महाभूकम्प : नेपाली फिल्म रिलिज र सुटिङ अनिश्चित
screennepal
प्रकाशित: २०७२, १७ बैशाख बिहीबार
no img

महाभूकम्पका कारण राजधानीका अधिकांश सिनेमा भवन चर्किएका छन् । जसकारण अब केही समय चलचित्र प्रदर्शन हुन नसक्ने भएको छ । मोफसलका सिनेमा घरहरूलाई पनि भूकम्पले असर पारेको छ । ‘राजधानीका अधिकांश सिनेमा घर चर्किएका छन्,’ निर्माता माधव वाग्ले भन्छन्, ‘त्यसले गर्दा अब केही समय फिल्म चलाउने अवस्था छैन ।’ वाग्लेले निर्माण गरेको चर्चित फिल्म रेशम फिलिली ११ वैशाखदेखि देशभरका करिब पाँच दर्जन हलमा प्रदर्शन भएको थियो । शनिबार दिउँसो गएको भूकम्पले गर्दा फिल्म हल बन्द भएका छन् । जसकारण व्यापारमा ठूलो धक्का मात्र लागेको छैन, अब हल कहिले सञ्चालनमा आउँछन्, फिल्म कहिले चल्छन् भन्ने पनि अन्योल छ । चर्किएका हल पूर्ण रूपले मर्मत/पुनर्निर्माण नगरिएसम्म सञ्चालनमा ल्याउनु निकै जोखिमपूर्ण हुने भएकाले ती हल केही महिना बन्द हुने देखिएको छ ।

भूकम्पको त्रास कायमै रहेको तथा चर्किएका हलको मर्मत गर्न समय लाग्ने भएकाले तत्काल रेशम फिलिलीको प्रदर्शन स्थगित गरिएको निर्माता वाग्लेले जानकारी दिए । ‘सिंगल थिएटर मात्र होइन, मल्टिप्लेक्स हल पनि चर्किएका छन् ।

c1

मर्मतसम्भार नभएसम्म फिल्म चलाउँदैनौँ,’ उनले मोफसलका केही हलले आफूहरूको आदेश नमानी फिल्म चलाइरहेकोमा आक्रोश व्यक्त गर्दै भने, ‘यो राष्ट्रिय विपत्तिका वेला फिल्म चलाउनु निकै गलत काम हो । फिल्म भनेको मनोरञ्जनको साधन हो । अहिले हामी शोकमा छौँ । त्यसैले फिल्म नचलाउने आदेश दिएका छौँ । केही हलले त माने, तर पोखराको बिन्ध्यवासिनी हलले अटेरी गरिरहेको छ । यस्तै गर्‍यो भने प्रशासन कार्यालयमा उजुरी दिएर बन्द गराउँछौँ ।’ आफू पनि भूकम्पको त्रासमा रहेकाले हलहरूमा के–कति क्षति भएको छ भन्ने कुरा बुझ्न नसकिएको हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका महासचिव मधुसूदन प्रधानले बताए । ‘अहिले त देशभरका सबै हल बन्द छन् । यस्तो विपत्ति आएको छ । यस्तो त्रासमा पनि को हलमा जान्छ र ?’ उनले भने, ‘मल्टिप्लेक्स तथा सिंगल थिएटरहरू चर्किएको, क्षति पुगेको कुरा त आएको छ ।

तर, कहाँ कति क्षति भएको छ, अवस्था कस्तो छ, भन्ने कुराको यकिन विवरण आइरहेको छैन ।’ उनले सबै त्रासमै रहेकाले अहिले केही भन्न सक्ने अवस्था नभएको बताए । विशेषगरी राजधानीका मल्टिप्लेक्स हलहरूमा भूकम्पबाट क्षति पुगेको देखिएको छ । सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा भूकम्पले धेरै क्षति पुर्‍याएको छ । कमलपोखरीस्थित सिटी सेन्टर चर्किएको छ । त्यहाँ रहेको बिग मुभिजमा पनि क्षति पुगेको छ । त्यस्तै, अन्य हलहरूलाई पनि भुइँचालोले चर्काएको छ ।

film

भूकम्प आउँदा हलहरूमा दर्शकको भीड रहेको र भाडदौड मच्चिँदा केही हताहत भए पनि ज्यानै गएको रिपोर्ट भने नपाएको महासचिव प्रधानले बताए । ‘एक्कासी भूकम्प आउँदा आत्तिएर भागदौड मच्चिए पनि हलमा मानवीय क्षति भने भएको छैन,’ उनले भने, ‘सामान्य चोटपटक भने लागेको हुन सक्छ । तर, त्यस्तो कुनै रिपोर्ट आएको छैन ।’

निर्माता वाग्लेले भने भाडदौड मच्चिँदा कतिपय हलमा केही दर्शकको हातखुट्टा भाँच्चिएको खबर आए पनि यकिन विवरण भने आइनसकेको बताए । ‘चोटपटक लागेर घाइते भएका दर्शकलाई सम्बन्धित हल र हामी पनि उपचारमा सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘तर, अहिलेसम्म कुनै घाइते सम्पर्कमा आएका छैनन् ।’ शुक्रबारदेखि पुन: प्रदर्शन गरिएको झोला फिल्मका निर्माता सुशील शाह भने निकै तनावमा छन् । ‘फिल्म सबैले मन पराएको भए पनि लगानी उठेको थिएन । दर्शकको मागका कारण पुन: प्रदर्शन गरियो । यसबाट भने लगानी कभर होला भन्ने लागेको थियो । तर, भूकम्पले बर्बाद पार्‍यो,’ उनी भन्छन्, ‘पूरा देश शोकमा डुबेको छ । त्राहीत्राही भएर बाँच्नुपरेको छ । अब त फिल्म व्यापार झन् के होला र † बहुत टेन्सनमा छु ।’

उनी तनावग्रस्त हुनुको कारण यो मात्रै होइन । उनको अर्काे फिल्म धुन आगामी १८ वैशाखमा रिलिज हुन लागेको थियो । तर, अब अनिश्चित भएको छ । धुन मात्रै होइन, सोही मितिमा प्रदर्शनमा आउने तय भएको मोहन निरौलाको जन्मभूमि पनि अनिश्चित भएको छ । २५ वैशाखमा रिलिज गर्न लागिएको होस्टेल रिटन्र्स पनि सो मितिमा लाग्नेछैन ।

होस्टेल रिटन्र्सका निर्माता सुनील रावलले राष्ट्रिय विपत्तिका कारण होस्टेल रिटन्र्सको प्रदर्शन स्थगित गरिएको जानकारी दिएका छन् ।

भूकम्पका कारण सुटिङमा पनि असर परेको छ । दुई साताअघिदेखि पोखरामा सुटिङ भइरहेको ब्रास्लेट फिल्मको सुटिङ तत्काललाई स्थगित गरिएको छ । ‘महाविपत्तिमा कसरी सुटिङ गर्नु ?’ बास्लेटका निर्देशक निर्मल शर्मा भन्छन्, ‘त्यही भएर सुटिङ स्थगित गरेर काठमाडौं फर्कियौँ ।’ ब्रास्लेटको बाँकी सुटिङ कहिले गर्नेबारे अन्योल कायमै छ ।

त्यसैगरी, भूकम्पका कारण बाजिगर फिल्मको पनि सुटिङ रोकिएको छ । सुटिङ कहिलेबाट सुचारु गर्ने भन्नेबारे यकिन नभएको जानकारी निर्देशक रञ्जित रानाले दिए । त्यस्तै, १५ वैशाखबाट सुटिङ सुरु गर्ने चाँजोपाँजो मिलाइएको लक्ष्य फिल्म पनि अनिश्चित भएको छ । ‘यस्तो विपत्ति छ, अब कहिले सुरु गर्ने, केही सोच्नै सकेको छैन,’ लक्ष्यका निर्देशक मिलन आले मगरले भने, ‘सबै कुरा स्थिर भएपछि मात्रै अघि बढ्नुपर्ला । अहिले त केही भन्न सकिन्न ।’ महाभूकम्पले फिल्म निर्माण, प्रदर्शन मात्र होइन, रेकर्डिङ तथा पोस्टप्रोडक्सन कार्यमा पनि ठूलो असर पारेको छ ।

निर्माता वाग्लेद्वारा एक लाख सहयोग
आफूलाई सुपरस्टार ठान्ने कतिपयले भूकम्पपीडितसँग फोटोसेसन गरेर फेसबुकमा हिट भइरहेको वेला निर्माता माधव वाग्लेले भने पीडितको सहयोगार्थ व्यक्तिगत एक लाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।  निर्माता वाग्लेले सो रकम विवेकशील नेपाली नामक संस्थामार्फत पीडितसमक्ष पुर्‍याउन चाहेका छन् । त्यसका लागि सो समूहलाई आफूसँग सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन् । विपत्तिका वेलामा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

लक्ष्मण सुवेदी/नयाँ पत्रिकाबाट

Comments