गृहमन्त्री गौतमले भने, ‘म पनि नाटकको राम्रो दर्शक हुँ’
screennepal
प्रकाशित: २०७२, ७ बैशाख सोमबार
no img

१० वर्षपछि ‘राष्ट्रिय नाटक महोत्सब’ आयोजना गरिएको छ । आइतबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु महोत्सवलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो । महोत्सबको उद्घाटन उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले गरेका थिए । उद्घाटनपछि गृहमन्त्री गौतमले भने, ‘म पनि नाटकको राम्रो दर्शक हुँ । म नाटक, चलचित्र हेर्छु, हाँस्ने ठाउँमा हाँसी दिन्छु र रुने ठाउँमा रोई दिन्छु ।’ उनले ‘राष्ट्रिय नाटक महोत्सब फेरी सुरु भएमा खुसी व्यक्त गरे । कविता र गीत सृजना गर्दा आफुलाई एक किसिमको आनन्द आउने भए पनि समयको अभावले केही समययता साहित्य सिर्जना गर्न नसकेको पनि उपप्रधानमन्त्री गौतमले कार्यक्रममा खुलासा गरे ।

Drama Photo
२०६२ सालपछि रोकिएको नाटक महोत्सबलाई आफुहरुले पुनः सुरु गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले उद्घाटन समारोहमा बताए । ०३५ सालमा पोखराबाट काठमाडौं आएर आफुले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा पहिलोपटक नाटक ‘एउटा घरको कथा हैन’ मञ्चन गरेको अनुभव सुनाउँदै कुलपति सरुभक्तले भने, ‘राष्ट्रिय नाटक महोत्सबमा आफ्नो नाटक मञ्चन गर्न पाउनुलाई रंगकर्मीले त्यतिबेला आफ्नो ठुलो सफलता ठान्दथिए । राजधानीदेखि मोफसलसम्मका रंगकर्मीलाई जोडेर फेरी त्यस्तै उत्साह र रौनकता ल्याउन एक दशकपछि नै भए पनि हामीले पुनः राष्ट्रिय नाटक महोत्सब सुरु गरेका हौं ।’
प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले बहुजाति बहुभाषी र बहुसंस्कृतिलाई रंगमञ्च, गीतसंगीत र नृत्यको माध्यमबाट संरक्षण गर्ने कार्यमा आफुहरु लागि परेको बताए । नेपाली नाटकको विकासमा यो महोत्सवको महत्वपूर्ण भूमिका रहने उनको कथन थियो । महोत्सवमा यसपटक राजधानी र मोफसलका समावेशी नाटक सहभागी भएको पनि उनले जानकारी गराए ।
प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले महोत्सवमा सहभागी नाटकहरु राम्रा भएको दाबी गरे । आइतबारबाट मंगलबारसम्म तीन दिन चल्ने महोत्सवमा निःशुल्क नाटक हेर्न पाइने भएकाले नाटकक प्रेमीलाई महोत्सबमा आउन उनल आग्रह गरे । महोत्सवका संयोजक रमेशरञ्जन झाले ढिलै भए पनि प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सव सुरु गरेको बताउँदै यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे । बिगतमा राष्ट्रिय नाटक महोत्सब बैशाखमै हुने गरेकाले आफुहरुले पनि सोही परम्परालाई निरन्तरता दिन बैशाखमै यो महोत्सब गरेको पनि झाले जनाए ।
महोत्सबको पहिलो दिन दुई ओटा नाटक मञ्चन गरियो । नारायणी कला मन्दिर नारायणघाटको प्रस्तुति ‘साकस’ नाटकको मञ्चनसँगै महोत्सव सुरु भएको हो । पुष्प आचार्यले लेखेको तथा निर्देशन गरेको यो नाटक मा पौढ अवस्थाका अभिभावकलाई आफ्ना छोराछोरीले बेवास्ता गर्ने प्रसंगलाई उठाइएको छ । आफ्ना पौढ बुबा आमालाई भन्दा पाल्तु कुकुरलाई छोरा बुहारीले माया गरेको घटनालाई मञ्चमा कलाकारले प्रस्तुत गरे । यो नाटक निकै मार्मिक थियो । जसमा स्थानीय ऋद्धिचरण श्रेष्ठ, प्रेम श्रेष्ठ, शान्ति शर्मा, गायत्री श्रेष्ठ, प्रेमबिनोद नन्दन, प्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, सूर्यबहादुर मास्केसहितको अभिनय रहेको थियो ।
यस्तै, आइतबार (आज) साँझ भरत गुरागाईँद्धारा लिखित तथा निर्देशित नाटक ‘धुपेनको धुइयाँ’ मञ्चन गरियो । वैदेशिक रोजगारीको प्रसंगसँगै घरेलु समस्याको कथालाई नाटकमा उतारिएको थियो । जसमा निर्देशक गुरागाई सहित सागर ऋसीदेब, सुदीप कार्की, मनिषा बराल, रमा दाहाल, राजेन्द्र मुर्मु सतार, सावित्री मुर्मु सतार, आरती यादव, अनु श्रेष्ठ सहितको अभिनय रहेको थियो । महोत्सवमा यसपटक ७ ओटा नाटक मञ्चन हुँदैछन् ।

Comments