतिक दाउपेच गर्नुहुँदैन ।’ नियमित स्वास्थ्य परीक्षणपछि थाइल्याण्डबाट मंगलबार स्वदेश फकिर्नेक्रममा पत्रकारहरु कुरा गर्दै उनले राष्ट्रपति डा. रामवरण यादवलाई संवैधानिक हैसियत बस्नसमेत सुझाए ।

kpoli-11
राष्ट्रपति यादवले चार दलको १६ बुँदे सम्झौताप्रति असन्तुष्टि जनाउँदै साना दलहरुलाई उक्साएको र पछिल्लोपटक सर्बोच्चको आदेश मान्न दलहरु र संविधानसभालाई घुमाउरो ढंगले दबाव दिएकोमा प्रमुख दलहरु असन्तुष्ट बनिरहेका बेला ओलीले यस्तो तर्क अगाडि सारेका हुन् । उनले सर्वोच्च अदालतको पछिल्लो आदेश राजनीतिक र अन्य उद्देश्यबाट प्रेरित रहेको टिप्पणी गरे । ‘संविधानसभालाई कुनै आदेश र फैसलाले प्रभावित पार्न सक्दैन’ ओलीले भने, ‘संविधान चाँडै जारी हुन्छ । यसमा ढुक्क हुनुहोस् ।’

Comments