अनेसास र नाट्य प्रज्ञा प्रतिष्ठान अब सँगसँगै
screennepal
प्रकाशित: २०७२, २० जेष्ठ बुधबार
no img

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रिय अध्यक्ष पदम विश्वकर्मालाई अन्तर्राष्ट्रियस्तरमा नेपाली साहित्यको विकासमा टेवा पु¥याएको भन्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मंगलबार सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा देश–बिदेशमा अनेसास र प्रतिष्ठानले विभिन्न कार्यक्रम संयुक्त रुपमा गर्ने सहमति गरे । केही महिनाअघि नै अनेसासको अमेरिकाको कार्यक्रममा प्रतिष्ठानका कुलपति सरुभक्त र उपकुलपति शम्भुजीत बोसकोटालाई बोलाइएको थियो । तर, त्यत्तिबेला व्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नसकेपनि अब संयुक्त रुपमा संगीत नाट्य र साहित्यको कार्यक्रम गर्ने कुलपति सरुभक्तले बताए । ‘अमेरिकालगायत विभिन्न देशमा यस प्रतिष्ठानले संगीत तथा नाट्य कार्यक्रम गर्दै छ । साहित्यलाई समेत जोडेर ती स्थानमा प्रतिष्ठान र अनेसासले संयुक्त कार्यक्रम गर्ने छ’, कुलपति सरु भक्तले भने, ‘गीतसंगीत, नाटक र साहित्यको विकासमा अब हामीले स्वदेश तथा विदेशमा हातेमालोसहित कार्यक्रम गर्नेछौं ।’

IMG_3529
आफुलाई सम्मान गरिएकोमा अध्यक्ष विश्वकर्माले खुसी व्यक्त गर्दै भने, ‘३६ देशमा शाखा भएको अनेसासले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको साथ पाउँदा धेरै भन्दा धेरै काम गर्नेछ ।’ आगामी दिनमा अमेरिका, जापान, बेल्जियम र अष्ट्रेलियामा हुन लागेको अनेसासको सम्मेलनका लागि उनले प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञलाई निम्ता पनि दिए । भूकम्प पीडितका लागि राहत बाँडन उनी अमेरिकाबाट काठमाडौं आएका हुन । प्रतिष्ठानका उपकुलपति बास्कोटाले दुई सँस्थाको यो सम्बन्धले गीतसँगीत, नाटकसँगै साहित्यको विकाशमा पनि मद्धत पुग्ने बताए । नेपाली कला साहित्य र सँस्कृतिलाई एकिकृत रुपमा अघि बढाउनु पर्ने पनि उनले बताए । अनेसासका केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकालीले काठमाडौंमा भाषा साहित्य अध्ययन केन्द्र स्थापना गर्ने र त्यहाँ सँगीत नाटयका सामग्री राखिने पनि बताए । अनेसासले प्रतिष्ठानसँग मिलेर भूकम्प पीडितका लागि तत्कालै विभिन्न कार्यक्रम गर्ने पनि उनले बताए ।

Comments