निरुसँगै नाचे टुँडिखेलमा बालबालिका
screennepal
प्रकाशित: २०७२, १९ जेष्ठ मंगलवार
no img

काठमाडौं । हास्य अभिनेत्री निरु खड्का मंगलबार राजधानीस्थित सैनिक टुँडिखेलमा देखिँदा बालबालिका मख्ख परे । निरु अर्थात् चर्चित टेलिचलचित्र ‘मेरी बास्सै’की ‘ठ्यास कुमारी’लाई आफूसामू पाउँदा करिब डेढ सयको हाराहारीमा जम्मा भएका बालकालिकाले हौसिँदै भने, ‘आज हामी पनि निरुसँगै अभिनय गर्छौ ।’

IMGP0861

बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि टुँडिखेलमा त्रिपालको सहारा लिएर बसेका परिवार तथा बालकालिकाको त्रसित मनमा मनोवल बढाउने उद्देश्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘भूकम्पबारे जनचेतना तथा सांस्कृतिक कार्यक्रम’ मा बालबालिकालाई हँसाउन पुगेकी हुन् । तर, त्यहाँ जम्मा भएका बालबालिकाले मनोरञ्जन मात्र गरेनन्, उनीहरुले भूकम्प आउदा सर्तकता कसरी अपनाउने भन्ने विषयमा पनि धारणा राखे । कार्यक्रममा १० वर्षीया मनोज श्रेष्ठले गीत गाउनका साथै ‘मेरी बास्सै’ का कलाकार पाँडेको क्यारिकेचर पनि गरे । कार्यक्रममा कसैले गीत गाए भने कोही नाचेर रमाइलो गरेका थिए । ‘छलछल पानी’ बोलको गीत गुञ्जनेवित्तिकै बालकालिका निरुसँगै कम्मर मर्काएर नाच्न थाले । एक महिनाभन्दा बढी समयदेखि त्रिपालको बास गरिरहेका बालबालिकाले घरमा बस्दा नियमित ‘मेरी बास्सै’ हुर्ने गरेको भएपनि भूकम्प आएपछि हेर्न नपाएको बताए । ९ वर्षीया कृष्णा प्रधानले भनिन्, ‘मलाई मेरी बास्सै मनपर्छ । तर भूकम्प आएपछि हेर्न पाएको छैन ।’ उनले ‘धुर्मस’ र ‘सुन्तली’ मन पर्ने बताइन् ।

IMGP0863
कार्यक्रममा प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति तथा संगीतकार शम्भूजित बास्कोटा, प्राज्ञ तथा गीतकार उन्नती बोहोरा ‘शिला’लगायतको उपस्थिती थियो । कार्यक्रममा कुलपति सरुभक्तले भूकम्पबाट त्रसित भएका बालबालिकाको मनमा भूलाउन केही दिनयता चेतनामूलक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘भूकम्पपछि बालबालिकाको मनमा एक किसिमको त्रास उत्पन्न भएको छ । त्यसैले उनीहरुलाई विभिन्न खाले मनारञ्जन प्रदान गरेर त्यो त्रास हटाउने हाम्रो ध्येय हो ।’

IMGP0884
उन्नतीको संयोजत्वमा आयोजित कार्यक्रममा महिला गीतकार संघका पदाधिकारीहरुको पनि सअभागिता थियो । कार्यक्रम संयोजक उन्नतीले भनिन्, ‘हामीले विभिन्न ठाउँमा पुगेर भूकम्पबाट डराउबारे बालबालिकाहरुमा जनचेतना जगाउँदै आएका छौं ।’ उनले टुँडिखेलमा आश्रित परिवारमा मात्र ४ सय बालबालिका रहेको बताइन् । तर, धेरैजसो बालबालिका विद्यालय गएका कारण आधा संख्या मात्र कार्यक्रममा सहभागी थिए । सहभागी बालबालिकालाई चक्लेट र बिस्कुट पनि वितरण गरिएको थियो ।

Comments