त्रास हटाउन म्यूजिकल थेरापी
screennepal
प्रकाशित: २०७२, २९ जेष्ठ शुक्रबार
no img

काठमाडौं । बैशाख १२ गते गएको विनाशकारी भुकम्पले तहसनहस बनाएपछि सम्पूर्ण क्षेत्र अस्तव्यस्त बन्दै आएको करिब डेढ महिना बितिसकेको छ । भुकम्पको त्रासमा सम्पूर्ण विद्यालयहरु बन्द भएपछि पठनपाठन ठप्प भएको थियो भने उद्योगधन्दा, कलकारखाना, कार्यालयहरु सबै बन्द भएका थिए । गत आइतबारबाट सञ्चालनमा आएका विद्यालयहरुमा पनि विद्यार्थीको चाप विस्तारै बढ्ने क्रम भएको छ भने अझै विद्यार्थीहरुमा भुकम्पको त्रास हट्न सकेको छैन । विद्यार्थीहरुमा भुकम्पको त्रास हटाउनका लागि नवोदित विद्याकुञ्जले शुक्रबार म्यूजिकल थेरापी कार्यक्रम सञ्चालन गरेको छ ।

shuvakamana pandit
आइतबारदेखि नियमित रुपमा विद्यार्थीहरुलाई विभिन्न रचनात्मक एवं मनोरञ्जनात्मक कार्यक्रम गरेर भुकम्पको त्रास हटाउँदै मनोवैज्ञानिक रुपमा सहज वातावरणमा ल्याउँदै गरिएको अवस्थामा नवोदित विद्याकुञ्जले म्यूजिकल थेरापीमार्फत भुकम्पको त्रास पुरै हटाउन सफल भएको छ । म्यूजिकल थेरापीमा गायक पशुपति शर्मा, रमेशराज भट्टराई, राजु गुरुङ, कला पंगेनी, भागिरथ चलाउने, दिपक खड्का लगायतका अभिभावक कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । पशुपतिले भुइँचालोको डर त्रास नमान्न आग्रह गर्दै मलाई अमेरिका यही, क्याम्पस पढ्न आउनी जस्ता गीतमार्फत् सांगीतिक मनोरञ्जन दिएका थिए भने रमेशराजले बबाल भो र टेन्सन भो जस्ता गीत गाए । कला पंगेनीले सरस्वीत पुकारिन् भने राजु गुरुङले आफ्नो तिते करेलीले, सालैजो जस्ता गीत गाएका थिए । दिपक खड्का के आयो जमाना गीत गाउँदै भुकम्पको चिठी पढेर सुनाएका थिए । त्यस्तै हाँस्य कलाकार एवं जादुगर शेरबहादुर गुरुङले विभिन्न जादु देखाएर मनोर१जन प्रदान गरेका थिए ।

shuvakamana

म्यूजिकल थेरापीमा विद्यार्थीहरुलाई भुकम्पका बारेमा प्रष्ट पार्दै स्कुलका भाइस प्रिन्सिपल विकासराज शर्माले स्वागत मन्तव्य दिएका थिए भने पत्रकार सुमन बैरागीले विद्यार्थीहरुको पठनपाठनलाई सहज वातावरणमा लैजान विद्यालयलाई अनुरोध गर्दै भुकम्पबाट बच्नुपर्ने धेरै कुरा स्कुलबाट सिक्नुपर्ने बताएका थिए । त्यस्तै विद्यालयका प्रिन्सिपल राजेन्द्र अधिकारीले अब सहज वातावरण बन्दै गएको र आफ्ना विद्यार्थीलाई सुरक्षित वातावरणमा पठनपाठन सुचारु गर्ने बताएका थिए । अधिकारीले भुकम्पको त्रास हटाउन विभिन्न जनचेतनामूलक कार्यक्रम, रचनात्मक कार्यक्रम एवं म्यूजिकल थेरापीका कार्यक्रमबाट भुकम्पको डर र त्रास हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
सोही अवसरमा जुनियर लिटल प्रिन्सेसको ताज चुम्न सफल भएकी सुप्रिमा भट्टराई र सेकेण्ड रनरअप भएकी इशा लम्साललाई सम्मान गरिएको थियो । कार्यक्रममा स्कुलका संस्थापक, अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

Comments