महाभूकम्प पीडितलाई बसन्तको सहयोग
screennepal
प्रकाशित: २०७२, २२ बैशाख मंगलवार
no img

काठमाडौं । बैशाख १२ गते शनिबार आएको विध्वंशकारी महाभूकम्पका कारण लाखौं नेपालीहरूको बेहाल भइरहेको हृदय विदारक परिस्थितिमा बसन्त चौधरी फाउण्डेशनले निःशुल्क स्वास्थ्य सेवा, औषधोपचार तथा राहत् वितरण गर्दै पीडितहरूका घाउमा मल्हम लगाउने कार्य गर्दै आएको छ ।
बैशाख १२ गते घटेको महाभूकम्पलगत्तै फाउण्डेशनकै तत्वावधानमा नर्भिकमा आएका ४७३ जना बिरामीहरूमा पूर्णतया निःशुल्क स्वास्थ्य सेवा पु¥याइएको, माइनर र मेजर गरी जम्मा ६० जना बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको समेत जानकारी गराइन्छ । अन्य हस्पिटलबाट रिफर भई आएका जटिल परिस्थितिका बिरामीहरूलाई सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी गरिएको उपचार समेत पूर्णतया निःशुल्क थियो । महाभूकम्पका कारण महाविपत्तिमा परेका देशका विभिन्न भागहरूबाट नर्भिक पु-याइएका बिरामीहरूलाई निःशुल्क सफलतम् उपचार गराउनुका अलावा फाउण्डेशनकै अगुवाइमा देशका विविध क्षेत्रमा चिकित्सकीय टोली पुगी निःशुल्क औषधोपचारका साथ राहत सामाग्री वितरण गर्न समेत फाउण्डेशन, नर्भिक र अन्य संघ संस्थाहरूले निरन्तर हातेमालो गर्दै आएका छन् ।

Jyamdi_Kavre Camp (3) (1)
सोही अनुसार गत बैशाख १६ गते दुई दिनसम्म काभ्रेको विकट गा.वि.स. ज्याम्दीमा चलाइएको वृहत् निःशुल्क स्वास्थ्य शिविरमा २७२ (क्षेत्र नं. २ मा १०० घर र क्षेत्र नं. १, ३, ४, ८ र ९ गरी १७२ घरधूरी) घरधूरी जो पूर्ण रुपमा क्षतिग्रस्त भई आश्रित १५०० जति बिरामीले स्वास्थ्योपचार सेवा प्राप्त गर्नुका साथै राहत सामाग्री प्राप्त गरेका थिए । पीडित बिरामीलाई औषधिहरू महिला, पुरुष र बाल–बालिकालाई कपडा, खानेकुरा (बिस्कुट, चाउचाउ, पौष्टिक आहार (लिटो), जीवन जल आदि वितरण तथा औषधोपचारमा फाउण्डेशनलाई नर्भिक लगायत नेप्लिज नर्सेज एशोसियन यु.के.ले सघाएका थिए । शिविरका संयोजकत्व नेप्लिज् नर्सेज यू.के. की उपाध्यक्ष प्रसुना कँडेलले गरेकी थिइन् ।
फाउण्डेशनकै नेतृत्वमा नुवाकोटको बागेश्वरी गा.वि.स. (वडा नं. १, २, ३, र ४) मा बैशाख १८ र १९ गते सम्पन्न वृहत् निःशुल्क स्वास्थ्य सेवा तथा राहत वितरण कार्यमा १२५ पीडितले राहत पाएका थिए । औषधोपचार, ब्याण्डेज सहित, राहतमा चामल, दाल, नून, तेल, च्युरा, मेट्रेस र त्रिपाल आदि अति विपन्न र पीडित ३० घरलाई १÷१ बोरा चामल सहित बाडिएको थियो ।
बैशाख १८ गते शुक्रबार ललितपुरको लेले गा.वि.स.मा पीडित बृद्ध–बृद्धा, बाल–बालिका र गर्भवर्ती महिलाहरूलाई प्राथमिकतामा राखी औषधोपचार तथा राहत बाँड्ने कार्य गरियो । राहतमा बिस्कुट, भुजिया, लिटो समावेश थिए भने त्यहाँ प्रत्येक व्यक्तिलाई हातधुने साबुन समेत वितरण गरिएको थियो । अधिकांश बृद्ध–बृद्धा र बाल–बालिका रुघा–खोकी र ज्वरोबाट पीडित पाइएका थिए ।
हिजो बैशाख २१ गते सिन्धुपाल्चोकको अति प्रभावित क्षेत्र मार्मिङ्ग गा.वि.स.मा शिविर राखी वरपरका लिस्ती, मानेश्वारा, धुस्कुन, कर्थली, गाति, लगायतका गा.वि.स.का १९४ परिवारलाई १५÷१५ के.जी. चामलका साथ दाल, विस्कुट, लिटो, खाने तेल, च्युरा, आदि वितरण गरियो भने फाउण्डेशनको नेतृत्वमा रहेका चिकित्सकीय टोलीले आज ३ः०० बजेसम्म ५६० जना बिरामीहरूको स्वास्थ्य जाँच तथा औषधोपचार गरिसकेको टोलीको नेतृत्व गरिरहेका नर्भिकका प्रेमराज गिरीले बताए । टोलीमा डा. प्रिन्स रौनियार लगायत चिकित्सकहरू र वरिष्ठ स्वास्थ्य सहायक, नर्सहरू र प्यारामेडिक्स् संलग्न छन् ।
त्यसरी नै सिन्धुपाल्चोकको ब्राम्चा गा.वि.स.मा हिजो बैशाख २१ गतेबाट सुरु गरिएको स्वास्थ्य शिविर तथा राहत वितरण कार्य नेप्लिज नर्सेज एशोसियसन, यु.के. की अध्यक्ष बबी लामाको नेतृत्वमा भइरहेको छ । तीन दिनसम्म चल्ने उक्त शिविरमा आवश्यक पर्ने सम्पूर्ण औषधोपचार तथा राहत सामाग्री फाउण्डेशनकै तजविजमा लगिएको छ । महाभूकम्पकै कारण उत्पन्न हुनसक्ने महामारीलाई मध्येनजर गर्दै फाउण्डेशनले ललितपुरको लूभूमा वृहत् निःशुल्क स्वास्थ्य शिविर आजैबाट सुरु गरेको
छ । उक्त शिविरमा आइपर्नसक्ने महामारीको रोकथाम सम्बन्धी जनचेतनाका साथ निःशुल्क औषधोपचार गरिनेछ ।

Comments